अहिले नेपालमा मात्र नभएर विश्वका धेरैजसो राष्ट्रहरूमा लकडाउनको अवस्था छ र धेरै देशहरू अहिले जोखिममा छन् । नेपालकै कुरा गर्ने हो भने लगभग एक महिनाको हाराहारीमा पुर्णरुपले लकडाउनको अवस्थामा देश छ । देश पुरै बन्दको स्थितिमा छ ।
कृषि, पर्यटन, ब्यवसाय र बैदेशिक रोजगारीमा आत्मनिर्भरता भएको हाम्रो देश नेपाल अहिले कोरोना भाइरस (COVID-19) को प्रकोपको कारण धेरै जटिल मोडमा पुगेको छ । कृषिमा लगानीकर्ताहरूको लगानी लगभग लगभग डुबेको स्थितिमा छ । पर्यटक वर्ष र यसको सबै अनुमानित आम्दानीको ढोका बन्द भएको छ, सानादेखि ठुला ब्यापार, कलकारखाना उद्योग सबै पुर्णरुपले बन्दछ भने लगभग ६०-७० लाख युवाहरू बिदेशमा छन, जो बिदेशबाट भित्रिएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठुलो टेवा पुर्याइरहेको थियो । लगभग देशको कुल बजेटको २३ प्रतिशत आम्दानीको भाग बैदेशिक रोजगारी (रेमिट्यान्स)ले सहायता गरिरहेको अवस्थामा अहिले खाडी मुलुकहरूले सबै कामदारलाई आफ्नो देश फर्काउने तयारी गर्दैछ, त्यसो भएको अवस्थामा रेमिट्यान्स पठाउने अवस्था रहेन । विश्वको हरेक देशहरूले यो महासंकटको कारण सबै बैदेशिक रोजगारबाट देश फिर्ता गर्ने हो भने देशको अर्थतन्त्रको स्थिति कस्तो होला ?
बैदेशिक रोजगारीमा गएका सबै युवाहरू नेपाल फर्के पछिको अवस्था कस्तो होला त्यो कुरा राज्यले हिसाब किताब गर्नुपर्छ र अर्कोतिर अहिले नेपालले बिदेशमा बसेकाहरूलाई सहजरुपमा फर्कन दिने स्थिति पनि छैन कारण कोरोना भाइरस भित्रिने भएकोले सबै नाका र हवाई नाका पनि बन्द गरेको छ । त्यसरी नै लाखौं कृषकहरू बेरोजगार बनेका छन् । लगानी डुबेर उठ्ने स्थितिमा कोहि पनि छैन, हजारौं पर्यटन ब्यवसायीहरूको ब्यवसाय चौपट बनेको छ । होटल ब्यवसायीहरू मारमा परेका छन् , लाखौं लाख दैनिक ज्यालादारी मजदुरहरूको खाद्यान्न अभावको कारण परिवारमा भोकमरी सुरु भएको छ, यसरी देशमा गम्भीर अवस्था सृजना हुँदैछ । न त परदेशमा सुरक्षा छ न आफ्नो देशमा ।
यस्तो परिस्थितिमा सबै भन्दा बढी राज्य नै यो बिषयमा गम्भीर बन्न जरुरी छ । सबै राजनीतिक दलहरूले नागरिकप्रतिको उत्तरदायित्व यस्तो महासंकटको बेलामा निर्वाह नगरे कहिले गर्ने हो ? यो विपत्तिसँग जुध्न राज्यलाई सबैले सहयोग गर्नुपर्छ र सरकारलाई पनि नागरिकले विश्वास गर्न सक्ने खालले कार्य गर्नुपर्छ । भ्रष्टचारमुक्त समाज बनाई राज्यको संयन्त्र सबैको कामकार्वाही चुस्त दुरुस्त बनाउनु पर्छ । सबै ब्यवसायमा डुबेकाहरूलाई राज्यले राहत प्याकेज ल्याउनु पर्दछ । कृषक, ब्यवसायी, मजदुर सबैको लागि उचित ब्यवस्था गर्नु पर्दछ । यो महासंकटमा राज्यको तीनै तहका सरकारले उच्चस्तरीय संयन्त्र बनाएर नागरिकको हितका लागि काम गर्नुपर्दछ । यदि राज्य यो परिस्थितिमा चुक्यो भने लकडाउन पछि सृजना हुने अवस्थाको सामना गर्नका लागि झनै ठुलौ चुनौती थपिने कुरा निश्चित छ ।
तसर्थ नेपाल सरकारले लकडाउनपछिको अवस्थालाई आंकलन गरी अहिलेदेखि नै योजना तर्जुमा गर्नु पर्दछ । साथै सबै नागरिकले पनि आत्मसंयम भएर लकडाउनको नियम पालना गरी यस्तो विषम परिस्थितिमा एकले अर्कोलाई मानवीय सहयोग गर्दै पछिको भविष्यको बारेमा पनि सोच्दै गर्नु पर्दछ ।अन्त्यमा सबै जना सचेत रहौं, सुरक्षित बसौं, आफ्नो र परिवारको स्वास्थ्यमा ध्यान दिऔं । कोरोना भाइरसलाई पराजित गरौं ।