सुर्खेत, २०७७ बैशाख २ गते । इसाई समाज सुर्खेतको आयोजनामा सुर्खेत जिल्लामा रहेका मण्डलीहरूको तर्फबाट राहत संकलन गरी सुर्खेत इसाई समाजले नगरपालिका र गाउँपालिकाहरूमा हालै राहत हस्तान्तरण गरेको छ ।
कोभिड १९ कोरोना भाइरसले विश्वब्यापी रुपमा महामारीको रुप लिई तिब्ररुपमा फैलिरहेको दयनीय अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण दैनिक मजदूरी गरी बिहान बेलुकी छाक टार्ने अवस्थाका मानिसहरूलाई प्रत्यक्ष रुपमा गाह्रो पारेको हुँदा प्रार्थना सहित यस्ता मानिसहरूलाई थोरै भएपनि केही राहत मिल्न सकोस भनेर इसाई समाज सुर्खेतको अगुवाईमा विभिन्न मण्डलीहरूबाट संकलित राहत रकमलाई प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिदिएको हो ।
सुर्खेत जिल्लाभरिका चर्चहरूबाट जम्मा रु ५३०,४००।- राहत सङकलन भएको रकम मध्ये राहत कोषमा जम्मा गर्ने क्रममा विरेन्द्रनगर नगरपालिकाको कोषमा रु २१०,५००।-, पञ्चपुरी नगरपालिकाको कोषमा रु ५१,०००।- चौकने गाउँपालिकाको कोषमा रु २५,०००।-, लेकबेशी गाउँपालिकाको कोषमा रु ६८,०००।-, बराहाताल गाउँपालिकाको कोषमा रु ५०,०००।-, भेरीगंगा नगरपालिकाको कोषमा रु ६०,०००।-, त्यसैगरी गुर्भाकोट नगरपालिकाको कोषमा रु ६५,९००।- गरी जम्मा रु ५३०,४००।- राहत कोषमा जम्मा गरिदिएको छ । विरेन्द्रनगर नगरपालिकाको कोषमा जम्मा गरिदिएको भौचर लिएर आज इसाई समाजका पदाधिकारीहरू नगरपालिकामा पुगेर उपमेयर मोहनमाया भण्डारी (ढकाल) लाई भेटेर राहत जम्मा गरेको भौचरलाई इसाई समाज सुर्खेतका अध्यक्ष तथा बेथेल चर्चका पाष्टर रेभ. पा. पदम गैरेले हस्तान्तरण गर्नुभएको थियो ।
इसाई समाजको तर्फबाट राहत हस्तान्तरण कार्यक्रममा इसाई समाज सुर्खेतका अध्यक्ष रेभ.पा पदम गैरे, सह अध्यक्ष पा. नविन दर्लमी, उपाध्यक्ष पा. ज्ञान गुरुङ, उपाध्यक्ष पा. गोमन बस्याल, सचिव रेभ. पा. पुर्ण बर्देवा सदस्य पा. शिव परियार र निस्सी एजि चर्चका अगुवा दिल बहादुर चौधरी सहभागी हुनुहन्थ्यो । नगरपालिकाको तर्फबाट उपमेयर मोहनमाया भण्डारी (ढकाल), प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल र लेखाअधिकृत हरि ब. क्षेत्रीको उपस्थिति थियो । राहत जम्मा गरेको भौचर हस्तान्तरण पश्चात् उपमेयर भण्डारीले विश्व नै अहिले कोरोना महामारीले आक्रान्त पारेको बेला यसरी सरकारसँग हातेमालो गरी लकडाउनका कारण दिनभरि काम गरी बिहान बेलुकी छाक टार्ने अवस्थाका थुप्रै व्यक्तिहरूको खाँचो पूर्ति गर्नको लागि पहल भएकोमा खुशी व्यक्त गर्दै इसाई समाज सुर्खेत लगायत सम्पूर्ण मण्डलीलाई धन्यवाद दिनुभएको थियो ।
राहतको खाँचो परेको व्यक्तिहरू कोहि थाहा भएमा नगरपालिकालाई सूचना गरिदिन पनि उहाँले अनुरोध गर्नुभएको थियो । इसाई समाज सुर्खेतका अध्यक्ष रेभ. पास्टर पदम गैरेले आउँदा दिनहरुमा पनि आफूहरू सधै सहयोग र हातेमालो गर्न तत्पर रहेको कुरा बताउनुभएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४