२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

इस्टर सन्डेको मर्मः ख्रीष्ट येशुले मृत्युलाई जित्नुभयो, मानिसले अनन्त जीवन पायो

केपी अधिकारी, ललितपुर

आज विश्वमा मानिसले जे जे प्रगति गरिरहेको छ, अझै गर्ने वाला छ ती सबै सम्भव भएको एउटा कारण छ, त्यो हो मानव जीवित रहुन्जेल यो पृथ्वीमा सबै गर्न सक्छ । अनि यो पनि सत्य हो कि मानिसले पृथ्वीमा प्राप्त गरेका सबै थोकहरू अनि ऐश्वर्य परमप्रभुकै हुन र अस्थायी वा नाशवान पनि । बाइबल धर्मशास्त्र मत्ती ६ः२७ मा भने जस्तै मानिसले जतिसुकै फिक्री र बल गरेपनि आफ्नो आयुमा एक घडी पनि थप्न सक्दैन । आज मानिसले आफ्नै राजनीति र रणनीति, संसार भरको बल, शक्ति, बुद्धि, क्षमता, विज्ञानप्रविधि, विकास, सन्चार, औद्योगीकरण, सभ्यता एवम् आधुनिकीकरणद्वारा जे जति यो पृथ्वीमा हासिल गरेको छ, ती सबै अस्थायी हुन् अनि स्वयम् मानिसको आयु पनि अस्थायी हो, तुँवालो जस्तै हो (याकुव४ः१४), अनि मानिसको आयु त घाँसको आयु जत्तिकै छ (भजन संग्रह १०३ः १५) ।

मानिसले आफ्नो भएभरको शक्ति लगाएर सारा जगत नै आफ्नो हात पारेपनि यदि त्यसले आफ्नो प्राण गुमायो भने के लाभ हुन्छ र ? (मर्कुस ८ः३६) ।

आज संसारमा विगत तीन महिनादेखि मानिसले सोच्दै नसोचेको एउटा महामारी कोरोना भाइरसले फैलाइदियो अनि हामी सबै त्यो भाइरसका दास भएर आफ्नो सबै चालचलनहरूलाई कुण्ठित पारेर घरमै बसेका छौं । तर हाम्रो यो पापबाट छुटकारा पाएको जीवनमा परमेश्वरले नम्रता, धैर्यता, शान्ति, प्रेम, संयम, आनन्द, दया, भलाई, विश्वस्तता जस्ता पवित्र आत्माका फल हाम्रो जीवनमा हामीले धारण गरेका छौं ।

अहिलेसम्म संसारमा १७ लाख भन्दा बढी मानिसहरू कोरोना भाइरसबाट संक्रमित भइसकेका, एक लाख भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको अवस्था छ । संसारमा आर्थिक, सामरिक, राजनैतिक, जातीय, धार्मिक आदि धेरै युद्ध र चुनौतीहरू आए अनि यस्ता घटनाहरूमा एक देशले अर्कोलाई, एक शक्तिले अर्कोलाई दोष दिने र फेरि मिलाप गर्ने चलन थियो तर यो कोरोनाको आतंकको निम्ति कसैलाई पनि केहि भन्न नसकिने र सिंगो मानव जगत एकातिर र कोरोना भाइरस अर्कोतिर भएको अवस्था छ । यस विषम परिस्थितिमा स्वर्गका परमेश्वरले हामीलाई अनन्तसम्मको आशा, शान्ति अनि सुस्वास्थ्य र लामो आयुको प्रत्याभूति गर्नुभएको छ, जुन आशा हाम्रो लागि स्थायी हो अनि हाम्रो नागरिकता पनि स्वर्गमा नै स्थापित गरिएको छ, (फिलिप्पी ३ः२०) ।

आज संसारभरि नै ख्रीष्टियन जगतले परमेश्वरका थुमा येशु जो परमेश्वरको पुत्र हुनुहुन्थ्यो, जसले आज हामीलाई परमेश्वर पितामा मिलाप गराउनु भएको छ, २ दुई हजार वर्ष अघि तीन दिनमा मानव जातिलाई पापबाट रेस्क्यु गर्ने र अनन्त जीवनमा अवतरण गराउने महान र स्वर्गीय काम उहाँले गर्नु भयो र आज हामी जेलबाट छुटेर स्वतन्त्र भएका छौं अनि त्यो पापको जुवा भाँचिएको छ । दुई हजार वर्ष अघि अस्तिको शुक्रबारका दिन उहाँ कलवरी क्रुसमा चढ्नुभयो र मानिसले मर्नु पर्ने मृत्यु मर्नु भयो, हिजोको दिनमा चिहानमा बस्नु भयो र आज तेस्रो दिनमा मृत्युमाथि विजय प्राप्त गरी पुनरुत्थान हुनुभयो र आफ्ना पितासँगै स्वर्गमा हुनुहुन्छ । किनभने धर्मशास्त्रले अगमबाणी गरेको, स्वयम् येशु ख्रीष्टले बोल्नुभएको र त्यो सत्य र धार्मिक घटना भएको थियो, (१ कोरिन्थी १५ः४, युहन्ना २ः१९) ।

ख्रीष्ट येशुले मृत्युलाई जितेर अदनको बँगैचामा परमेश्वरको आज्ञालाई तोडेर पापबाट खसेको मानिसलाई फेरि परमेश्वरसँग मिलापमा ल्याउनका लागि ख्रीष्टले आफैलाई क्रुसमा बलिदान गर्नु भयो अनि तेस्रो दिनमा मृत्युलाई पनि जितेर मानिस जातिलाई स्वर्गको साँचो खोलिदिनु भयो र हामीले ख्रीष्टद्वारा सजिलै स्वर्गको स्थायी जीवनको नागरिकता अवश्य पाउनेछौं ।

अब सन्दर्भ जोडौं, हाम्रो निम्ति येशु ख्रीष्टले मृत्युमाथि विजय प्राप्त गर्नु भएको यस महान पर्व विश्वभरी धुमधाम साथ मनाउने, इस्टर सभा गर्ने र खुशी साटासाट गर्ने चलनलाई आज विश्वव्यापी महामारीका कारण स्तब्ध भएको छ र मानिस आफ्नो जीवनलाई कसरी सुरक्षित गर्ने, कसरी बाँच्ने र बचाउने भन्ने सवालमा चिन्तित र त्रसित बनेको छ । आज संसारभरि नै कोरोना भाइरसबाट मानिस जातिलाई जोगाउनुहोस् भनी प्रार्थना भई रहेको छ । मानिसलाई भाइरसले घरभित्र लकडाउन गरेतापनि परमेश्वरसँगको संगति अनि प्रार्थनामा झन् जोश बढेको छ । सुनिन्छ यो समयमा संसारभर प्रार्थना गर्ने मानिसहरूको संख्या अनि बाइबल पढ्नेको संख्या पनि ह्वात्तै बढेको छ ।

यस इस्टर पर्वले हामीलाई मुलतः यी सात पक्षहरूमा उत्साहित बनाएको छः १. हामी जुन परमेश्वरको सेवा गर्छौं, उहाँ जीवित हुनुहुन्छ (१ तितस १ः९, प्रकाश १ः१८, हिब्रु १२ः२२) २. हामीलाई थाहा छ, हाम्रो परमेश्वर सत्य हुनुहुन्छ (यर्मिया १०ः१०, गन्ती २३ः१९, हिब्रु ६ः १८) ३. हाम्रो मुक्तिको निश्चयता येशुले पुरा गर्नुभयो (रोमी १५ः१७, १८, हिब्रु ७ः२४,२५) ४. हामीले अनन्त जीवन पाइसकेका छौं (रोमी ६ः२३, तीतस२ः२४, रोमी ६ः१४) ५. हामीले पापमाथि विजय प्राप्त गरेका छौं (१ पत्रुस २ः२४, रोमी ६ः१४) ६. हामीले हाम्रो जीवनलाई ख्रीष्टको महिमामय सम्पत्ति रहस्यको आशामा राख्न सक्छौं (कलस्सी १ः२७) ७. हामीमा यस्तो आशा छ, जसअनुसार हामी अनन्त जीवन परमेश्वरसँगै बिताउनेछौं (१ कोरिन्थी १५ः २१ २३)

अतः हामी परमेश्वरका जनहरू यस समय जहाँ जहाँ छौं, जे जस्तो अवस्थामा छौं, घरपरिवारमा, विदेशमा, गाउँ–सहरमा, जिम्मेवारीमा अनि चुनौतीहरूमा, सबै परिस्थिति परमेश्वर जानुहुन्छ र यस संसारमा कोरोनाको प्रभावमा परेका अनि बन्धनमा रहेका सबै मानिसहरूको लागि निरन्तर प्रार्थना गरौँ । हामी हाम्रो मण्डली, संघसंस्था, सरकार, सेवारत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अस्पतालमा कोरोनासँग जुध्दै गरेका विरामीहरू, क्वारेन्टाइन र आइसोलेसनमा रहेका सबै मानिसहरू अनि त्रासमा रहेका सम्पूर्ण मानिसहरूका लागि निरन्तर प्रार्थना गरौँ, परमेश्वरले हामी सबैलाई यस पुनरुत्थानको महान अवसरमा नयाँ जीवन दिऊन् ताकि सारा विश्वले परमेश्वरको अद्भुत कार्यलाई प्रशंसा गर्दै उहाँकै नाउँमा घुँडा टेकोस् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...