ललितपुर २०७६ चैत्र २६ गते । ललितपुरको शंखमुल लगायतका ठाउँमा बसोबास गर्ने अति विपन्न परिवारलाई नेपाली ख्रीष्टियन एकता समाज जापान र जापानमा रहेको नेपाली मण्डलीहरूको सहयोगमा आज राहत वितरण गरिएको छ ।
विश्वभर नै फैलिएको कोभिड १९ कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले यस महामारीबाट बच्न भन्दै देशैभर लकडाउन घोषणा गरेको दुई हप्ता भइसकेको छ । यो अवस्थामा अति विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने न्यून आय भएका वर्गहरूलाई आफ्नो गुजारा चलाउन गाह्रो भइरहेको र नेपाल सरकारबाट पाउने राहत ढिला भइरहेको बेला नेपाली ख्रीष्टियन एकता समाज जापान र जापानमा रहेको नेपाली मण्डलीहरूको सहयोगमा ललितपुरको शंखमुलमा रहेको विजयी जीवन चर्चको समन्वयमा १८ घर परिवार दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरूलाई राहत प्रदान गरिएको हो ।
सो राहत प्याकेजमा प्रत्येक परिवारलाई ३० के.जी चामलको एक बोरा, २ के.जी. दाल, १ के.जी चिनी, १ लिटर खानेतेल र १ प्याकेट नून रहेको थियो । २० जनाको परिवार संख्या रहेको परिवारलाई डबल राहत दिइएको थियो । साथै अन्यत्र बस्ने दुई अति विपन्न परिवारलाई पनि सो राहत प्याकेज प्रदान गरिएको थियो ।
सो राहत प्याकेज पाएपछि न्यून आय भएका मजदुरहरूले खुशी भएर सहयोग गर्नुहुने नेपाली ख्रीष्टियन एकता समाज, जापान र जापानमा रहेको नेपाली मण्डलीहरू, राहत वितरण गर्न सहयोग र समन्वय गर्ने सोहि ठाउँमा रहेको विजयी जीवन चर्च परिवार र यस राहतको लागि मध्यस्थता गर्नुहुने पत्रकार दिनेश श्रेष्ठ लगायतलाई धन्यवाद दिनु भएको थियो । राहत वितरण कार्य सम्पन्न भएपछि विजयी जीवन चर्चका पास्टर जय देउलाले आफ्नो चर्च वरपर अन्य धेरै व्यक्तिहरू प्लास्टिक टिप्ने, एकदमै गरीब, न्यून आय हुने परिवारहरूको बसोबास भएकोले अझै राहतको खाँचो रहेकोले अन्य दाताहरूलाई सहयोग गर्न आव्हान पनि गर्नुभएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४