केपी अधिकारी, ललितपुर ।
कोरोना भाइरस कोविड-१९ले आज संसारमा महामारीको अवस्था सिर्जना गरिरहेको, १९८ राष्ट्रका ५ लाख भन्दा बढी मानिसहरूलाई आहात पारिसकेको र २४ हजार भन्दा बढी मानिसहरूको ज्यान लिइ सकेकोले विश्व जन-स्वास्थ्यमा ठूलो चुनौती रहेको यस भयावह अवस्थामा हामी मण्डलीको हाम्रो देशप्रति, सबै धर्ममा आस्था राख्ने मानिसहरू अनि नागरिकहरू (समाजप्रति र सबै ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरूप्रति सम्बेदनशील र वास्ता फिक्री गरी केही गर्नुपर्ने अहम् दायित्व र कर्तव्य बन्दछ । नेपाली इसाई जगतले विषम परिस्थितिमा मण्डलीका सम्पूर्ण सदस्यहरू र सदस्यहरू बसोबास गरेको वरिपरिको समाजलाई लक्षित गरी स्वास्थ्यसँग सम्बन्धित केही कार्यक्रमहरू र राहत दिने व्यवस्था गरेमा धेरै राम्रो र उल्लेखनीय काम हुने थियो । हाम्रा मण्डली सदस्यहरूको अवस्था कस्तो छ ? कहाँ कहाँ रहेका छन् ? दैनिक रोजगारी गरी गुजारा चलाउनेको अवस्था कस्तो छ होला ?
बालबालिकाहरूले दूध पिउन पाएका छन् कि छैनन् ? कतै विरामी पो भएका छन् कि ? मानसिक रुपमा पिडित छन् कि ? सरकारले गरेको सूचना राम्ररी बुझेका छन् कि छैनन् ? घरमा चुलो बलेको छ कि छैन ? आदि धेरै विषयमा फोनबाट भएपनि सोधनी गर्दा अति सम्बेदनशिलतामा ठूलो वास्ता बन्दछ । यस्तो अवस्थामा सरकारले दिएको रोकथाम सूचनाको पूर्ण पालना गर्नु गराउनु, समस्या हुने बित्तिकै सञ्चार गर्नु, वरिपरि रहेका सबैको वास्ता गर्नु सोधपुछ गर्नु, प्रार्थना गर्दा संयम अपनाउनु, आवेगमा नआउनु, धार्मिक आस्था र मान्यतालाई लिएर घमण्ड नगर्नु, कुनै पनि धार्मिक मान्यताको खिलापमा नजानु, सेवा गर्दा धार्मिक भेदभाव नगर्नु, सामाजिक सञ्जालमा अनावश्यक खबर प्रेषित नगर्नु, बरु उत्साहका शब्दहरू दिनु, राज्यप्रति कुनै गुनासाहरू नपोख्नु जुन समय अहिले होइन भन्ने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी छ । साथै राज्यले चालेका कदमहरूमा ऐकबद्धता जनाउनु र आफ्नो तर्फबाट सहयोगको प्रयास गर्नु र अनुशासित रहनु आजको अहम् आवश्यकता हो ।
कोरोना भाइरस कोविड-१९ ले देशमा अर्कै अवस्था नल्याउला भन्न सकिन्न त्यसको लागि इसाई जगतको उपस्थिति राज्यको हरेक कदममा देखाउनु पर्दछ । समग्र ख्रीष्टियन समुदायको प्रतिनिधित्व गर्ने संस्थाहरू जस्तै एनसिएफ नेपाल, महासंघ, एनसिएस, महागुठी र अन्य ख्रीष्टियन संघ संस्था (NGO/INGO)ले यस घडीमा राज्यलाई हामी पनि सँगै छौं भनेर सरकारसँग सहकार्य गरेमा भोलिका दिनहरूमा ख्रीष्टियन समुदायलाई राज्यले आफ्नै महत्वपूर्ण अङ्ग मान्ने छ र देशमा ख्रीष्टियन समुदायको, मण्डलीको अस्तित्व अग्र स्थानमा आउनेमा शंका नगर्दा हुन्छ अनि मात्र हामी आफ्नो संवैधानिक र कानुनी अधिकारका लागि हकदार बन्न सक्ने छौं ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४