२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पास्टर केशव आचार्यको तत्काल रिहाइको माग र यस घटनाबाट सिक्नुपर्ने पाठहरू

पास्टर/अधिबक्ता दिनेश बाबु श्रेष्ठ ।

प्रशस्त मण्डली, पोखराका पास्टर केशव आचार्यको प्रार्थनाको भिडियो ठिक त्यही समयमा बाहिर ल्याइयो, जुन समयमा नेपालमा कोरोना संक्रमणलाई रोक्नको निम्ति सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन नपाउने आदेश जारी गरेको र अब कोरोनाले नेपाललाई कत्तिको प्रभाव पार्छ भनि सामाजिक सन्जालमा आएका विभिन्न सन्देशहरूले सबै जनमानस त्रास र अन्यौलमा भएको अवस्थामा ख्रीष्टियन समुदायलाई यो बेलामा कुनै आरोप लगाउन सकिन्छ भनेर हेरिरहेको तत्वको लागि असल मसला भयो र भाइरल बनाइयो । यही समयमा फेक अडियो सार्वजनिक गर्ने विवेक थापा मगरलाई सरकारले भक्तपुरबाट पक्राउ गर्यो र उनले आफ्नो फेसबुक पेजमा लाइक बढाउनका लागि आफूले यसो गरेको भने । यसैको आवेगमा उनलाई पनि पक्राउ गरेर कारवाही गर्नुपर्छ भन्ने माग ख्रीष्टियन विरोधी तत्वले मजाले उचाल्यो ।

पास्टर केशव आचार्यलाई कास्की जिल्ला प्रशासन कार्यालयले कोरोनाको जोखिममा येशूका अनुयायीलाई नछुने, फुकेर मन्त्र र पायल्स निको पार्ने, येशूमा विश्वास गरे कोरोना नलाग्ने भनि प्रवचन दिएको र ख्रीष्टियन धर्म माने कोरोनाले नछुने भनि सोझा साझा नागरिकलाई भ्रम फैलाएकोले र यस अफवाहले गर्दा कोरोना रोकथाममा अवरोध पुग्न सक्ने हुँदा पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख एस.पि. दानबहादुर कार्कीले बताए । उनलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ७० वमोजिम झुठो अफवाह फैलाएको कसुरमा म्याद थप गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइने कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार के.सी.ले बताएका छन् भनेर राष्ट्रिय समाचारले छापेको छ ।

दफा ७० मा के लेखिएको छ भने झुटा अफवाह फैलाउन नहुनेः (१) कसैले सार्वजनिक शान्ति भंग गर्ने, हुल दंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफवाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

यो दफा सार्वजनिक शान्ति विरुद्धको कसूर परिच्छेद अन्तर्गत हो । यस परिच्छेद अन्तर्गत कसूर हुन सार्वजनिक शान्ति भंग गर्ने नियत हुनुपर्दछ । पहिलो कुरा पास्टर केशव आचार्यले यो प्रार्थना सभा सरकारले जारी गरेको आदेश ‘२५ जना भन्दा बढी मठ, मन्दिर, मस्जिद वा चर्चमा भेला नहुनु’ भन्दा अगाडि भएको हो । नेपालको संविधान २०७२ धारा २६ ले प्रदान गरेको धार्मिक स्वतन्त्रताको हक अन्तर्गत प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण अधिकार दिइएको छ, जो हामी नागरिकलाई दिइएको मौलिक हक हो । उनले यस्तो विपतको समयमा आफ्ना आस्थाअनुसार धर्म अवलम्बन गर्ने विश्वासीहरूलाई दिइएको उत्साह, सान्त्वना हो । बाइबलले दिएको अधिकार र विश्वास अनुसार दुःख दिने कोरोनालाई छुटकाराको निम्ति गरेको प्रार्थना हो । यो संविधान प्रदत्त मौलिक हक हो । यसमा उनले गरेका कार्य न त संविधानले प्रदत्त गरेको मौलिक हकको प्रयोगको लागि प्रतिबन्धात्मक वाक्यांशको विरुद्धमा छ, न त अरुले आरोप लगाएको जस्तो धर्म प्रचारको निम्ति नै छ । उनले गरेको यो कार्य कानूनअनुसार कसूर हुनको निमित्त उनको सार्वजनिक शान्ति भंग गर्ने, हुल दंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जाति, जाति वा सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्नै नियत हुनुपर्दछ । फौजदारी न्यायको सामान्य सिद्धान्तहरू अन्तर्गत मुलुकी अपराध संहिता ऐनको दफा ८ ले के भन्छ भने तथ्यको भ्रममा परी गरेको काम कसूर नहुनेः तथ्यको भ्रममा परी कानून बमोजिम गर्नुपर्ने वा क्षम्य मानिएको विश्वास गरी असल नियतले गरेको कुनै काम कसूर मानिने छैन । आपराधिक कार्य हुनको लागि आपराधिक मनसाय (Mens Rea) को ठूलो स्थान हुन्छ । यहाँ प्रयोग भएको “असल नियतले गरेको” शब्दको परिभाषा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ को खण्ड (ज) मा लापरवाही साथ गरेको वा नगरेको जे भएतापनि वास्तवमा इमान्दारीसाथ असल नियतले गरेको कामलाई मानिने व्यवस्था गरिएको छ । सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त अनुसार इमान्दारीसाथ असल नियतले गरेको मानिन्छ (गजेन्द्र बहादुर सिंह विरुद्ध काठमाडौं मजिस्ट्रेठट, ने.का.प. २०२२, नि.नं (२७५, पृ. १७९) । प्रहरीले माग दाबी गरे अनुसार केशव आचार्यको कसूर प्रमाणित हुनको लागि उहाँको आपराधिक मनसाय हुनुपर्दछ । उनका सबै भिडियोहरू हेर्दा र उनका सहयोगीसँग गरेको वार्तालापको आधारमा उनमा कुनै सार्वजनिक शान्ति भंग गर्ने वा नेपालको सार्वभौम सत्ता वा जात, जाति वा धर्ममा, सम्प्रदायबिचमा सुमधुर सम्बन्ध खलल पार्ने नियत देखिंदैन । उनले यसमा कुनै झुटा अफवाह फैलाएका छैनन् । आफ्नो धार्मिक आस्थाअनुसार आफ्ना अनुयायीहरूसँग प्रार्थना गरेका छन् । यो पूर्ण रुपमा अल्पसंख्यक धार्मिक समुदायमाथि बहुसंख्यक समुदायको लहैलहैमा लागेर प्रशासनले उनलाई पक्राउ गरेको देखिन्छ । यस्तो विषम परिस्थितिमा राज्यले शंका लागेको व्यक्तिलाई अनुसन्धानको निमित्त पक्राउ गर्न मनासिव देखिएतापनि उनलाई म्याद थप गराएर थप अनुसन्धान अगािड बढाउनु कुनै पनि हिसाबले जायज नहुने भएकोले उहाँको अविलम्ब रिहाईको लागि हामी ख्रीष्टियन समुदाय जोडदार माग गर्दछौं ।

उहाँले आफ्नो फेसबुकमा सार्वजनिक गर्नुभएको भिडियोहरू र उहाँका सेवकाइका गतिविधिबाट हामी समस्त समुदायले केही पाठ भने अवश्य सिक्नुपर्ने देखिन्छ ।

हामी हरेकले हाम्रा परमेश्वरको महिमाको लागि उहाँको मण्डली निर्माणको निमित्त उहाँले दिनुभएको वरदानअनुसार सेवकाइ गर्ने हो । हामी सबैलाई पवित्र आत्माको नापअनुसार दिइएको वरदानले ख्रीष्टको शरीर मण्डली निर्माण गर्ने हो र सन्तहरूलाई असल कामको निम्ति सुसज्जित गर्ने हो (१ कोरिन्थी १२ः७, ११, २७, एफिसी ४ः११, १२) । अलिकति म आफू पनि पवित्र आत्माको वरदानको सेवकाइ अन्य भाषा, अगमवाणी, चंगाई माथि विश्वास गर्दछु, अभ्यास गर्दछु तर कता कता यी वरदान चलाउने साथीहरूले यी प्रदर्शित वरदानका अभ्यासलाई मात्र बढी जोड दिनुहुन्छ र सबै अरु वरदानहरू पनि मण्डली निर्माणमा आवश्यक छ भन्ने कुरालाई नजरअन्दाज गर्नुहुन्छ । यसै कारणले पनि यी मान्ने र नमान्ने बिचमा हामी भित्रै बाइबललाई अगाडि राखेर प्रमाणित गर्ने होडवाजी देखिन्छ, जुन प्रभुको मण्डली निर्माणको लागि ठिक होइन । म व्यक्तिगत रुपमा पास्टर केशव आचार्यलाई नचिनेतापनि उहाँसँगै सेवकाइ गर्ने शमूएल तामाङ भाइसँग नजिकबाट सेवकाइ गरेको छु र केही समय यता उहाँहरूको सेवकाइले समग्र नेपालको मण्डली जुन विश्वव्यापी रुपमा हामी एउटै मण्डलीका सदस्य हौं, केही ठाउँमा असामान्य परिस्थिति सृजना गरेको छ । हामी सबैले प्रभुको मण्डली निर्माण गर्नको निमित्त उहाँले दिनुभएको वरदानअनुसार सेवकाइ गर्ने भएकोले एकले अर्कोलाई श्रेष्ठ ठानेर (फिलिप्पी २ः३,४) गरौं । म अर्थात हामीले गरेको सेवकाइले समग्र मण्डली निर्माणमा केही समस्याहरू आउँदैछ भनेर अगुवाजनहरूले भन्दै हुनुहुन्छ भन्ने लागेमा नम्रताको साथ सच्याउने, स्वीकार गर्ने पनि गरौं । हाम्रो बिचको समस्या बाहिरको मानिस हँसाउनको निमित्त नल्याऔं जस्तो पा. केशवको पक्राउको बारेमा एक जना पास्टरले हामी ख्रीष्टियन समुदायमा भएको अनेकतालाई प्रमुख कारण मान्नुभएको भिडियो सार्वजनिक गर्नुभएको छ । दोश्रो कुरा, हाम्रो सेवकाइ परमेश्वरलाई खुशी पार्ने हिसाबले उहाँको महिमाको लागि (कलस्सी ३ः२३, १ कोरिन्थी १०ः३१) गर्ने हो तर मानिसलाई देखाउनको निमित्त नगरौं । प्रायः गरेर हामी सेवकाइ गर्ने साथीहरू बिहान घरमा गरेको उपासना, बेलुका सुत्ने बेला गरेको प्रार्थना, सेवकाइमा कहीं गएर केही गरेको पनि मोबाइलमा भिडियो खिँचेर फेसबुक, युट्युबमा हाल्नुहुन्छ, जो सार्वजनिक हुन्छ अनि तपाईंको नियन्त्रण भन्दा बाहिर पुग्छ । हो, अहिले हामीलाई सुसमाचार सुनाउन परिस्थिति अनुकुल छैन, Social Media बाट सबै ठाउँमा सेवा पुर्याउन सकिन्छ तर यो कत्तिको गुणस्तरीय छ, हामीले बोलेका शब्द, बाँडेको वचन सुन्ने सबैको लागि कत्तिको आशिषित छ, कतै हाम्रो खेदो गर्ने शत्रुहरूको लागि मसला त बन्दैन भनी हेक्का राखेर Edit गरेर हाल्नु सान्दर्भिक हुन्छ । के यसले विश्वव्यापी मण्डली निर्माणलाई फाइदा पुग्छ ? कि त मानिसलाई देखाउनको निमित्त फरिसीले झैं गर्ने गर्छौं ? जसको इनाम हामीले अहिल्यै पाइसकेका हुन्छौं (मत्ती ६ः५) । सायद आज केशव आचार्यले होशियारी साथ Edit गरेर भिडियो सार्वजनिक गर्नुभएको भए यस्तो हुने थिएन र उहाँले चलाउनु भएका कतिपय शब्दहरू गैह्र इसाईको लागि सुन्नका लागि उपयुक्त छैन । साथै हामी क्षणिक रुपैयाँ पैसा आर्जन गर्ने लोभमा परेर समग्र मण्डली निर्माण नहुने भिडियोहरू बनाएर यूट्युबमा हाल्ने कामलाई सबैले छोडिदिऊँ ।

भूकम्पमा हामी समग्र इसाईले भागेको आरोप अब फेरि कोरोनाको महामारीमा पनि हामीले गरेको एउटा सानो हेलचक्रयाईंले गर्दा भयो, जो अब लामो समयसम्म मजाकको विषय बनिरहनेछ, यसबाट हामी सबैले पनि पाठ सिकौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...