फेसबुकमा लामै समयदेखि हिन्दु र ख्रीष्टियन धर्मालम्बीहरूको बिचमा एक किसिमको जुहारी जस्तै चल्दै आइरहेको छ । हिन्दुहरूले ख्रीष्टियनहरूको हरेक गतिविधिहरूप्रति नकारात्मक प्रतिक्रिया जनाई ख्रीष्टियनहरूलाई झोलेको संज्ञा दिएका छन् भने ख्रीष्टियनहरूले पनि सोहीअनुसारको जवाफ दिने गरेका छन् । यसरी एकले अर्काको आस्थाप्रति व्यङ्ग हानिरहेका छन् । हाल कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा यी दुई धर्मालम्बीहरूबिचको जुहारी भने झनै बढ्दै गइरहेको छ । यो जुहारी केका लागि, कसका लागि ? हिन्दुहरूले आफ्नो आस्थाअनुसार अभ्यास गरिरहेका छन् भने ख्रीष्टियनहरूले पनि त्यस्तै नै गरिरहेका छन्, अनि किन एकले अर्कोलाई व्यङ्ग हान्नु पर्यो ? एउटाले अर्कोको किन विरोध गर्नुपर्यो ? एउटाले अर्कोलाई किन खसाल्नु पर्यो ? सबैले आफ्नो आस्थाअनुसारको अभ्यास गर्दा के आपत्ति ? यस्तो विपत्तिको घडीमा संयम अपनाएर हाम्रो देशमा भयावह स्थिति आउन नदिन सबैले आ-आफ्नो क्षेत्रबाट हातेमालो गर्यौं भने कसको के बिग्रिन्छ र ?
हालै पास्टर केशव आचार्यले अफवाह फैलाउन खोजेको आरोपमा उनलाई पोखराबाट पक्राउ गरिएको छ । मैले पनि त्यो भिडियो हेरें । उनले भ्रम र अफवाह फैलिने खालको सन्देश दिएका छन् जस्तो मलाई चाहिँ लागेन । उनले आफ्नो आस्था र विश्वासअनुसार उनको ईश्वरको नाउँमा भाइरसलाई धपाउन खोजेका छन्, उनले सन्देश मार्फत् कसैलाई पनि यस्तै गर्नूस् त भनेका छैनन् नि । हामीले अरू थुप्रै भिडियोहरू पोष्ट गरेको हेरेका छौं, जहाँ कोरोना भाइरस हटाउनको लागि पूजापाठ गरिएको छ, गौ-मूत्र पिइएको छ । यदि नकारात्मक नै सोच्ने हो भने पूजापाठ गरेर र गौ-मूत्र पिएर कोरोना भाइरसबाट निको हुन्छ भनेर भ्रम र अफवाह फैलाउन खोजेको आरोपमा त्यस्तो भिडियो पोष्ट गर्नेलाई पक्राउ गर्ने कि नगर्ने ? मुसलमानले आफ्नो आस्थाअनुसार प्रार्थना गरिरहेका छन्, हिन्दुले आफ्नो आस्थाअनुसार पूजापाठ गरिरहेका छन् र ख्रीष्टियनले पनि आफ्नो आस्थाअनुसार प्रार्थना गरिरहेका छन् । यसमा खराबी के छ ? सबैभन्दा असल हामी सबैले एक-अर्काको आस्था र विश्वासको कदर गरौं, एक-अर्काप्रति भाइचारा सम्बन्ध कायम गरौं । हामी सबै मिलेर हाम्रो देशलाई कोरोना मुक्त गरौं । यसैमा सबैको भलाइ हुन्छ नि होइन र ?
दोस्रो विश्व युद्धमा गोर्खाली सेनाले लडेर बहादुरी कमाएको थियो । यो कोरोना भाइरस जैविक युद्ध हो, जैविक तेस्रो विश्व युद्ध हो, (Corona Virus is a silent killer, Silent Biological 3rd world war.) यसले महाशक्ति राष्ट्रहरूलाई समेत घुँडा टेकाइरहेको अवस्थामा हामी सबै नेपाली मिलेर यो कोरोना भाइरसलाई नेपालमा आउनै नदिएर वा आइहाले सबैले बुद्धिमतापूर्वक सामना गरी हाम्रो देशलाई कोरोनामुक्त बनाऔं । कोरोनालाई जितेर बहादुरी कमाऔं ।