निराजन मोक्तान ।
सिंगो विश्व अहिले कोरोना भाइरसको त्रासमा रहेको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै यो महामारीको त्रास झनै बढेको हो । नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम मुलुकको सूचीमा विश्व स्वास्थ्य संगठनले दर्ज गरेको छ । यतिबेला नेपालमा दश, पन्ध्र रुपैयाँमा पाइने मास्कको बजारमा पूरै अभाव छ । मास्क लुकाएमा वा महँगोमा विक्री गरेको पाइएमा ११३७ मा फोन गर्न सरकारले जानकारी गराइसकेको छ । ठूलादेखि साना व्यापारिक मलहरूमा समेत अत्यावश्यक मानिएका सेनिटाइजर, मास्कको पूरै अभाव छ, यतिबेला ।
सरकारले नागरिकलाई ढुक्क हुन आग्रह गरिरहेको छ तर ग्यास डिपोहरूमा अभावको अवस्था देखिन थालिसकेको छ । ग्यास पसल अगाडि नाकाबन्दीको जस्तै लामो लाइन देखा पर्न थालिसकेको छ । अस्पतालमा उस्तै भीड छ, मास्क छैन, औषधिको पनि अभाव हुने त्रास औषधि व्यवसायीले दिएको गुनासो पनि सुन्न थालिएको छ।
यदि महामारी साँच्चिकै नेपालमा भित्रिएछ भने के व्यापारी मात्रै बाच्लान् त ? के व्यापारीहरूलाई महामारीले समाउँदैन होला ? के व्यापारीको आत्मा हुँदैन ? व्यापारीलाई देश , जनता संकटमा पर्दा पनि पैसाकै लोभ लाग्ने कस्तो महाभाइरसको सिकार हुनुपर्ने ? व्यापारीले नाफा खान्छन्, व्यापार गर्ने भनेकै नाफा कमाउनको लागि हो, यो कुरा सबैलाई थाहा छ तर संकट बनाएर, अर्को नागरिकलाई यातना दिएर, कृत्रिम अभाव देखाएर, हिजो पाइने मूल्य भन्दा दुई गुणा बढी भाउ गरेर नाफा आर्जन गर्ने होइन नि ।
कोरोना भाइरसको त खोप बन्ला, औषधि बन्ला, विस्तारै निर्मूल होला तर संकटको दाउ छोपेर बसेका कालो बजारी भाइरसबाट कसरी जोगिने ? न यो भाइरसको खोप कहिल्यै बन्छ, न औषधि नै । संकट र विपदको दाउ हेरेर बसेका कालो बजारीको महामारीबाट आम नागरिक कहिले निको हुने ?
तस्विर साभार: काठमान्डू पोस्ट डट कम१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४