२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आत्मिकता नाप्ने यन्त्र

हिरा खड्गी । विश्वास चाहिँ अदृश्य हुन्छ, जुन कुरा सबैलाई थाहा भएकै कुरा हो । जसलाई हामी कुनै पनि भौतिक कुराहरूले नाप्न, जाँच्न, न्याय गर्न सक्दैनौं । त्यसलाई नाप्ने यन्त्र भनेको खाली मानिसले असल र खराब भनेर छुट्याउन गरिने नाप या त न्याय भनेर भन्नु पर्ने हुन्छ ।

तर कस्तो हुन्थ्यो यदि हामीसँग एउटा यस्तो यन्त्र छ, जसले तपाईंको र मेरो विश्वास नाप्न सक्छ ! हामी कति आत्मिक छौं भनेर त्यो मेसिनले नापेर भन्ने छ कि तपाईंसँग सिद्ध प्रेम गर्ने क्षमता ९५ प्रतिशत रहेछ अर्थात सयमा ५ प्रतिशत कम रहेछ । तर नपुग अंक कहाँबाट थप्ने होला सोचिरहनु भएको छ भने तपाईंलाई त्यो यन्त्रले नै यसरी सम्झाउनेछ । “अरूलाई त प्रेम गर्नु भयो तर आफ्नै घर परिवारमा आफ्नो श्रीमती/बालबच्चाहरूलाई प्रेम गर्न बिर्सनु भएछ । सासु/ससुरालाई पनि प्रेम गर्न भुल्नु भएको १० वर्ष भएछ । यदि यी दुई कुरामा अब तपाईंले प्रेम गर्न सक्नुभयो भने, अर्को वर्षसम्म तपाईंको सय प्रतिशत अंक पुग्ने निश्चितता हुनेछ ।” त्यसपछि अर्को वर्षमा जब सुचकले शतप्रतिशत देखाउँदा तपाईं दंग पर्दै सबैलाई चर्को आवाजमा “जयमसिह” भन्न कन्जुस गर्नुहुन्न किनकि तपाईंको सय प्रतिशत अंक पुगिसकेको हुनेछ । प्रेम गर्न अब तपाईंलाई कसैले पनि उछिन्न सक्नेछैन ।

कस्तो राम्रो हुन्थ्यो यस्तो यन्त्र जसले हाम्रो अन्य क्षेत्रहरूलाई पनि सजिलै नाप्न सके !

मलाई पनि बधाई छ भन्न कन्जुस गर्न मन लाग्दैन थियो होला । हुन सक्छ, तपाईं विश्वासी हुनु भएको अहिले पन्ध्र वर्ष मात्रै भएको छ । तर यो यन्त्रले तपाईंको आत्मिक क्षमता नाप्ने सुईले क्षमा गर्न सक्ने २५ प्रतिशत मात्रै देखाउँदो रहेछ । त्यसैगरी दया देखाउने ५८ प्रतिशत, झुट बोल्ने बानी ७० प्रतिशत, विश्वासयोग्य र इमान्दारिता २९ प्रतिशत, भलाई ७५ प्रतिशत, चर्च जाने र संगतिहरूमा सहभागी हुने ९९ प्रतिशत । अर्को १ प्रतिशत अन्य काम र बिरामी पर्दा सहभागी हुन नसकेको, घर परिवारको जिम्मेवारीमा चाहिँ ३१ प्रतिशत, बाइबल अध्ययन प्रार्थना नियमित संगति ८० प्रतिशत । अपबाद बाहेक १/२ वटा क्षेत्रमा मात्रै कम देखाउँदो रहेछ । बाँकी सबै आत्मिकता नाप्ने यन्त्रले अटोमेटिक देखाउने रहेछ ।

कति राम्रो हुन्थ्यो होइन त, यदि यस्तो मेसिन पाए । म आफै पनि जसोतसो किनेर हरेक शुक्रबार साँझ नाप्थें, घरेलु संगति जान अघि पनि नाप्थें । अनि यदि कहिलेकाहि नपुगेको अंक भए शनिबार चर्चमा वचन सुनेर मेरो आत्मिक अंक बढाउँथे र फेरि त्यो मेसिनमा नाप्थें । केही वर्षमै पूर्ण आत्मिक मानिस भै सक्थें । म पनि ती विश्वासीहरू झैं हुन्थें, उफ्रिन्थें, कराउँथें, चिच्याएर आमेन, हल्लेलुयाह भन्थें होला । सुनोस् कि नसुनोस् तर एक घण्टा बीस मिनेट वचन बोल्थें । किनकि मेरो आत्मिकता नाप्ने यन्त्रले राम्रो अंक जो देखाइ सकेको छ । मेरा स्वरहरू पनि चर्को हुन्थ्यो होला, शीर चाहिँ सँधै अलिक ठाडो नै हुन्थ्यो होला । जसको कारण घमण्डको प्रतिशत मिलाउन बिदेशबाटै कुनै विषेशज्ञालाई बोलाएर यन्त्रलाई पुन मिलाउनु पर्ने हुन्थ्यो होला । यसो गर्दा, त्यो समयसम्म मेरो आत्मिकी क्षमताको अंक सय प्रतिशत भैसकेको हुन्थ्यो । मसँग एउटा बेग्लै किसिमको साहस आँटको पोको जम्मा भइसकेको हुन्थ्यो । अनि मेरो प्रार्थना गर्ने क्षमता र उपबास बस्ने क्षमतामा पनि बृद्धि भइसकेको हुन्थ्यो । अनि मलाई सबैले अहो कति राम्रो विश्वासी भन्थ्यो होला, कति आत्मिक त्यो दाइभाइ, छोरा/नाति आदि भन्थ्यो होला । आत्मिकता नाप्ने यन्त्रले मेरो ख्रीष्टियन जीवन सहज भै सकेको हुन्थ्योे होला । सायद त्यस्तो मेसिन, जो हाम्रो आत्मिकता नाप्नलाई बडो गज्जबको यन्त्र हुन्थ्यो होला । मानिसले बनाएको आत्मिकता नाप्ने न्यायको यन्त्रले मेरो आफ्नो आत्मिक क्षेत्र निर्धारण हुँदा सायद म पनि खुशी हुने थिएँ । मेसिनले देखाउने सुचकको मात्राले मैले प्रेम, क्षमा थप्नु पर्ने भन्थ्यो होला । रीस, घमण्ड, डाह, ईष्याको सुचक चाहिँ घटाउनु पर्छ भन्थियो होला । सायद लोभ र कुरा काढ्दै बस्ने बानी चाहिँ ठिक ठिकै हुन्थ्यो होला । नभए शनिवार चर्च जान अघि नापेर नपुगेको अंक थपेर जाने थिएँ । हरेकपल्ट मण्डली जाँदा सिद्ध भएरै पुग्ने थिएँ । “आज बिहान प्रार्थना गरेर आउनु भएको छ ? प्रभुको अनुग्रह माग्नु भएको छ भनेर सोध्न सक्दैन थियो होला ।” अनि मलाई कसैले पनि आत्मिकताको क्षेत्रमा न्याय गर्न सक्दैन थियो होला । किनकि मेरो पनि शतप्रतिशत अंक पुरा भएर सशक्त विश्वासी भै सक्थे अनि चार भित्ताको बाकसमा अरुसँग सजिलै अटाउने थिएँ, सँगै संगति गर्न सक्थें !

बिडम्बना, अहिलेसम्म कुनै विश्वासी बैज्ञानिकले, पास्टरले त्यस्तो मेसिन बनाउन सकेको छैन । नत्र धन्न मैले पनि साँचो परमेश्वलाई छाडी उसलाई नै पो दिनदिनै प्रार्थना गर्नु पथ्र्यो, पुज्न पथ्र्यो होला ।

साँच्चै तपाईंको बिचारमा पनि यदि यस्तो यन्त्र भएको भए, के तपाईं आत्मिकताको सुचक नाप्न इच्छा गर्नु हुन्थ्यो ? यदि तपाईंको उत्तर “हो, हुन्छ” भनेर आउँछ भने पहिला आफैलाई नियालेर हेर्नुहोस् । मेरो सोंचमा, तपाईं आफैलाई अरू कसैबाट न्याय गर्न नदिनु चाहिँ बुद्धिमानी हो । तपाईंको विश्वास र भावनालाई अरू कसैले पनि तोडमोड (मोनिपोलिसन) गर्न अनुमति नदिनुहोस् र फलस्वरूप तपाईंको जीवनमा निरासा र हिनताबोधको अंक पनि बढ्न नपाओस् । हामी कोही पनि सिद्ध मानिस छैनौं र हामी यो शरीरमा सिद्ध हुन पनि सक्दैनौं । अरुको नजरमा म कस्तो हुनुपर्ने भन्दा पनि, म आफ्नै नजरमा म कस्तो छु र कस्तो हुने भन्ने सत्य पत्ता लगाउनु महत्वपूर्ण कुरा हो । अरूलाई असल राम्रो देखाउन आफै भित्र खोक्रो नबन्नुहोस् । असल थोकहरू त आफै उज्यालोमा प्रकट भइहाल्छ । त्यो लुक्न सक्दैन तर असल गर्न छोड्नु चाहिँ खराब गर्नु सरह नै हुन्छ । अर्को छनौट वा विकल्प छैन । धेरैजसो हामी मानिसहरू यो आत्मिकता नाप्ने यन्त्र जस्तै भइहाल्छौं । न्याय गर्नमा हामी हतार गरिहाल्छौं तर वास्तवमा मानिसहरूलाई न्याय चाहिएको छैन । मानिसहरूलाई साँचो प्रेम, उत्साह, ढाडस चाहिएको छ । हिब्रूको पुस्तक अनुसार परमेश्वरको वचन जीवित र क्रियाशिल छ भनेर भन्दछ । जसको अर्थ यो हुन आउँछ कि तपाईंको जस्तोसुकै अवस्था, परिस्थिति किन नहोस्, उहाँको वचन तपाईंको हृदयको अन्तस्करणमा त्यो क्रियाशिल भइ नै रहेको हुन्छ । क्रियाशिलताको अवस्था शान्त भएको समयमा हामी त्यसलाई महशुस वा अनुभव गर्न सक्दैनौं तर परमेश्वरको वचन त्यही अवस्थामा पनि जीवित नै हुन्छ र त्यो आफै भित्र एक शक्तिहरूको भण्डारको रुपमा रहेको हुन्छ । जसरी शान्त समुन्द्रको सतहबाट हेर्दा पानीको हलचल बाहेक केही देखिन्न तर गहिराइ भित्र जब प्रवेश गर्छौं, त्यहाँ जीवित लक्षणहरू प्रशस्त देखा पर्दछन् ।

परमेश्वरको वचन जीवित क्रियाशिल भएकै कारण मात्र हामीले त्यो क्रियाशिल वचनलाई कति र कसरी गतिशिल बनाउने हो, त्यसमा निर्धारण गर्दछ । जब हामी वचनलाई गतिशिल बनाउँछौं तब परिस्थितिहरू फेरिन लाग्दछ । यद्यपि मानिसहरूले प्रायः धेरै कम असल कुरा अर्को मानिसमा देख्दछ । फलस्वरूप हाम्रो आफ्नो न्यायिक धारणा अभिव्यक्त गर्न पुग्छौं । तर वास्तवमा तपाईं जे हुनुहुन्छ, परमेश्वरले तपाईंलाई त्यस्तै माया/प्रेम गर्नु हुन्छ । परमेश्वरले तपाईंमा राखिदिनु भएको तपाईंको असल गुण नै तपाईंको विशेषता हो । त्यसमा कुनै पनि देखावटी र बनावटीपनाले सजाउनु पर्ने आवश्यकता हुँदैन । बनाउने पनि उहाँकै अधिकारमा छ र नाश गर्ने पनि उहाँकै हातमा छ । यी कुराहरूमा हाम्रो शक्ति र स्रोत खर्च गरिरहनु उचित नहोला । हामी कति आत्मिकी भयौं, त्यो महत्वपूर्ण कुरा होइन तर हामी कत्तिको गहिराइबाट बढेका छौं वा बढ्दैछौं त्यो महत्वपूर्ण कुरा हो । सत्यताको प्रभाव कस्तो छ ? हाम्रो बृद्धि कहाँ र कसरी भइरहेको छ, त्यो थाहा हुनु चाहिँ आवश्यक कुरा हो । र हाम्रो ख्रीष्टियन जीवनको विकास कुन दिशा तर्फ अघि बढिरहेको छ, त्यसले निर्धारण गर्छ तर आत्मिकता नाप्ने यन्त्रले होइन ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...