२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कस्तो अचम्मको प्रेम: बलिदानले भरिएको प्रेमको नमूना

पास्टर प्रेमनारायण भट्टराई ।

प्रेमको विषयमा संसारको भन्दा बाइबलको दृष्टिकोण फरक छ । बाइबल धर्मशास्त्रमा यूहन्नाले लेखेको सुसमाचार ३ अध्यायको १६ देखि १८ पदमा यसरी लेखिएको छः “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् । किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो । जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन ।”

चार प्रकारका प्रेमहरू

यो एक अचम्मको प्रेम हो । सि. एस लुइस, २०औं शताब्दीका एक प्रख्यात ब्रिटिस (इग्लिंस) लेखक जसले कोर्निकल्स अफ नार्निया तथा मियर् क्रिट्यानिटी जस्ता प्रख्यात पुस्तकहरू लेखेका छन्, उनले आफ्नो फोर लभ्स् नामक पुस्तकमा ४ प्रकारका प्रेमको विषयमा लेखेका छन्ः

1. इरोस (Eros) — यो रोमान्टिक प्रेम हो । यो प्रेममा दुई विपरित लिङ्गका व्यक्तिहरू एक अर्काको प्रेमको खोजी गर्छन् । कुनै प्रेमी—प्रेमिकाको बिचमा हुने प्रेम यसको उदाहरण हो ।

2. फिलोस (Philos) — यो मानिसहरू बिचमा मित्रतामा हुने प्रेम हो । यो प्रेममा मानिसहरू एक आपसमा उही दर्शन र उही लक्ष्यको निम्ति एकअर्कालाई रुचाउँछन् । एउटै समूहमा रहेका सहकर्मीहरूको माझमा हुने प्रेम यस प्रकारको प्रेमको उदाहरण हो ।

3. स्टोर्ज (Storge) — यो कुनै वस्तुलाई गरिने प्रेम हो । तपाईंसँग लामो समयदेखि भएको कुनै वस्तु वा चिजलाई तपाईं गुमाउन चाहनुहुन्न । उदाहरणको लागि मन पर्ने कुनै पुराना जुत्ता, वा धेरै पहिलेदेखि माया गरेर पालिएको जनावर ।

4. आगापे (Agape) — यो एक ईश्वरीय प्रेम हो । स्वर्थरहित बलिदानले भरिएको प्रेम जुन परमेश्वरले मानिसहरूलाई गर्नुभयो । चर्चमा भएका सदस्यहरूले अर्को सदस्यप्रति गर्ने बलिदानले भरिएको प्रेम पनि ईश्वरीय प्रेमको अर्को चित्र हो । सुसमाचारले रुपान्तरण भएको विचारले गरिने प्रेम ।

अगापे अर्थात् अचम्मको प्रेम

बेथलेहेम बप्तिस चर्चका पूर्व पास्टर एवं बेथलेहेम सेमिनारीका चान्सलर जोन पाइपरका अनुसार “परमेश्वरको प्रेमले सबैभन्दा उच्च मुल्य तिरेको छ, जुन मुल्य उहाँको एक मात्र पुत्र हुनुहुन्छ, जो अयोग्यमा पापी शत्रुहरूको निम्ति तिरियो र यसले नै सबैभन्दा महान् खुशी दिंदछ ।”

१८औं शताब्दीका रिफम्ड, इभान्जेलिक, प्युरिटिन प्रचारक जोनाथन एडवार्डले प्रेमलाई दुई भागमा विभाजन गरेका छन् । पहिलो Love of Complacency (कम्लेसेन्सी) अर्थात् आत्मसन्तुष्टिको प्रेम र Love of Benevolence (बेनोभोलेन्स) अर्थात् उदारताको प्रेम ।

Love of Complacency (कम्पलेसेन्सी) — कम्पलेसेन्सी भन्नुको मतलव कुनै कुरा प्राप्तिको चाहना गरिने तिब्र चाहना । तपाईंले कुनै कुरा मन पराउनुहुन्छ, चाहना राख्नुहुन्छ । किनकि त्यो कुरा रहरलाग्दो वा मनमोहक हुन्छ । उदाहरणको लागि तपाईंलाई आइसक्रिम मनपर्छ, वा एउटा गुलावको फूल मनपर्छ । किनकि आइसक्रिम चाह गर्न लायकको हुन्छ । गुलाबको फूल रहरलाग्दो हुन्छ ।

Love of Benevolence (बेनोभोलेन्स) — यसको अर्थ चाहिँ कुनै कुराको प्रेमिलोपना वा सो चिज मनमोहक भएको कारणले होइन तर तपाईंको चाहना वा सोंच राम्रो भएको कारणले माया गर्नुहुन्छ । जस्तो एक जना गरिब, बाटोमा भिख माग्न बसेको मानिसलाई केही सहयोग गरिदिनु वा सडकमा दृष्टि विहिन हिँडिरहेको बेलामा तपाईंले भेट्नुहुँदा आफ्नो कामलाई रोकेर बाटो काट्न मद्दत गर्नु ।

कस्तो अचम्मको प्रेम !

अब हामी कुरा गरौं परमेश्वरको प्रेमको बारेमा । उहाँको हामीप्रतिको प्रेम माथिका २ भाग मध्ये Love of Benevolence (बेनोभोलेन्स) हो । हामी मानिसहरूमा केही असल वा लोभलाग्दो कुनै गुण भएको कारण उहाँले हामीलाई प्रेम गर्नु भएको होइन तर उहाँ आफु प्रेम हुनुभएको कारणले चाहिँ उहाँले हामीलाई प्रेम गर्नुभएको हो ।

परमेश्वरको प्रेम उहाँको उदारताको जवाफ वा प्रतिफल हो । यहाँ बुझ्नु पर्ने कुरा भनेको परमेश्वरको प्रेम उहाँ जो हुनुहुन्छ, त्यसको परिणाम हो । प्रेम पाउने व्यक्तिमा भएको गुणको कारणले होइन तर प्रेम गर्नुहुनेले उहाँ जो हुनुहुन्छ, सो हुनुभएको कारण परमेश्वरले प्रेम गर्नुहुन्छ । यो प्रेमको सम्बन्धमा बाइबलीय परिभाषा हो । प्रेम पाउने व्यक्ति जति अयोेग्य छ, यो प्रेमको मूल्य उत्तिनै बहुमुल्य हुन्छ । यसमा परेमश्वरको उदारचित्त, निस्वार्थ र अद्भुत हृदय झल्किन्छ ।

मानिसप्रति परमेश्वरको प्रेम

१. परमेश्वरले प्रेम गर्नुभएकाहरूका निम्ति उहाँको मर्ने ईच्छाः रोमी ५ः६—८, “किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो । धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला । तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।”

परमेश्वरले सबैभन्दा अयोग्यहरूलाई प्रेम गर्नुभयो यसैकारण यो सबैभन्दा महान् प्रेम हो । जब हामी कमजोर थियौं, अधर्मीहरूको निम्ति ख्रीष्ट मर्नुभयो । यो उहाँको प्रेम हो, यसमा उहाँको प्रेम देखिन्छ । किनकि हामी जस्तो अधर्मीहरूका खातिर ख्रीष्ट मर्नुभयो । परमेश्वरको प्रेमको परिणाम यही हो कि, सबैभन्दा पहिले ख्रीष्ट अयोग्यहरूका निम्ति मर्नुभयो । यसैकारण यो महान् र अचम्मको प्रेम हुनगयो ।

२. उहाँ यो मुल्य तिर्नको निम्ति स्वइच्छाले तयार हुनुहुन्थ्योः यूहन्ना १५ः१३, “आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन ।”

यो प्रेमको नाप चाहिँ मेरो अयोग्यताको आधारले नापिंदैन तर यसको नाप त हाम्रो निम्ति परमेश्वरले नै स्वइच्छाले तिर्नको निम्ति देखाउनुभएको साँचो चासोले नापिन्छ । किनकि उहाँ अयोग्यहरूका निम्ति मर्नलाई आफैं तयार हुनुभयो अर्थात्, यो उहाँको आफ्नै पुत्रको प्राण थियो ।

३. उहाँको प्रेमको कारणले मैले असल नापको परिमाण पाउँछुः यूहन्ना ३ः१६, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।”

बाइबलीय भाषामा अनन्त जीवन भनेको के हो ? येशूले यूहन्ना १७ः३ मा अनन्त जीवनलाई परिभाषित गर्नुभएको छ । “अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एक मात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून् ।” सबैभन्दा महान् उपहार चाहिँ यही हो कि, परमेश्वर स्वयम् नै अनन्त जीवन दिन यस संसारमा आउनुभयो ।

४. के परमेश्वरले यो प्रेम उहाँको सारा हृदयले गर्नुभएको हो ? सपन्याह ३ः१७, “परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ । उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ । उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ । उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ । गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुनेछ ।”

हराएको छोरोको (उडन्ते पुत्र) दृष्टान्तमा यही दृश्य देख्दैनौं र ? त्यो हराएको छोरोले भन्छ, “अब उप्रान्त म तपाईंको छोरो भनिने योग्यको छैनँ । मलाई ज्यालादारी चाकरहरूमध्ये एउटा सरह तुल्याउनुहोस् ।” तर बाबुचाहिँले उक्त छोरोलाई भन्छन्, “सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिराइदेओ । यसको हातमा औँठी, र खुट्टामा जुत्ता लगाइदेओ, र पुस्टाइराखेको पशु मार, र हामी खाएर आनन्द मनाऔं । किनकि यो मेरो छोरो मरेको थियो फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ ।” (लूका १५ः१९—२४)

निष्कर्षः

बाइबलको केन्द्रीय सन्देश यही हो कि परमेश्वरको उद्धार चाहिँ उहाँको प्रेमको परिणाम हो । जो ख्रीष्ट येशू स्वयम् हुनुहुन्छ । ख्रीष्टले उहाँको अचम्मको प्रेमस्वरूप मानिसको पापको निम्ति क्रूसमा आफैलाई अर्पण गर्नुभयो ।

परमेश्वरः परमेश्वर पवित्र हुनुहुन्छ र उहाँ सबै थोकको सृष्टिकर्ता हुनुहुन्छ । परमेश्वरले तपाईंलाई उहाँको स्वरुप र प्रतिरुपमा बनाउनुभयो ।

मानिसः परमेश्वरको वचनप्रति अनाज्ञाकारी भएका कारण हामी सबै पापी छौं र उहाँको क्रोधमा परेका छौं । जन्मसिद्ध पापी स्वभाव लिएर आएका कारण हामी कोहीसँग पनि बहाना छैन । हामीले परमेश्वरको बाटोलाई त्यागेर आफ्नो स्वार्थी र भ्रष्ट बाटो अपनाएका छौं । पापीहरू केवल परमेश्वरको क्रोधको भागिदार हुन्छन् । बाइबलले भन्दछ, पापको ज्याला मृत्यु हो, यसको अर्थ अनन्तसम्म परमेश्वरबाट अलग हुनु ।

ख्रीष्टः यो कथामा, एउटा सुसमाचार पनि छ । वास्तवमा संसारको निम्ति यो नै सबैभन्दा उत्तम समाचार पनि हो । परमेश्वरले पापमा फसेका मानिसहरूको पापको साटोमा, उहाँको एक मात्र पुत्र ख्रीष्ट येशू मारिनलाई पठाउनुभयो । पापीहरूलाई क्षमा दिएर परमेश्वरसँग मिलाप गराउनको निम्ति उद्धारकर्ता ख्रीष्ट येशू आउनुभएको छ ।

जवाफः हरेक व्यक्तिको निम्ति यो आवश्यक छ कि, हामीले ख्रीष्ट येशूमा हाम्रो भरोसा राख्नुपर्छ । कतिले यो सुसमाचारलाई इन्कार गर्छन् तर यो सुसमाचारलाई स्वीकार गर्ने हरेक व्यक्तिले उद्धार पाउँछन् ।

कस्तो अचम्मको प्रेम, यही नै हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...