विनोद मगर ।
वेस्टमिन्सटर क्याथकिज्मले मानव जातिको मुख्य उद्देश्य सृष्टिकर्ता परमेश्वरलाई महिमित तुल्याउनु हो भनेर भन्दछ । हाम्रो सबैभन्दा महत्वपूर्ण लक्ष्य भनेको नै सृष्टिकर्ता परमेश्वरलाई स्तुति, प्रशंसा र आराधना गर्नु हो । बाइबलमा हामीलाई परमेश्वरको आराधना गर्नको लागि धेरै ठाउँमा आज्ञा दिइएको छ । साथै आराधना के हो, कसरी गर्ने र कस्तो हुनुपर्ने भन्ने बारेमा पनि स्पष्ट बताइएको छ । आराधनाका विभिन्न नमुनाहरू पनि हामी बाइबलमा पाउँदछौ । उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म भएका आराधनाका नमुनाहरूलाई यहाँ छोटकरीमा व्याख्या गरिएको छ ।
सिनै पर्वतमा व्यवस्था दिइनु अघिको नमुनाः
यो समयमा विशेष गरी परिवारको मुख्य व्यक्तिले सम्पूर्ण परिवारका सदस्यहरूलाई आराधनामा अगुवाई गर्ने गर्दथे । परमेश्वरको निम्ति वेदी निर्माण गर्ने, बलिदानहरू चढाउने र आराधनामा अगुवाई गर्ने जिम्मेवारी त्यस समयका परिवारका मुख्यव्यक्ति (पिता)को हुन्थ्यो । यो आराधनाको नमुना विशेषत परिवार केन्द्रित रहेको छ । व्यवस्था ६ः५–९ मा दिइएको आाज्ञाअनुसार परिवारका अभिभावकहरू आ–आफ्ना छोराछोरीहरूलाई परमेश्वरको ढाँचाअनुसारको जीवनशैली निर्माण गर्नको निम्ति जिम्मेवार छन् । आज पनि यो नमुनाअनुसार हरेक परिवारको प्रार्थनाको वेदी हुनु र अभिभावकले बालबालिकालाई आराधनामा डो¥याउन आवश्यक छ ।
तम्बु /मन्दिरको नमुनाः
परमेश्वरले मोशालाई तम्बुको निर्माण गर्ने आदेश दिनुभयो । जुन नमुनाअनुसार तम्बुको निर्माण र आराधनाको सेवालाई मोशाले अगुवाई गरे । लेवीहरूलाई कुलपुजाहारीको रुपमा नियुक्त गरियो र आराधनाका सबै प्रकारका आवश्यक क्रियाकलापहरूको जिम्मेवारी यस कुललाई दिइयो । दाऊदको पालामा अझ यो विस्तृत र विकसित भयो । विभिन्न बाजाहरू सहित गाउने, बजाउनेहरूको झुण्डको निर्माण र सङ्गीतको विकास दाऊदले गरे । सङ्गीत भएको कारण आराधना गर्ने होइन तर आराधना भएको कारण सङ्गीत बजाइने हो । त्यसकारण हाम्रो मण्डलीहरूमा पनि हामी बाजाहरू सहित परमेश्वरको आराधना गर्दछौ ।
सभाघरको नमुनाः
इस्राएलीहरू बेबिलोनको दासत्वमुनि रहेको समयमा सभाघरको अवधारणा सुरु भएको भन्ने भनाई अनुसन्धानकर्ताहरूको रहेको छ । त्यस समयमा आराधनाको निम्ति कुनै पनि मन्दिर नभएको कारण यहुदीहरूले सभाघरमा आराधना गर्ने चलनको विकास गरे । येशू ख्रीष्टको समयमा सभाघरको अभ्यासले व्यापकता लिइसकेको थियो । सभाघरमा भेला भई प्रार्थना गर्ने, वचन अध्ययन गर्ने, प्रचार गर्ने र सिकाउने जस्ता क्रियाकलापहरू हुन्थ्यो, जुन नमुना पछि गएर प्रोटेस्टेन्ट मण्डलीहरूले अपनाए । आजसम्म पनि त्यो नमुना हामी यहुदीहरूको सभाघर र ख्रीष्टियनहरूको मण्डलीहरूमा पाउँछौँ ।
पावलको समयको आराधनाको नमुनाः
यो समयमा मण्डलीहरू घरघरमा हुने गर्दथ्यो र यहुदीहरू बाहेक अन्यजातिहरू पनि विश्वासमा (विश्वासहरूको भेला)मा आइरहेका थिए । भेला हुने हरेक विश्वासीहरू पवित्र आत्माको भरपुरी र अगुवाईमा रहेर परमेश्वरको आराधना गर्ने गर्दथे । यो समयमा विश्वासीहरू पवित्र आत्माको अगुवाईमा रहेर भजन, आत्मिक गान, गीतहरू गाउने गर्दथे (कलस्सी ३ः१६, एफिसी ५ः१९–२०) । येशु ख्रीष्टले आराधनाको निम्ति कुनै निश्चित स्थान वा ठाउँको आवश्यकता नरहेको तर आराधना आत्मा र सत्यतामा गरिनु गर्ने बताउनुभयो (युहन्ना ४ अध्याय) । ख्रीष्टले स्थापना गर्नु भएको आराधनाको जगमा नै रहेर पावलले अझ मण्डलीको आराधनालाई सुव्यस्थित बनाउने कार्य गरे । प्रत्येक विश्वासी पवित्र आत्माको मन्दिर भएको र परमेश्वर वास गर्नु हुने भएकाले कुनै निश्चित स्थान वा ठाउँमा आराधना सिमित भएन ।
प्रकाशको पुस्तकमा भएको आराधनाको नमुनाः
यो आराधनाको नमुना संसारको उत्पत्ति अघिबाटै रहेको छ र यहि नमुना भविष्यमा पनि निरन्तर रहनेछ । यो आराधना अनन्त, विकेन्द्रित, व्यापक, र कलात्मक रहेको छ । यो आराधनाको नमुनामा मात्रै हामी विशाल जन समुदायको संलग्नता देख्दछौं । उल्लेखित सबै नमुनाहरूको दृश्य हामी यस नमुनामा पाउँछौँ, जुन अझ परिस्कृत भएर सबै भन्दा माथि रहेको छ । ख्रीष्टको दोस्रो आगमन पश्चातको नयाँ स्वर्ग र पृथ्वीमा हामी सबै यस प्रकारको आराधनामा सहभागी हुनेछौं ।
(Barry liesch द्वारा लिखित “People in the presense of God” नामक पुस्तक बाट साभार गरिएको)
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४