जगदिश पोखरेल ।
एउटा गाउँका २ जना बच्चाहरू खेल्दै खेल्दै निकै परसम्म पुगेछन् । जाँदाजाँदै गाउँबाट निकै टाढा जंगल नजिकै एउटा इनार फेला परेछ, बच्चाहरू त्यहि इनारको वरिपरि खेल्न थालेछन् । उनीहरूको उमेर ७ वर्ष र १२ वर्ष रहेछ । खेल्दाखेल्दै ठूलोचाहिँ बच्चा अचानक इनारभित्र खसेछ । भित्रबाट उ जोडजोडले चिच्याउन थालेछ । ७ वर्षको सानो बच्चालाई के गर्ने के गर्ने भएछ । उसले इनारबाट केही पर डोरीले बाँधेर राखिएको एउटा बाल्टिन देखेछ । त्यस बच्चाले दुगुरेर त्यो डोरीसहितको बाल्टिन ल्याएछ । उसले डोरीको टुप्पो समातेर बाल्टिन इनारमा फालेछ र ठूलो मेहनतले १२ वर्षे बालकलाई बाहिर तानेछ ।
बाहिर आएपछि उनीहरूले अंकमाल गरेछन् र हतारहतार गाउँमा गएर सबैलाई इतिवृत्तान्त सुनाएछन् । अचम्मको कुरा त के भने कसैले पनि उनीहरूको कुरा पत्याएनछन् । ७ वर्षको बालक जससँग एक बाल्टिन पानी निकाल्ने बल त छैन, उसले कसरी यति ठूलो मान्छेलाई तान्न सक्छ ? यो प्रश्नले गर्दा कसैले पनि उनीहरूको कुरा पत्याएनछन् । तर बालकहरूले धेरै पटक निश्चयताका साथ यो कुरा भनिसकेपछि कुरा के रहेछ त भनेर गाउँलेहरूले सानो चाहिँ बालकलाई सोधेछन्: त्यसो भए ल भन्, तैंले कसरी यति ठूलो काम गर्न सकिस् ? बालकले जवाफ दिएछ: “दाइ इनारमा परेपछि सहायता गर्ने कोही मान्छे छ कि भनेर मैले चारैतिर हेरें तर कोही थिएन । त्यसपछि मैले नजिकैको डोरीसहितको बाल्टिन उठाएर उहाँलाई निकाल्न सकें किनकि त्यहाँ “तैैंले यति ठूलो मान्छेलाई तान्न सक्दैनस्” भनेर मलाई भन्ने कोही पनि थिएन ।” धेरै पटक हामी हाम्रो क्षमता निर्धारण गर्ने अधिकार मानिसहरूका अनेक आवाजलाई सुम्पन्छौँ । “तैंले गर्न सक्दैनस्” भन्ने आवाज हाम्रो वरिपरि चारैतिर हर घडी गुन्जिराखेको हुन्छ ।
परमेश्वर भन्नुहुन्छः तँ गर्न सक्छस्, सैतानले भन्छः तैंले केही जानेको छैनस्, पढेको पनि छैनस्, बोल्न पनि जान्दैनस्, त्यसैले तैंले केही गर्न सक्दैनस् । दुःखको कुरा धेरै पटक हामीले अन्जानमै आफुलाई परमेश्वरको नभएर सैतानको आवाज सुन्ने बनाइराखेका हुन्छौं; अनि पुर्पुरोमा हात राख्दै भन्छौंः म केही गर्न सक्दिनँ ।
परमेश्वरले हामीमा राखिदिनुभएको अपार सम्भावनाहरूबारे हामी बेखबर रहन्छौं । उहाँ त त्यही परमेश्वर हुनुहुन्छ; जसले गोठालो दाउदलाई राजा चुन्नुभएको थियो । दास दानियललाई बडाहाकिम बनाउनुभएको थियो । निश्चय नै उहाँले हामी हरेकबाट महान ठानिएका कामहरू गर्न सक्नुहुन्छ । दुनिँयाले तँ यो कामको लागि योग्य छैनस् भनेको भए पनि वा उक्त काममा हजारौं पटक असफलता हात लागेतापनि हामीले हरेस खानुहुँदैन ।
एउटा मानिस जसले २१ बर्षकै उमेरमा व्यापारमा ठूलो घाटा खाए, र पूर्णतः असफल भए । २६ वर्षको उमेरमा उनकी प्रेमिका मरिन् र २७ बर्षमा उनको नर्भस ब्रेकडाउन भयो । त्यसपछि उनले लडेका ८ वटा चुनावमा उनी हारे तर नवौं पटकको चुनावमार्फत् उनी अमेरिकाका सोह्रौं राष्ट्रपति बन्न सफल भए । उनको नाम होः अब्राहाम लिंकन ।
एउटा मानिस जसलाई कुनै प्रतिभा नभएको व्यक्ति भनेर थुप्रै पत्रिकाका सम्पादकहरूले आफूसँग काम गराउन अस्वीकार गरेथे; उही व्यक्ति एकदिन संसारकै चर्चित एनिमेटर बन्न सफल भए । विश्वबिख्यात डिस्नी कम्पनीका मालिक, मिक्की माउस लगायतका अरु थुप्रै चर्चित कार्टुनहरूका सिर्जना गर्ने व्यक्ति बन्न पुगे । उनको नाम होः वाल्ट डिस्नी ।
एउटा मानिस जसले दश हजार पटक भन्दा बढी असफल हुँदा पनि हिम्मत हारेनन् अनि अन्ततः बिद्युतीय चिम बनाई त्यसबाट प्रकाश उत्पादन गराएरै छाडे । उनको नाम होः थोमस एडिसन ।
अर्को एउटा मानिस जो अहिले यो पढ्दैछ; आफैलाई हेरेर कहिलेकहीँ उ असन्तुष्ट हुन्छ, यस्तो सोच्छ कि मैले केही गर्न सक्दिनँ, जति गर्न खोजे पनि केहि काम बन्दैन, सधैं असफलता मात्रै हात लाग्छ ।
पवित्र धर्मशास्त्र बाइबलमा लेखिएको छः आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ, हितोपदेश ३ः६ । हेर, म एउटा नयाँ कुरो गर्दैछु ! त्यो अब हुन आउँछ । के तिमीहरू त्यो देख्दैनौं ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु, यशैया ४३ः१९ ।
परमेश्वरले तपाईंको जीवनमा कामहरू गर्दै हुनुहुन्छ । यो हुँदैन, म सक्दिनँ, म जान्दिनँ, म कमजोर छु, म गरीब छु, मैले धेरै पढेको छैन भनेर उहाँको कामलाई नछेक्नुहोस् ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४