भुवन देवकोटा ।
केटाहरू १३–१४ र केटीहरू १४–१५ वर्ष पुगेपछि परमेश्वरको योजनाअनुसार हाम्रो शरीरमा कुनै शक्तिको विकास भइरहेको हुन्छ । शरीरका अङ्गहरूमा विभिन्न परिवर्तनहरू आइरहेको हुन्छ । यो परमेश्वरको योजनाअनुसार नै हाम्रो शरीरमा ठीक समयमा हुनुपर्ने विकास भएको हो, कुनै अनौठो कुरा होइन । परमेश्वरले हाम्रो शरीरमा बिस्तारै यौनजन्य अङ्गहरूको विकास गराउँदै हुनुहुन्छ । यसरी हामीमा बिस्तारै यौन शक्ति र यौन–इच्छाको विकास हुन्छ । यौन परमेश्वरले दिनुभएको सुन्दर उपहार हो विवाहमा मात्रै । विवाहभन्दा बाहिर यो व्यभिचार हो र यसले परमेश्वरको क्रोध जगाउँछ, (१ कोरिन्थी ६ः१८–२०) ।
बिस्तारै उमेर बढ्दै गएपछि विपरीत लिङ्गीतर्फ आकर्षित हुनु नराम्रो कुरा होइन । सामान्य कुरा हो । केटालाई केटी मन पर्ने केटीलाई केटा मन पर्ने कुरा सामान्य हो तर यहाँभित्र कसैलाई श्रीमान बनाएको वा श्रीमती बनाएको सपना बनाउनुचाहिँ येशूको भाषामा व्यभिचार हो । कसैलाई कामवासनाको दृष्टिले हेरिन्छ भने उसले व्यभिचार गरिसकेको हुन्छ (मत्ती ५ः२८) । यो येशूले भन्नभुएको हो, त्यसकारण विवाहभन्दा बाहेकका सबै यौनजन्य कुराहरू व्यभिचार हो ।
विवाहअघिको यौन
विवाह पहिले गरिने यौन सम्पर्क ठीक हो कि बेठीक भन्ने प्रश्न हाम्रो मनमा हुन सक्छ । यौन सम्पर्क नगरे पनि मैले विवाहभन्दा अगाडि केसम्म गर्न सकिन्छ ? भन्ने प्रश्न आउन सक्छ । हामीले याद गर्नुपर्ने मुख्य कुरा हाम्रो कुमारीत्व अथवा कुमारपन हो । यो परमेश्वरले हामीलाई दिनुभएको एकदमै विशेष कुरा हो । परमेश्वरले यो हाम्रो जिम्मामा दिनुभएको कुरा हो । यो हाम्रो अधिकारको कुरा होइन तर हाम्रो जिम्मामा दिनुभएको हो । अनि यो कसैको लागि दिनुभएको हो । यौन तपाईंको लागि होइन तर तपाईंको जीवनसाथीको लागि दिनुभएको हो । त्यसकारण तपाईंले त्यो कुरा आफ्नो जीवनसाथीको लागि जोगाउनुपर्छ । तपाईंलाई जसको लागि यो कुरा दिइएको हो बीचबाट चोर्न अथवा त्यसलाई गलत किसिमले प्रयोग गर्न मिल्दैन । बाइबलले हामीलाई त्यो कुरामा अनमुति दिंदैन । हुनसक्छ, हामीले अन्य कुनै ठूलो उपहार दिन सकौंला । तर यो जस्तो ठूलो अरू हुँदैन । कतिपयले विवाहभन्दा अगाडि नै यौन सम्पर्क गरेर अथवा यौनजन्य क्रियाकलाप गरेर आफैंलाई पापको अधीनमा पार्दछन्। कतिले विभिन्न बहाना बनाउँछन् । कतिपयले यो ठूलो कुरा होइन भनेर पनि विचार गर्दछन् । बाइबलले विवाहअघि र विवाहबाहिर यौन सम्पर्कलाई अनमुति दिंदैन । हुँदैन भनेको कारणले ख्रीष्टियनहरूले यसलाई सानो ठान्न मिल्दैन । बाइबलमा पढ्नुभयो भने एक ठाउँमा यसरी लेखिएको छ कि हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो । त्यसैले उहाँको मन्दिरलाई नष्ट गर्ने हामीलाई परमेश्वरले बाँकी राख्नुहुन्छ त ? हामी उहाँका मन्दिरहरू हौं । उहाँको मन्दिरलाई जसले नष्ट गर्छ, त्यसलाई परमेश्वरले बाँकी राख्नुहुन्न । अनि येशूको भनाइमा व्यभिचार गर्नेले आफ्नै शरीरको विरुद्धमा काम गदर्छ अर्थात् आफ्नै शरीरलाई भत्काउँछ । हामीले व्यभिचार गर्दछौं भने हामीले आफैंलाई यौनमा अर्पित गर्दछौं, गलत किसिमले आफ्नो यौन प्रयोग गर्दछौं भने हामीले हाम्रो शरीरलाई भत्काएका हुनेछौैं अर्थात् पवित्र आत्माको मन्दिरलाई भत्काएको हुनेछौं, त्यसकारण यो कुरा सानो हो, सामान्य हो, साधारण हो, केही समयको लागि हो, पाँच मिनेट, दश मिनेटको लागि हो भन्ने विचार गर्नुहुँदैन ।
त्यसैले हामी परमेश्वरका मन्दिर हौं । पवित्र आत्मा हामीभित्र बास गर्नुहुन्छ । त्यसकारण हामीले यौनलाई एकदमै सानो कुरा हो सानो पाप हो, ठूलो कुरा होइन भनेर बहाना बनाउनु हुँदैन । यस्तो बहाना बनाउने हो भने हामीले परमेश्वरको मन्दिरलाई नष्ट गरेका हुनेछौं । परमेश्वरको मन्दिरलाई नष्ट गर्नेलाई परमेश्वरले त अवश्य नै हिसाब लिनुहुन्छ, अवश्य नै नष्ट गर्नुहुनेछ । अर्को गम्भीर विषय विवाहभन्दा पहिले गरिने यौन सम्पर्कको खतरा पनि हो । बाइबलले यसलाई गलत भनेको छ । यति मात्र होइन, विवाहभन्दा बाहिर र विवाह पहिले गरिने सबै किसिमका यौनजन्य क्रियाकलाप गलत हुन् । बाइबलको भाषामा यो व्यभिचार हो । विवाह अगाडिको यौन सम्पर्कले पाउने भनेको केही मिनेटको लागि आनन्द तथा जोश मात्र हो । त्यो केही मिनेटमा हराएर जान्छ तर त्यसको तुलनामा गुमाउनु पर्ने अति नै मूल्यवान र ठूलाठूला कुराहरू छन्, जुन कुरा विवाहपछि गुमाइनेछ । त्यस्तै परमेश्वरले तपाईंलाई धेरै माया गर्नुहुन्छ किनभने परमेश्वर त हाम्रो बुवा हुनुहुन्छ । अनि परमेश्वरले पनि अरूको जुठो भइसकको कुरा, अरूले उपभोग गरिसकेको कुरा आफ्नो प्रिय छोरा–छोरीलाई दिनुहुन्न । परमेश्वरले त्यसरी अन्याय गर्नुहुन्न । हामी यो विषयमा प्रस्ट हुनैपर्छ । हामीले विवाहभन्दा पहिले यौनसम्पर्क राख्नु भनेको आफैलाई जुठो बनाउनु हो, आफ्नो सक्कलीपनालाई कसैलाई उपभोग गर्न दिनु हो वा बिक्री गर्नु हो, केही मिनेटको आनन्दको लागि । त्यसकारण हामीले विवाहपूर्व नै यौनसम्पर्क गर्यौं भने परमेश्वरले हामीलाई दिनुभएको जीवनसाथी पाउन सक्दैनौं । परमेश्वरले जुन जीवनसाथी हाम्रो जीवनमा राखिदिनुभएको हुन्छ, जुन दिन लाग्नुभएको हुन्छ, त्यो हामीले पाउन सक्दैनौं किनभने परमेश्वरले हामीलाई माया गर्नुहुन्छ । हामीले व्यभिचार गरिसकेपछि हामी जुठो भएको हुन्छौं । त्यो जुठो परमेश्वरको असल छोरा वा छोरीलाई उहाँले ‘ल बाबु यो जुठो खा’ भनरे दिनुहुन्न किनभने त्यो अन्याय हो, हाम्रो परमेश्वरको स्वभाव त्यस्तो छैन । उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ । अर्को खतरा, तपाईंले आफ्नो जीवनसाथीलाई विश्वास गर्न सक्नुहुन्न । किनभने तपाईंले विवाह अगाडि नै आफ्नो कुमारीत्व वा आफ्नो सक्कलीपनलाई बिक्री गरिसक्नभुएको छ भने विवाहपछि तपाईंलाई के लाग्छ भने मैले जस्तो उसले पनि गर्छ होला नि । मैले जसरी गरेको थिएँ, उसले पनि गरेको थियो होला भन्ने तपाईंको मनमा परेको हुन्छ, यो सब पहिला तपाईंले गरेको पापको कारण हुने हो । यस्तो शङ्का गरेको कारणले तपाईंले आफ्नो जीवनसाथीलाई भरोसा गर्न सक्नुहुन्न। भनिन्छ, जीवनको ९९ प्रतिशत सुख आफ्नो जीवनसाथीबाट आउँछ तर जीवन साथीमाथि नै शंका भएपछि त्यो सुख आउने बाटो नै हुदैन । त्यसपछि परिवारमा कलह हुन्छ, झगडा हुन्छ, वमैनस्यता हुन्छ किनभने उल्लेखित घटनाले परिवारमा शंकाको बीउ रोपिसकको छ । यही कारण दुई वा तीन दिनको लागि घर छाडेरे बाहिर जानुपर्यो भने आफ्नो श्रीमान् वा श्रीमतीप्रति भरोसा हुँदैन । बिस्तारै परिवार बिग्रेर जान्छ । यसबाट थाहा हुन्छ कि विवाह पहिले यौनसम्पर्क गर्दा पक्कै पनि परिवार सुखी रहँदैन । बाइबलमा लेखिएको छ कि हामीले गरेको पापको हिसाब परमेश्वरले तीन/चार पुस्तासम्म लिनुहुन्छ । त्यसकारण हामीले विवाहभन्दा अगाडि नै यौनसम्पर्क गर्यौं भने तीन/चार पुस्ताले त्यसको हिसाब परमेश्वरकहाँ बुझाउनु पर्नेछ । त्यसको लेखा दिनुपर्छ किनभने हामीले गरेको पापको प्रतिफल उनीहरूले भोग्नुपर्छ । हामी एउटाको कारणले, हाम्रो दश मिनेटको गल्ती तथा वा व्यभिचारले कति पुस्तालाई किन त्यस्तो किसिमले दुःखमा पार्ने ? किन परमेश्वरको क्रोध पाउने किसिमको बनाउने ?
अर्काे महत्वपूर्ण कुरा के पनि हो भने विवाहभन्दा अगाडि नै यौनसम्पर्क गर्दा साँचो प्रेमको बारेमा थाहा पाउन सकिन्न किनभने त्यस्ता व्यक्तिको व्याख्यामा प्रेम भनेको यौन भन्ने हुन्छ । तर त्यस्तो होइन, श्रीमान– श्रीमतीको सम्बन्ध भनेको यौन मात्रै होइन । श्रीमान–श्रीमतीको सम्बन्ध भनेको त जीवनको आदान–प्रदान हो । सम्पूर्ण जीवन एक–अर्कामा निर्भर हुन्छ । त्यसैले जीवन साथी भनेको एकदमै राम्रो साथी हो, एकदमै मन मिल्ने मान्छे हो । कतिपय मानिसले श्रीमती भनेको आमा हो पनि भन्छन्, जसले सबै कुरा हेरिदिन सक्छिन् । सबै कुरामा हामीलाई माया गर्छिन्, वास्ता गर्छिन् । श्रीमान पनि श्रीमतीको लागि त्यस्तै हो । हामीले गल्ती गर्यौं भने हामीले वास्तविक प्रेम पाउन सक्दैनौं किनभने हामीले आफूलाई विवाहभन्दा अगाडि नै आफ्नो प्रेम पाउने हैसियतलाई गुमाइसकेका हुन्छौं । त्यस्तै विवाहभन्दा पहिले नै यौनसम्पर्क राखियो भने कति जना केटाहरू काम बिगारेर भाग्न सक्छन् । काम बिगार्यो अनि भाग्यो, अब दुःख पाउनु पर्नेचाहिँ केटीले हुन सक्छ । यसरी केटा हरायो भने भोलि सबै जीवनको बोझ, जीवनको कष्ट भोग्नुपर्ने त केटीले हुन्छ । अघिको कुरालाई फेरि जोडौं, त्यसो गरेको समाजले देख्यो भने विवाह गर्न बाध्य पार्छ ।
आफूलाई मन परे पनि, नपरे पनि विवाह गर्नुपर्ने हुन्छ । जसको कारणले भोलि त्यो केटा वा केटीलाई परिवारले, मण्डलीले अस्वीकार गर्न सक्छ अथवा परमेश्वरलाई विश्वास नगर्ने व्यक्ति पनि हुन सक्छ । त्यसो भयो भने हाम्रो जीवन परमेश्वरले पुर्याउन चाहनुभएको ठाउँमा पुग्दैन, खाल्टोमा पर्नेछ ।
जोगिने उपायहरू:
यौन भनेको आकस्मिक अथवा एकदमै जरुरी विषय होइन । यसलाई त हामीले जरुरी बनाएका छौं । हामीजस्ता थुप्रै किशोर–किशोरीहरूले ख्रीष्टियन युवाहरूले बेला नआई आफूलाई तताएका छन् । नराम्रा किसिमका चलचित्र, वेभ साइट, पत्रपत्रिका, किताब, म्युिजक भिडियो जस्ता कुरासँग नजिक भएर हामीले आफैलाई तताएका हुन्छौं। त्यसैका कारण हामीलाई बाइबलको शिक्षा लिनुपर्दा तथा मण्डलीमा बस्दा निद्रा लाग्छ । तर आफूलाई मन परेको तथा अश्लिल सामाग्री भेट्दा भने आएको निन्द्रा पनि भाग्छ । त्यसैले सेक्सलाई आकस्मिक वा जरुरी हो भनरे ठान्नु गलत हो । यो विवाहपछि आफ्नो जीवनसाथीको लागि दिइएको कुरा हो भनरे बुझ्नुपर्छ । सेक्स तथा यौन श्राप होइन, परमेश्वरले दिनुभएको वरदान हो, जीवनसाथीको लागि राखिदिनुपर्ने वरदान हो । त्यसकारण खराब वातावरण तथा परिवेशबाट आफैलाई राख्नु नै यसबाट जोगिने सबैभन्दा उत्तम विकल्प हो । आफ्नो कारणले अरू कसैलाई पाप गर्न बाध्य बनाउनु पनि हुँदैन । हाम्रो पोशाक, बोली, चाल–ढाल आदि कुराले अरू कसैले पाप गर्न बाध्य नपरोस् भन्ने कुरामा हामीले सधैं ख्याल गर्नुपर्छ । यौनका सवालमा पनि यही कुरा लागू हुन्छ । समय नआईकन यौनका चाहनालाई कल्पना गर्ने, त्यस्ता किसिमका सपना बनाउने, त्यस्ता कुरा मनमा खेलाइ राख्ने गर्नुहुँदैन । यो बानीले बिस्तारै यौनतिर तान्छ र अन्तिममा पाप गर्नतिर अग्रसर गराउँछ । त्यसकारण मनमा त्यस्ता किसिमका कल्पना गर्नुहुँदैन । त्यस्तै कसैसँग जिस्किँदा, मित्रता राख्दा, कुराकानी गर्दा पनि ख्याल गर्नुपर्छ । विशेष गरी केटा–केटीले आफ्नो बिचको सम्बन्धमा सीमा तोक्नुहोस् । जस्तो मन लाग्यो त्यस्तो शब्द जिस्किने बेलामा प्रयोग गर्नुहुँदैन, जसले भावनालाई उत्तेजित गराइदिन्छ । हुन सक्छ भने सकेसम्म कसैसँग टाँसिएर बस्नुहुँदैन । यो भनेको पग्लने ठाउँ हो, त्यो तात्ने ठाउँ हो । हामी तात्न सक्छौं ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४