उत्साहको वचन: रेभ. डा. प्रकाश मेघी गुरूङ ।
बाइबल पवित्र शास्त्रमा हितोपदेशको पुस्तक तेह्रको बाइस पदले भन्दछ– “असल मानिसले आफ्ना नाति– नातिनाहरूका निम्ति पैतृक–सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थोपरिन्छ ।” मलाई लाग्छ यस वचनले भौतिक सम्पत्तिको मात्र कुरा गरिराखेको छैन । यसले सन्ततिहरूको लागि छोडिने एउटा ब्रान्ड नाम जो निकै नै मुल्यवान त्यस कृतिलाई पनि इंगित गराउँदछ । हामीले समुदाय र राष्ट्रमा असल काम गरेर एउटा राम्रो छाप छोडेर जानुपर्दछ र खराब काम वा दुष्टताको काम गरेर आफ्नो सन्ततिको लागि कालो वा नराम्रो दाग अर्थात छाप छोडेर जानुहुँदैन । राम्रो काम गरी सकरात्मक छाप छोड्न सकिएमा भविष्यमा यसले अर्का पुस्तालाई पनि तपाईंको नामले चिनाउन सहयोग पुग्न सक्नेछ । उनीहरू आशिषित हुनेछन् तर काम नराम्रो गरेर भावी सन्ततिलाई त्यसको बाबु बाजे यस्तो खत्तम थिए र यस्ताका सन्तान भनि मानिसहरूले चिन्नेछन् । यसरी सुमुदायमा नराम्रो छाप पर्न जान्छ ।
बाइबलमा असल छाप छोडेको व्यक्तिहरूलाई आज हजारौं वर्ष पछि पनि उदाहरणको रुपमा लिइने गरिएको छ । हाबिलको आज्ञाकारिताको कारण उनको सकारात्मक उदाहरणको रुपमा आज पनि प्रचार गरिन्छ । त्यसैगरी एक भाई हत्यारा र खराब कुरा परमेश्वरलाई चढाउनेको रुपमा कयिनको पनि उदाहरण त लिइन्छ । नुहको नाम पनि प्रसिद्ध छ । अब्राहाम पनि विश्वासको कार्यमा लागेको कारण विश्वासको पिता भनि चिन्दछौं अनि हामी ख्रीष्टियनहरूले पनि परमेश्वरमा विश्वास गरेको कारण अब्राहामका सन्तान हौं भनि नाम जोड्दछौं ।
हाम्रो समाजमा कोहीले राम्रो काम गरेको छ भने साइनो केलाएर, नाता लगाएर उहाँ त मेरो नातेदार वा चिनजानको मान्छे हो भनेर भन्ने गर्छौं । हामी भन्न खोज्दछौं, त्यस्ताहरूलाई रफेरेन्सको रुपमा लिदछौं । त्यसकारणले पनि हामी यो संसारमा रहुन्जेलसम्म जहिल्यै पनि असल काम गरेर छोडनुपर्छ । मानिस लोभ र लालसा तथा अनेक तिकडम गरेर आफ्नो कामलाई माथि बढाउन चाहन्छ तर बदनाम भएर सम्पत्ति कमाउने, घमण्डी बन्ने यस्तो कार्यले असल छाप छोड्दैन । असल छाप छोड्नलाई बलिदानपूर्ण जीवज जिएर उदारहरणीय काम गर्नुपर्छ । याकुबले इस्राएल नाम पाउनको लागि रातभर स्वर्गदूतसँग कुस्ती खेलेको हामीले देख्दछौं । जो मानिस मेहनत गर्दछ, उसले आफ्नो बंशलाई राम्रो छाप छोड्दछ । योसेफ पनि एउटा उदाहरण हुन्, तिनले पनि विश्वासका साथ काम गरेको कारण उनी निकै उच्च ओहोदामा पुगेको हामीले देखेका छौं । मान, इज्जत कमाउन र प्रतिष्ठा कमाउनको लागि परिश्रम गर्नुपर्छ, यस्तो कुरा कतै खोजेर आर्जन गरिने थोक होइन । मानिसले आदर सम्मान खोज्दछ तर त्यो पाउनलाई उसको व्यवहार र उसको काम कस्तो छ भनि उ स्वयम आफैले मुल्याङ्कन गर्न जरुरी छ ।
नयाँ नियममा येशु, चेलाहरू र पावलको बारेमा सकारात्मक उदाहरण हेर्दछौं । हामी ख्रीष्टियनहरू अहिले नराम्रो उदाहरण दिनुपरेमा यहुदा इस्करियोत नबनौं है भनेर भन्दछौं । उसको उदाहरण दिनुको कारण उसमा खराब छाप र लोभ थियो । मानिस एक दिन मरेर जानु पर्छ । केही नलगी जानुपर्दछ । हामी ख्रीष्टको नाममा भ्रष्ट्राचार गर्दछौं, ख्रीष्टको नाममा हामी आफ्नो फाइदाको लागि माग्दछौं र पाप गर्दछौं । ख्रीष्टको नाम लिएर बदनामी हुन्छौं र सन्तानलाई समेत नराम्रो नाम दिएर जान्छौं । यस बारेमा हामीले गम्भीर भएर सोच्नु जरुरी छ ।
अमेरिकामा धेरै काला रंगका दाजुभाइहरू छन् र उनीहरूले समाजमा यस्तो छाप छोडेका छन् कि कतै केही चोरी भइहाल्यो भने पहिला काला जातिहरूमाझ खोज तलासी गरिन्छ । गैह्र कालाहरूले उनीहरूमाथि आशंका गर्छन् । यहाँ कति मानिसहरू उनीहरूलाई देखेर पनि डराउँछन् । यसको मतलव सबै काला जातिका मानिसहरू खराब छैनन् । यो देशले काला नेताहरू अब्राहाम लिंकन, मार्टिन लुथर, ओबामा जस्ता व्यक्तिहरू पनि पाएको छ । उनीहरूमा असल–असल मानिसहरू छन् तर पनि उनीहरूका पुर्खाहरूले नराम्रो काम गरेका कारण उनीहरूलाई दोष लगाउँछन् । कतै पसलमा तोडफोड भएमा कालेहरूले गरे होलान् भनिन्छ । त्यसैले हामी सबैले संसार छोड्नु भन्दा अघि नै असल छाप छोड्न जरुरी छ ।
यो जीवनमा संसारिक धन, सम्पत्ति र ज्ञान आर्जन गरिएला तर राम्रो छाप छोड्न सकिएन भने त्यसको के लाभ हुन्छ र ? मर्दाखेरी असल र धर्मी मानिस मर्यो भनेर मानिसहरूले भनेर भन्न सकोस् । बाइबलमा पुरानो र नयाँ नियममा असल छाप छोडेका कति धेरै व्यक्तिहरू हामी देख्दछौं । नेपालमा पृथ्वी नारायण शाहले देशलाई एकिकरण गरेर असल छाप छोडेका छन् । संसारमा जोन क्यालभिन, अब्राहाम लिंकन, महात्मा गान्धी आदिले असल छाप छोडेर गए । धेरै सम्पत्ति जोड्नु भन्दा असल बाटोमा छोराछोरी हिडाउनु जरुरी छ । सम्पत्ति जति कमाए पनि खराब सन्तानले त्यो सबै सकिदिन्छ र राम्रो सन्तान छन् भने आफै कमाउँछन् । तसर्थ लोभ लालसाले कमाएको सम्पत्तिको केही अर्थ हुँदैन । तपाईंको असली कमाई असल भनेको बाटो र धार्मिकताको बाटोमा हिडनु हो । तसर्थ भविष्यको सन्तानलाई असल छाप छोडनु जरुरी छ । हामी सबै दुर्गन्धित होइन तर नमुनाको व्यक्ति बन्न जरुरी छ । हाम्रो जीवनचाहिँ बाइबलको ६७औं पुस्तक हो र बन्नुपर्छ ताकि मानिसले हामीलाई पढ्न सक्छन्, तसर्थ असल छाप छोडौं ।
शानोन एल. एल्डर भन्ने एक जना मानिसले भनेका छन्, “तपाईंको नाम चिहानमा होइन, मानिसको हृदयमा खोप्नु होस् । विरासतचाहिँ तपाईंका कथाहरूमा बाँडिने बार र अरुको हृदयमा खोपिएको हुन्छ ।” साँच्चै आज तपाईं र मैले एक उदाहरणीय जीवन जिएर मानिसको हृदयमा हाम्रो नाम खोप्ने गरौं र हाम्रा असल कथाहरू पुस्तादेखि पुस्तासम्म भनिऊन् । परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस् ।
(रेभ. डा. प्रकाश मेघी गुरूङ, अमेरिकाको मेरील्याण्डस्थित हिमालयन बप्तिस चर्चको पास्टरको रुपमा सेवारत हुनुहुन्छ ।)
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४