२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समय नै प्रणयको

दिनेश श्रेष्ठ ।

आज फेब्रुअरी चौध तारिख भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस, सबैको आआफ्नो योजना बन्दैछ होला । कतिपय युवायुवतीहरू आफ्नो प्रणय दिवस कसरी विशेष बनाउने, कसरी आफूलाई मन परेको मान्छेलाई प्रपोज गर्ने भनेर योजना बनाउँदै होलान् । हुन त जुनसुकै कुरा राम्रो उद्देश्यले नै शुरु भएको हुन्छ तर त्यसमा विकृति ल्याउने त मानिसहरु नै हुन्छन् । आजको समयमा भ्यालेन्टाइन डे एउटा विकृतिको रुपमा परिचित छ । के माया गर्ने जोडीको लागि माया गर्न भ्यालेन्टाइन डे नै आउनु पर्छ त ? आजभोलि भ्यालेन्टाइन डे बढी यौन व्यभिचारको दिवसको रुपमा परिचित हुन थालेको छ, यस्तो विकृतिले हाम्रो समाजलाई कतातिर डोर्याउँदैछ ? यो सोचनीय विषय बनेको छ ।

यो सोचनीय विषय हुँदा हुँदै पनि हामीले बुझ्नु पर्ने कुरा चाहिँ के हो भने परमेश्वरले नै रच्नुभएको एउटा सुन्दर योजना हो, प्रणयमा बाँधिने । नेपाली समाजमा यहाँको रीतिस्थिति वा संस्कृति अनुसार जाडो मौसममा यस वर्ष पनि कतिपय युवाहरूको विवाह गर्ने समय आएको छ । विवाहका योग्य भएका कतिपय युवाहरू आफूले खोजे जस्तो जीवन साथीको खोजी गर्दैछन् भने कतिपय युवाहरू आफूले खोजे जस्तो जीवन साथी पाएर विवाहको तर्जुमा गर्दैछन् त कतिपय युवाहरू वैवाहिक बन्धनमा बाँधिएर दाम्पत्य जीवनको भविष्यका सुन्दर योजनाहरू बनाउँदैछन् किनकि यो समय नै प्रणयको हो । प्रणय भनेकै वैवाहिक प्रक्रिया मार्फत दुई ब्यक्ति एक हुने प्रक्रिया हो ।

पवित्र धर्मशास्त्र बाइबलमा पनि यसरी लेखिएको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एक्लो रहन असल छैन । म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु”, उत्पत्ति २ः१८ । मानिसले आफ्नो काममा साझेदारी गर्ने पार्टनर सबै काममा सहकार्य गर्न पाउँछ होला तर जीवनको हरेक मोडमा भोग्ने सुख दुःखका पलमा साथ दिने जीवनसाथी अर्थात सहयोगी भने प्रणय अर्थात विवाह बन्धनमा बाँधिएपछि मात्र पाउन सक्छ ।

जब मानिस जन्मन्छ, त्यसपछि ऊ ठूलो हुँदैजान्छ अनि उसले परिवारमा र समाजमा पनि आफ्नो दायित्वको बोेध गर्न थाल्छ । यो हरेक मानिसमा लागू हुने अकाट्य एउटा नियम नै हो । मानिसको जीवनमा विशेष गरी बालक, यौवन र प्रौढ गरी तीन चरण पार गुर्न पर्ने हुन्छ । बालककाल सबैले त्यति संघर्ष गर्नु नपर्ने हुनसक्छ तर जब उ यौवनकालमा प्रबेश गर्छ । त्यसपछि उसले आफ्नो जीवनका लागि आवश्यक ज्ञान वा विद्या हासिल गरिसक्नु पर्ने हुन्छ साथसाथै आफ्नो जीवन कतातिर डोर्याउने हो, त्यसको बाटो पहिल्याउनु पर्ने पनि हुन्छ अनि बाँकी पुरै जीवन बिताउनका लागि आवश्यक पर्ने सहयोगी अर्थात जीवन साथीको खोजी गर्नुपर्ने हुन्छ । त्यो खोजी पुरा गरिसकेपछि आफ्नो आर्थिक अवस्था हेरी उसले बैवाहिक बन्धनमा बाँधिनु पर्ने हुन्छ । वास्तबमा त्यस कार्यलाई नै प्रणय भन्ने गरिन्छ ।

हामीले सृष्टिको सुरुवातलाई हेर्यौं भने परमेश्वरले संसारका सबै थोक आफ्नो वचनबाट अर्थात मुखले बोलेर बनाउनुभयो तर मानिस जातिलाई आफ्ना हातले परिश्रम गरेर सुन्दर रचना अर्थात आफ्नै स्वरुप र प्रतिरुपमा बनाउनु भएको कुरा पवित्र धर्मशास्त्रबाट हामी थाहा गर्छौं । परमेश्वरको नजरमा पनि हामी बहुमुल्य छौं भन्ने कुरा थाहा गर्न सकिन्छ । परमेश्वरले बनाउनु भएको अन्य प्राणीको चेतना र मानिसको चेतनाको स्तरमा फरक छ । अनि अन्य प्राणी र मानिसमा धेरै भिन्नता छ किनकि परमेश्वरले मानिसलाई विशेष तरिकाले बनाउनु भएको छ । हामी मानिससँग आफ्नै पहिचान छ, आ–आफ्ना भाषा तथा भेषभुषा छ अनि आफ्नै रीतिस्थिति छ, त्यो भिन्न भिन्न ठाउँको फरक फरक नै किन नहोस् । साथसाथै प्रणयमा बाँधिने तरिका वा रीति पनि ठाउँ अनुसार फरक फरक छन् तर अन्य प्राणीमा त्यो संस्कार छैन । त्यसकारण यस संसारमा मानिस जाति अन्य प्राणी भन्दा धेरै भिन्न छ अर्थात परमेश्वरले मानिसलाई भिन्न किसिमले सृष्टि गर्नु भएको छ । मानिस जातिको बैवाहिक बन्धनमा बाँधिने संस्कार नै परमेश्वरले बनाउनु भएको हो ।

हुन त परमेश्वरले कुनै विशेष मौसमलाई नै विवाह बन्धनमा बाँधिने उत्तम समय हो भनेर भन्नुभएन तर मानिसको आवश्यकतालाई भने उहाँले बुझ्नु हुन्छ र उपयुक्त समय ठहर्याउनु हुन्छ । परमेश्वरले सधैंभरि नै मानिसको विवाहको उत्तम साइत जुराउनु भएको छ । यस कुरालाई बुझेर हामी हरेकलाई आफ्नो प्रणय वा बैवाहिक जीवन आशिषमय र अर्थपूर्ण रुपमा विताउन परमेश्वरले सहायता गरुन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...