डा. मंगलमान महर्जन, वरिष्ठ पास्टर, क्वाइनोनिया पाटन चर्च ललितपुर ।
मेरो जन्म र बाल्यकालः
मेरो जन्म ललितपुरको पाटनस्थित बैलक्षे कोवाहालमा भएको हो । म बुद्धिष्ट परिवारमा जन्में र हुर्कें । म ८ वर्षको हुँदा साथीहरूसँग खेलिरहेको बेलामा मलाई बुबाले पिठ्यूमा बोकेर मेरो जीवन संगिनी कोयूसँग विवाह गरिदिनु भएको थियो । मैले बुद्धिष्टको (पञ्चशिल) पाँचवटा नियमहरूको बारेमा सिकेको थिएँ र त्यसप्रति विश्वास पनि थियो । यस्तो शान्तिको र राम्रो शिक्षा अरु कुनै पनि धर्ममा छैन भनि म घमण्ड गर्थें । मेरो बुबा र आमाको जीवन संघर्षले भरिएको थियो । उहाँहरूले खेतमा दिनभरि खटेर पाएको खाजा आफूले थोरै खाई बचाएर हामीलाई ल्याइदिनुभएको खाजा हामी दुई भाइ एक दिदीको लागि दैनिक भोजन हुन्थ्यो । अर्काको घरमा जाँड बनाउँदा उब्रेर फालेको छोक्रालाई नून र खुर्सानीको बुट्टा लाएर हामी मिठो मानी खान्थ्यौं । तर पनि मेरो बुबा हार्नुभएन । बुबाले घर बनाउने र प्लास्टर लाउने काम सिक्नुभयो । उहाँ सोझो र इमान्दार हुनुहुन्थ्यो र राणाहरूले मन पराउँथ्यो । त्यसैले राणाहरूले यो सोझो छ, छलकपट गर्दैन भनि बुबालाई सस्तो दाममा जग्गा जमिन दिएको थियो । मैले पनि सात आठ वर्षदेखि नै बुबासँग काम सिकें । जाडो महिनामा त्यो काम साह्रै गाह्रो थियो । बाल्यकालको निद्रा र पर्याप्त लगाउने लुगा थिएन । टेलरिन कपडा सस्तो थियो, जाडोमा चिसो हुने अनि गर्मीमा पोल्ने र हावै नछिर्ने, त्यस्तो कपडा लगाउनु पर्दथ्यो । सिमेन्ट र बालुवाको काम गर्दा हात खुट्टा फुटेको र काटेको हिसाबै छैन । यसरी पानीझरी नभनि रुझेर काम गर्दा टोलका अरु बालकहरू सुकिलो बनि घरमै बसेर पढिरहेको देख्थें, त्यसबेला भने मन साह्रै दुख्थ्यो । त्यसपछि मलाई पढ्ने चाहना भयो । मैले बुबालाई भनें, “म स्कूल गएर पढ्छु ।” उहाँले भन्नुभयो, “तिम्रो दाईलाई सोध्नुपर्छ, तिमी चाहिँ पढ्ने र उ चाहिँ काम गर्ने भयो भने रिसाउन सक्छ ।” दाईलाई सोध्दा उहाँले मलाई स्कुल जान दिनुभयो । मैले लगनखेलको नमुना मछिन्द्रमा कक्षा ६ मा भर्ना भएर पढाई शुरु गरें । बुबा र मेरो बिचमा एउटा मौन सहमति थियो, जाडोको बिदामा घर निर्माणको काममा बुबालाई सघाएर दैनिक ज्यालाबाट जुत्ता कपडाहरू र वर्षभरिको स्कूल फिस र कापी, पुस्तकहरू किन्नु पर्ने । यो मौन सहमति एक वर्षको मात्र नभएर वर्षौसम्मको लागि थियो ।
किशोरवस्था र अध्ययनः
अध्ययनकै क्रममा जो हाल सहायक पास्टर भई सहकार्य गरिरहनुभएका प्रकाश सुब्बासँग मेरो भेट भयो र हामी घनिष्ट साथी भयौं । एस.एल.सीको समय आयो, प्रकाश सुब्बा र म एस.एल.सी तयारीको लागि एकै ठाउँमा बसेर पढ्ने भनि उनको घरमा बसेर पढ्न थाल्यौं । प्रकाश सुब्बाको बुबा भुपु सैनिक हुनुहुन्थ्यो । सैनिक क्वाटरमा उहाँहरूलाई बस्नको लागि सुबिधा थियो । त्यसै समयमा एक जना उहाँको साथी भुपु सैनिक रिटायर्ड एम.एस. राणा हुनुहुन्थ्यो । उहाँको पहिलादेखिकै इच्छा एस.एल.सी. गर्ने थियो । हामीसँग एस.एल.सीको तयारीका लागि पढ्न शुरु गर्नुभयो । उहाँ विश्वासी हुनुहुन्थ्यो, म र प्रकाश सुब्बालाई परमेश्वरको बारेमा सुनाउनुभयो । एस.एल.सी तयारीको समयमा जहिले पनि येशुको बारेमा बताइहाल्नुहुन्थ्यो । त्यो समयमा नेपालको काठमाडौं उपत्यकाभित्रको कुरा गर्दा नेपालमा मण्डलीहरू काठमाडौंको ज्ञानेश्वर, पुतली सडक वेथशालोम र भक्तपुरको इम्मानुएल मात्र थियो र उहाँ चाहिँ ज्ञानेश्वरको मण्डलीमा जानुहुन्थ्यो । उहाँले सैनिक जीवनमा नै परमेश्वरलाई पाउनुभएको थियो । एस.एल.सी. तीनै जनाले दियौं । प्रकाश र मचाहिँ पास भयौं, तर उहाँ चाहिँ फेल हुनुभयो । फेल भएर पनि उहाँ कहिल्यै निरास र दुःखी हुनुभएन । उहाँको उद्देश्य हामी दुबैलाई परमेश्वरमा डोर्याउनु थियो । एम.एस.राणा दाजुले घरेलु संगति छ भनेर एनएलटी नेपाल लेप्रोसी ट्रष्टमा लग्नुभयो । मलाई त्यहाँको अगुवाले सोध्नुभयो, “परमेश्वरलाई ग्रहण गरेको छ ?” मैले भने, “गरेको छैन ।” मलाई लाग्थ्यो, “मलाई यो चाहिँने कुरा होइन, उहाँहरूले जे भनेपनि म यो येशु भन्नेलाई पछ्याउने मान्छे होइन नै ।” म मेरै धर्ममा अडिग थिएँ ।
युवावस्थामा येशुलाई ग्रहण गरेपछिः
१९७४ सालतिर ज्ञानेश्वर मण्डलीमा आइतबारका दिनमा संगति हुने गर्दथ्यो । एम.एस राणा दाजुले मलाई त्यस संगतिमा लग्नुभयो । मण्डलीको भित्तामा एउटा बोर्डमा लेखिएको थियो, “बाटो, सत्य र जीवन म नै हुँ ।” यो देखेर मलाई लाग्यो, “यो मानिस को होला, आफूले आफैलाई मै हुँ भन्ने र प्रशंसा गर्ने ?” तर मलाई त्यहाँ गाएको गीत र भजनहरू राम्रो लाग्यो । यो येशु भन्ने व्यक्ति कस्तो रहेछ पत्ता लगाउनु पर्यो भनेर मैले एउटा नयाँ करारको बाइबल र भजन किनें । म फुर्सदको समयमा मात्र बाइबल पढ्थें । एकदिन बाइबल पल्टाएर पढ्दैथिएँ, त्यसै समयमा मैले ज्ञानेश्वर मण्डलीमा देखेको पद भेटाएँ, जुन युहन्ना १४ः६ मा पाएँ, मेरो मन छोयो र मलाई खुल्दुली लाग्यो । त्यसलाई फेरि पनि दोहोर्याएर पढ्न मन लाग्यो, र पढें । मैले जानें कि, “येशु नै स्वर्ग जाने बाटो, सत्य र मरेपछि पनि जीवन उहाँमा नै रहेछ ।” उहाँमा विश्वास लाग्यो । येशु पापी मानिसहरूको लागि यस पुथ्वीमा आउनु भएको र उहाँमाथि विश्वास गरेमा सबै पाप क्षमा हुन्छ भन्ने कुराहरू जानें । येशु ख्रीष्ट नै बाटो, सत्य र जीवन हुनुहुँदोरहेछ भनि मैले बुझें । उहाँमा मात्र पाप क्षमा, मुक्ति र उद्धार छ भनि जानेपछि मैले परमेश्वरलाई भनें, “प्रभु, म के गरुँ तपाईं नै सबथोक हुनुहुँदो रहेछ । तपाईंलाई म पछ्याउन चाहन्छु ।” मलाई लागेको थियो, “अरु धर्ममा जस्तो परमेश्वरलाई ग्रहण गर्दाखेरि केहि रितिथिति अनुसार विधि पुर्याएर बलिहरू चढाई मान्नुपर्छ होला ।” मैले एम.एस राणा दाजुलाई सोधें, “मैले येशुलाई मान्नको लागि के गर्नुपर्छ ?” उहाँले भन्नुभयो, “परमेश्वरलाई ग्रहण गर्नुपर्छ ।” मैले त्यसै समयमा “मेरो प्रभु र मुक्तिदाता” भनि व्यक्तिगत रुपमा ग्रहण गरें । त्यसपछि मैले फेरि सोधें, “अब चाहिँ के गर्नुपर्छ ?” उहाँले थप्नुभयो, “अब गर्ने नै हो भने, बप्तिस्मा लिनुपर्छ । बप्तिस्मा भनेको पिता र पुत्र र पवित्र आत्माको नाउँमा पानीमा डुब्नु हो ।” तर त्यो समयमा बप्तिस्मा लिन पाइदैनथ्यो । नेपालको संविधानमा नै लेखेको थियो, “बप्तिस्मा लिनेले १ वर्षको जेल सजाय पाउँदथ्यो । थाहा पाउनासाथ पुलिसले पक्रिन्थ्यो तर भारतमा गएर बप्तिस्मा लियो भने चाहिँ केही पनि गर्दैनथ्यो र धेरैले भारतमा गएर बप्तिस्मा लिन्थे । यी सबै कानुनका कुराहरू पनि उहाँले बुझाउनुभयो ।
२०३१ सालको कुरा हो, अहिले जस्तो हाकाहाकी म ख्रीष्टियन भएँ भनि घोषणा गर्ने माहौल थिएन । कलेजमा विज्ञान विषय लिएर पढिरहेको बेला अचानक घर परिवारबाट पो निकाल्ने होकि भन्ने पनि डर लाग्यो । मेरी श्रीमती कोयू मेरो खुट्टामा ढोग्नु नपाउँदा रोइन् पनि । मैले उनलाई बाइबलका कुराहरू भनेर सम्झाएँ, उनले येशुको कुरालाई स्वीकार गरिन् । एक दिन बाइबल पल्टाएर पढ्ने क्रममा लुका १२ अध्यायको २२ देखि ३४ पदमा लेखिएको कुराले मन छोयो, “आफ्नो प्राणको निम्ति के खाऔं र शरीरको निम्ति के पहिरौं भनि चिन्तित नहोओ, कागलाई हेर, चराचुरुङ्गीलाई हेर र लिली फूललाई हेर ।” प्रभु मसँग त्यो पदद्वारा भएर बोल्नु भएको थियो । मैले बप्तिस्मा लिने निर्णय गरें ।
त्यसपछि पास्टर रोवर्ट कार्थकले ७ हप्तासम्म बप्तिस्माको कक्षा दिनुभयो । उहाँले हामीहरूलाई सोध्नुभयो, “यदि तपाईंहरू मध्येमा कोही पनि बप्तिस्मा लिनको लागि तयारी हुनुहुन्न भने यसलाई सार्न पनि सकिन्छ ।” हामीहरू जम्मा १२ जना थियौं । हामीहरू सबै जना तयार थियौं । हामीबाट सकारात्मक प्रतिक्रिया पाएपछि सन् १९७५ मा पिता, पुत्र र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा पास्टर रोवर्ट कार्थक बुबाले दिनुभयो । त्यसपछि म भारतको रक्सोलमा १ महिनाको बाइबल तालिमको लागि गएँ ।
मैले बप्तिस्मा लिएको कुरा मेरो परिवारलाई थाहा थिएन । हाम्रो नेवारहरूको चार परिवारको सानो गुठी थियो । त्यसलाई देवाली (घरको देवता) भन्छन् । त्यहाँ सबै जना भेला भएर पुजा गर्ने र खाने गर्दथ्यो । त्यो समय आयो र म पनि उपस्थित भएँ तर मैले पूजा गरिन र प्रसाद र खाना पनि खाइन । बुबालाई सबैले एउटा छोरोलाई पनि तह लगाउन नसक्ने यस्तो हो भने हामी यसरी सँगै बसेर पूजापाठ गरी भोज गर्न सक्दैनौं ।” मेरो बुबालाई अप्ठ्यारो भयो । पाटनको ठूलो इलाकामा एकचोटी म मात्र एक्लो ख्रीष्टियन थिएँ । बुबाले पनि घरमा आएर निर्णय गर्नुभयो र उहाँले मेरै पक्षमा भएर बोल्नुभयो, र भन्नुभयो, “यदि अप्ठ्यारो हुन्छ भने हामी अबदेखि आउँदैनौं नि त, अब छोरो ख्रीष्टियन भएको छ ।” भनि उहाँहरूलाई भन्नुभयो । अर्को ठूलो गुठी पनि थियो । त्यहाँ पनि केही महिनासम्म बुबा जानुभयो र त्यो समयको १० हजार रुपैयाँ दिएर, “तपाईंहरूलाई पनि अप्ठ्यारो हुन्छ भने हामी आउँदैनौं र केही परेको खण्डमा सहयोग गर्नेछौं ” भन्नुभयो । मेरो बुबाले मेरो पक्षमा भएर बोलिदिनु पनि मेरो लागि धेरै आशिषको कुरा थियो । त्यो परमेश्वरको मप्रतिको अनुग्रह थियो, किनकि मेरो बुबाले परमेश्वरलाई विश्वासै गर्नुभएको थिएन । मेरो परिवार, आफन्त र छरछिमेकीको लागि निरन्तर प्रार्थना गरिरहें । बिस्तारै मेरो दाई–भाउजुले परमेश्वरमा विश्वास गर्नुभयो । त्यसपछि बुबा–आमाले र छर–छिमेकीहरू र आफन्तहरूले पनि परमेश्वरलाई विश्वास गर्नुभयो । अहिले उहाँहरू कोहि अगुवा, एल्डर र डिकन हुनुभएको छ ।
बोलावटको सेवकाइमाः
१९७६ मा बि.ए.सी. पढ्दै नेपाल क्याम्पस क्रुसेडमा भोलिन्टिरस्को रुपमा काम गरें । त्यसपछि १९७८ मा ६ महिना ब्याङ्गलोरमा तालिम लिन गएँ, पछि १९८१ सम्म काम गरें । १९८१ मा क्याम्पस क्रुसेडकै मातहतमा एम.टि.एच गर्न फिलिपिन्समा गएँ । १९८४ मा फर्केपछि एक वर्ष क्याम्पस क्रुसेडमा नै सेवकाइ गरें । त्यसपछि १९८५ मा पास्टर रोवर्ट कार्थक बुबाले मलाई पास्टर अभिषेक गरिदिनुभयो र पाटन मण्डली शुरु भयो । परमेश्वरले मलाई पास्टरीय सेवकाइको लागि बोलाउनु भएको रहेछ । जुन सेवकाइ परमेश्वरको असिम कृपामा बढेर जाँदै थियो, त्यहि समयमा जीवनको गोरेटोमा मलाई सेवकाइमा साथ दिने तर कतिपय रोगले ग्रस्त मेरी जीवनसंगिनी कोयूले हामीलाई छाडेर सदाको निम्ति गइन् । मेरो जीवनको एक खपिनसक्नुको चोट मैले अनुभव गर्नुपर्यो । जब मण्डलीको भार र अभिभारा बढेको समयमा म एक्लो बनें । पछि परमेश्वरको असिम कृपामा मित्रहरूको सल्लाह, सुझाव र निर्देशनमा मैले जीवन यात्राको साथीको रुपमा मरियम प्रधानलाई पाएँ र विवाह गरें । दार्जिलिङ्गको मिरिक बाइबल स्कूलमा धेरै वर्ष कार्यरत मरियम मेरो निम्ति सेवकाइको असल सहयोगी पनि बनेकी छिन् ।
वर्तमान र भविष्यमाः
परमेश्वरले मलाई जुन दान वरदान दिनुभयो । त्यसलाई अहिलेसम्म चलाइरहेको छु र धेरै भन्दा धेरै आशिषहरू दिइरहनु भएको छ । अहिले शाखा मण्डलीहरू बढ्दै गएपछि हामीले एउटा परिषद बनाएका छौं । त्यो चाहिँ शाखा मण्डलीहरूको पनि कमिटीहरूको छुट्टै संगति क्वाइनोनियाको परिषद हो । मण्डली स्थापना गरेको अहिले ३४ वर्ष भयो । यो ३४ वर्षमा १०० वटा भन्दा बढी मण्डलीहरू स्थापना भइसकेका छन् । आगामी सन् २०२० सम्ममा ५०० वटा मण्डली स्थापना गर्ने भनि हामीले चुनौती दिएका छौं र लागि परिरहेका छौं । अर्को हाम्रो मण्डलीमा बृद्धबृद्धाका लागि बृद्धा आश्रम छ । त्यो बृद्धाआश्रमको भवन पनि अचम्म तरिकाले परमेश्वरबाट जुटेको हो । अहिले यस मण्डलीबाट ३ महिनामा १ पटक CLEAN भन्छौं, लिडरसिपको तालिम दिन्छौं । दिन दिनै मण्डलीको बृद्धि भइरहेको छ । यो नै मेरो लागि परमेश्वरको आशिष र उहाँको बोलावटको उद्देश्य भनि जानेको छु । आज नेपालकै एउटा ठूलो मण्डली क्वाइनोनियाको मूुल पास्टरको हैसियतले देश र देश बाहिर हजारौंको सेवा गर्ने सौभाग्य मलाई मिलेको छ । मैले धेरै सम्मेलनहरूलाई सम्बोधन गर्ने मौका पाएको छु । टेलिभिजन र रेडियो मार्फत सन्देश दिन पाएको छु । करिब २० वटा जति पुस्तक लेखिसकेको छु । म पास्टर भएर यसरी सेवकाइ गर्छु भनेर सोच्दै नसोचेको कुरा मेरो लागि एकदमै आशिषको कुरा भएको छ । अहिले पनि मेरो सबै समय उहाँकै सेवामा छु । उहाँले मलाई शान्ति, आनन्दको नयाँ र अनन्तको जीवन दिनु भएको छ । अन्तमा मैले निश्चय गरेको छु कि म बाँचुञ्जेलसम्म नै परमेश्वरको सेवामा लागि रहनेछु ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४