कृष्ण पन्त ।
नेपालमा धेरै चाडपर्वहरू मनाइन्छ, ती सबै चाडपर्वहरूलाई जबरजस्ती हिन्दु धर्मको लेप लगाइएको पाइन्छ । अनि ती सबै धर्मकार्यमा हिंसा जोडिएको हुन्छ र थुप्रै काटमार हुन्छ । यी घटनाहरूको सुरुवात कसरी भयो भनेर खोज्दै गयौं भने त्यो राजनीतिक युद्धका घटनाबाट नै सृजना भएको हुन्छ ।
सन्दर्भ, जापानको दोश्रो विश्वयुद्ध अगाडि त्यहाँका नागरिकहरूले घरमा राजा हिरोहितोको तस्विर राखेर पूजा गर्नु पथ्र्यो । यदि कसैले त्यसको अपमान गरेमा दण्ड स्वरूप कडा यातना पाउँथ्यो । जब दोश्रो विश्वयुद्धमा अमेरिकाले जापानमा बम खसाल्यो र जापान नाश हुन लाग्यो, तब सबै घटनाको दोष आफूले लिएर जापानी नागरिक, सेना र जापान देशलाई मुक्त गर्न राजा हिरोहितोले नैतिक जिम्मेवारी लिएर आफूलाई समर्पण गरे ।
आज जापानको उन्नति र प्रगतिलाई हेरौं, किन यति धेरै विकास भएको छ ? के जापानीहरू अमेरिकाको विरुद्धमा पछि लागेर विरोध गरिरहेका छन् ? हाम्रो देशको अहिलेको समस्या के हो ? हामी कसैको अधिनमा बस्न चाहदैनौं । हामीमा नैतिक चरित्र भन्ने नै छैन । १ पत्रुस २ः१३–१६ प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्यो सर्वोच्च राजाको होस् बडा हाकिमहरूको होस्, जो दुष्ट काम गर्नेहरूलाई दण्ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्छन् । किनकि परमेश्वरको इच्छा यही छ, कि असल गरेर नै तिनीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनुपर्छ । स्वतन्त्र मानिसहरू झैँ जीवन बिताओ । स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्वरका दासहरू झैँ भएर चल ।
हाम्रो विरोधीहरू को हुन सक्छन् ? कोही हाम्रो विरोधी हुँदैनन्, सबै मित्र नै हुन् । तर हाम्रो व्यवहारले शत्रु र मित्रु बनाउने हो । धूर्तहरूलाई विरोध गरिरहनुपर्दैन, चिनेर वास्ता नगरी सम्पर्क विहिन भई बसे पुग्छ । यदि आफ्नो गल्ती छ भने, त्यसलाई महशुस मात्र गरेर हुँदैन, स्वीकार गरेर पश्चात्ताप सहित क्षमा माग्नुपर्छ । यसले सानो बनाउँदैन । जापानको राजा हिरोहितोले अमेरिकी सेनापति जेनेरल माकासा सामु त्यही गरे । जसले गर्दा देश बच्यो, नागरिकहरूले मुक्ति पाए । हारेर सानो भइन्न, सभ्य भइन्छ । अरूलाई मान सम्मान दिनाले नै आफूले पनि मान सम्मान पाउँछ । त्यसै दोसल्ला ओढ्न खोजेर मात्र पाइन्न । विरोध र युद्धले देशको विकास होइन, विनास हुन्छ ।
हामीले थाहा गर्नुपर्ने कुरा भनेको, देश विकास राजनीतिले मात्र हुँदैन । त्यहाँको संस्कृति, जाति, भाषा, श्रोत साधन, शिक्षा, धार्मिकता, समाज र नागरिकहरूको सहमतिले बन्छ । राजनीतिले तिनीहरूलाई प्रयोग गर्ने मात्र हो । ख्रीष्टियनहरू पनि देशको एउटा अंश हुन्, विकास निर्माणमा प्रस्तुत हुने शैली फरक होला, तर देश विकासमा दायित्व बहन गर्नुपर्छ ।
ख्रीष्टियनहरू कोही सर्वोच्च परमेश्वरको मात्र कुरा गर्छन् र संसारको कुरालाई महत्त्व दिंदैनन् भने कोही त्यही संसारको शासन व्यवस्थामा पनि चासो राख्दै परमेश्वरको भन्दा संसारको मानिसहरूलाई सेवा गरेर परमेश्वरको नाउँमा शासन व्यवस्थामा पनि पहुँच हुनुपर्छ भन्छन् । येशूले हेरोदको भाग खोज्नुभएको थियो र ? यी दुई बाटोमा म कुन बाटोमा हिँडेको छु ? पहिचान गरौं, विचार गरौं, कुन बाटो सही हो ? फराकिलो बाटोमा अलमल हुन सक्छ, साँघुरो बाटो अप्ठ्यारो भएता पनि गन्तव्यमा पुर्याउने हुन्छ ।
पृथ्वी नारायण शाहले टुक्रे राज्यहरूलाई एकिकरण गर्दै नेपाल देश बनाउन दर्शन देखेर अभियान चलाएको साँचो हो । भला त्यसलाई पछिल्ला पुस्ताले पूरा गरे । नेपालमा १०४ वर्षसम्म राणाहरूले जहानीया शासन चलाएका हुन् । २००७ सालमा राजा र प्रजा मिलेर राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेका हुन् । २०१७ सालमा बहुदल अफाप सिद्ध भयो भनी राजा महेन्द्रले निर्दलिय पञ्चायती व्यवस्था सहितको हिन्दु राज्य स्थापना गरेका हुन् । २०४६ सालमा फेरि पञ्चायत निरंकुश भयो भनी संसदीय व्यवस्थाको स्थापना भयो । २०६३ सालमा राजतन्त्रको अन्त्य गरी जनताको छोरा नै राज्यको प्रमुख हुने गणतन्त्रको स्थापना भएको कुरा इतिहास साक्षी छ । यी समयमा भएका सबै गतिविधिहरूको बारेमा हामी ख्रीष्टियनहरू अनभिज्ञ रहनुपर्छ भन्ने मान्यता मेरो पनि होइन । तर यी समयमा राजनितिज्ञहरू र राजाहरूको काम कारवाही र आन्दोलनहरूलाई नियाल्दा भए गरेका अन्यायपूर्ण कार्यहरू र हत्या हिंसामा हामी समाहित हुन सक्दैनौं । किनकि हामी मार्न र नाश पार्न आउनेको सन्तान होइनौं, प्रशस्त जीवन दिन आउनेका सन्तान हुन अलग गरिएका जातिहरू हौं । एउटालाई न्याय दिन अर्कोमाथि अन्याय गर्नुपर्छ भन्ने हाम्रो मूल्य मान्यता होइन । विना परिश्रम भाग खोज्ने पनि हाम्रो चरित्र भित्र पर्दैन । हामीले पाएको वचनको शिक्षा भनेको दिएर खाने हो । खराबीलाई भलाइले जित्ने हो ।
भजनसंग्रह ७२ः राज्यमा कार्यकारी अधिकार भएको राजाको निम्ति प्रार्थना गर्ने बारेमा छ । राजाको काम भनेको आफ्ना मानिसहरूलाई धार्मिकतामा न्यायपूर्ण सुशासन चलाएको अनुभूति गराउने र राज्य बचाउने हो । यस्तो राजालाई सबैले मान्छन् । राजा भनेको सबैको साझा हुनुपर्छ । सम्प्रदाय विशेषको भएमा जनताले त्यसलाई मान्दैनन् र हटाइदिन्छन् । कर्म भए बर्मा पुगिन्छ, भन्ने नेपाली उखानबाट कुनै बेला बर्मामा अति उत्कृष्ट नमुनाको शासन व्यवस्था भएको अनुमान लगाउन सक्छौं । मानिसहरूको चाहना असल शासन व्यवस्था भएको राज्य स्थापनाको हो । न कि यो कि त्यो नाम मात्र बदलेको शासन व्यवस्थाको हो । १९६० अगाडि प्रतिव्यक्ति आय अमेरिकी डलरमा दक्षिण कोरियालीहरूको १७० र उत्तर कोरियालीहरूको ७२० थियो । उत्तर कोरियामा आन्तरिक झगडा भएका कारण १९६१ मा जनरल पार्क जोन हिमको नेतृत्वमा सैनिक शासन लागू भयो । पार्क जोन हिम पछि चन्दुहान सैनिक जनरल भए । उनले गरेको भ्रष्टाचारको कारण जेल परे । त्यसपछि रो ते हु राष्ट्र प्रमुख भए । त्यसपछि किम यो∙ स∙ राष्ट्र प्रमुख भए । यस समयमा किम यो∙ स∙का छोराले बाबुको अधिकारको दुरुपयोग गरेकाले जेल परेका छन् । त्यहाँ राष्ट्र प्रमुख र उनका सन्तान पनि कानुनको दायरामा आएर जेल परेका छन् । यो सन्दर्भमा नेपालको कुरा नगरौं ????
हाल दक्षिण कोरियालीहरूको प्रतिव्यक्ति आय १०,००० अमेरिकी डलर भन्दा बढी छ भने उत्तर कोरियाको जहाँको त्यहीँ छ । हामीले यस्ता घटनाहरूको मुल्याङ्कन गर्नुपर्छ, चिन्तन मनन गर्नुपर्छ । देशको लागि हामी ख्रीष्टियन युवाहरूले के योगदान दिन सक्छौं ? हामी दिने परमेश्वरका दिने सन्तान हौं । प्रभु येशूले मानिसहरूको मुक्तिको लागि आफूलाई क्रूसमा बलिदानी हुन दिनुभयो । हामी दिने ख्रीष्टियनहरूले राज्यबाट कुन भाग लिने योजना गरेर अग्रसर हुँदैछौं ? हाम्रो दायित्व भनेको देशको शासन व्यवस्था बदल्ने होइन, मानिसहरूको दिमाग बदल्ने पनि होइन, मानिसहरूको हृदय बदल्ने र नयाँ जीवन दिने हो । खोजेर शान्ति आउँदैन, आफैले शान्तिलाई ग्रहण गरेर मात्र शान्ति पाउने हो । शान्तिदाताले भनेको यही होइन र ? म मेरो शान्ति तिमीहरूलाई दिन्छु (युहन्ना १४ः२७) । शान्ति परमेश्वरले दिइसक्नुभएको छ । हाम्रो काम आफूले लिने र अरूलाई पनि गवाही दिएर त्यो शान्ति लिन प्रेरित गर्ने हो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४