२०७६ माघ २१ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, गण्डकी प्रदेशको आयोजनामा आज (मंगलबार) अर्चलबोटस्थित पोखरा दर्शन मण्डलीमा विशेष भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल व्याप्टिष्ट चर्च काउन्सिलका अध्यक्ष रेभ.पास्टर के.पी. त्रिपाठीको प्रार्थनाबाट शुरू भएको कार्यक्रममा स्थानीय मण्डलीका । क्वायर झुण्डले आराधनामा अगुवाई गरेको थियो । महासंघका गण्डकी प्रदेश प्रमुख ओमराज परियारको सभापतित्व र प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष सि.बि. गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा ख्रीष्टियन समुदायको वर्तमान अवस्था र ख्रीष्टियन संघ संस्थाहरूको काम र उद्देश्यहरूमा देखिएका द्विविधा र अन्य विविध विषयमा सवाल जवाफ भएको थियो ।
पोखरेली इसाई समुदायका उपाध्यक्ष तथा नयाँ गाउँ चर्चका पास्टर रामप्रसाद शर्मा (लाजरस) लगायत उपस्थित मण्डली प्रतिनिधिहरूले के कति कारणले ख्रीष्टियन समुदायमा काम गरिरहेका संघ संस्थाहरू एकिकृत भएर काम गर्न नसकेको, एक भएर सरकारमा आवाज पुर्याउन के कुराले रोकेको हो ? जस्ता प्रश्नहरू भेलामा उठाएका थिए । भेलामा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष गहतराजले सर्वप्रथम महासंघ र अन्य संस्थाबिच उद्देश्यका आधारमा फरक छुट्याउन सबैलाई आग्रह गर्नुभयो भने सबै संघ संस्थाले आ-आफ्नोे उद्देश्यअनुरुप काम गर्ने हो भने हामीहरूबिच कुनै समस्या छैन भन्दै उहाँले महासंघ आफ्नो उद्देश्यमा स्पष्ट रहेको साथै आफ्नो काम, कर्तव्य र अधिकारको सवालमा दृढ रहेको बताउनुभयो ।
कार्यक्रममा महासंघका तर्फबाट सह-अध्यक्ष तथा ५ नं प्रदेश प्रमुख पास्टर टेक बहादुर हिताङ, उप महासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमोरिया, राष्ट्रिय ख्रीष्टियन महासंघ, नवलपरासीका अध्यक्ष पास्टर सुमन दर्लामी, राष्ट्रिय ख्रीष्टियन महासंघ, रुपन्देहीका सल्लाहकार पास्टर भारत जिसी, रुपन्देही ख्रीष्टियन कम्युनिटीका राजनीतिक विभाग संयोजक डिकन मेघराज घिमिरे, सचिव तथा प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्के लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा पोखरेली इसाई समाजका अध्यक्ष पास्टर हरि घिमिरेले परमेश्वरको बोलावट र वरदानका विषयमा परमेश्वरको वचनबाट बोल्नुभएको थियो । कार्यक्रममा पोखरासहित तनहुँ, स्याङ्जा, बाग्लुङ, लमजुङ, म्याग्दी र पर्वत जिल्लाका पास्टर, अगुवा तथा मण्डली प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
स्मरण रहोस् गत शनिबारका दिन रुपन्देही जिल्लाबाट शुरु भएको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको जिल्ला भेला त्यसपछि क्रमशः नवलपरासी, नवलपुर, चितवन, तनहुँ, गोरखा जिल्लामा पनि जिल्ला भेला सम्पन्न भएको थियो ।