पास्टर नोर्वु तामाङ, ओहायो, अमेरिका ।
शुरुमा भुटानी नेपालीहरू सन् २००८ बाट अमेरिका र अन्य मुलुकमा तेश्रो मुलुकको बसाइको क्रममा धमाधम हाम्रा मानिसहरू नेपालबाट बहिर्गमन हुन थाल्यो । सन् २००८ तिर अमेरिका आएर बसोबास गर्ने परिवारहरूको बालबच्चाहरूको जन्म हुँदा, त्यो बच्चा आजको मितिसम्ममा आउँदा १२ वर्ष उमेरका भइसकेका छन् । यी १५ वर्ष उमेर मुनिका ९० प्रतिशत नानीहरूले नेपाली भाषा राम्रोसँग बोल्न सक्दैनन्, नेपाली लेख्न र पढ्न त बिल्कुलै जान्दै जान्दैनन् । अहिलेका बुढापाकाहरू क्रमश: विस्तारै प्रभुमा सुत्नेछन्, अनुमान गरौं, अबको १५/२० वर्ष उता नेपाली भाषा बोल्ने भुटानी नेपालीहरू न्यून संख्यामा हुनेछन् ।
हामीसँग नेपाली भाषा नै नरहेपछि हाम्रो भुटानी नेपाली जाति रहदैन । हामीहरूको भुटानको नागरिकता गुम्यो, हामीसँग नेपाल देशको नागरिकता छैन, त्यसो हुँदा हामीले नेपाली भाषा र संस्कार नै गुमाउनेछौं । हामीले नेपाली भाषा र संस्कार मात्रै भएपनि जगेर्ना गर्न सक्नु पर्छ । हामीले भुटान देश त्याग्नु पर्नाको प्रमुख मर्म र पिडा के थियो भने हाम्रो नेपाली भाषा खोसिएको थियो । नेपाली पुस्तक पुस्तिकाहरू र पाठ्यक्रमहरू दक्षिणी जिल्लाहरूमा जलाएर आर्मीले आगो तापेका थिए । नेपाली शिक्षकहरू स्कूलबाट निष्काशित भएका थिए, हामी नेपाली भाषी भुटानीहरू बेरोजगार भएका थियौं । कांग्लुंग कलेजमा मेरो दौराको तुना च्याँतिदिएका थिए, मेरो शीरको ढाका टोपी खोसिएको थियो र भुइँमा कुल्ची मिल्ची पारिएको थियो । सालिन्ने मनाउने देवकोटा दिवस र भानु जयन्ती दिवसहरू मनाउन एक्कासी रोक लगाइएका थिए, हाम्रो संस्कार, भाषा, साहित्य, कविता, निबन्धहरू सबै स्खलन भए । हामीले त हाम्रो मातृ भाषा, साहित्य र संस्कार मात्र जोगाउन माग गरेका थियौं । हामीमा बडो देशद्रोहीको संज्ञाको तक्मा भिराइयो ।
हामीसँग नेपाली भाषा रहे हामी नेपाली जाति रहन्छौं । भाषा नै नरहे हाम्रो अस्तित्व कस्तो होला ? आजको यो संसारमा हामीलाई नेपाली भाषा किन महत्व छ त ?
मैले जीवनमा अन्त्रोपोलोजी र मानव समाजशास्त्र पढ्ने मौका पाएको छु । नेपालीहरूको बढ्दो डय्येस्पोरा विचार गर्दा, नेपाली भाषा Lingua Franca नै भइसकेको छ । हिमाली क्षेत्रको प्रमुख भाषा नै नेपाली भाषा हो । भुटानमा जोंग्खा सरकारी राष्ट्रिय भाषा भएतापनि धेरैजसोले नेपाली भाषा नबोली सुखै छैन । कुनै पनि देशमा बजारे भाषाको बडो महत्व हुन्छ । रोमी साम्राज्यमा रोमी सम्राटको शक्ति भनेको सैनिक सेनाहरू थिए, रोमी सरकारसँग सम्पत्ति थियो, कडा कानुन थियो, नियम थियो, अनुशासन थियो तर रोमीहरूको आफ्नै भाषा थिएन, धर्म थिएन, संस्कृति र संस्कार थिएन । तत्कालिन (ग्रीक) युनानीहरूको सैन्य शक्ति थिएन तर उनीहरूसँग धनी संस्कृति थियो, भाषा थियो अनि सभ्यता थियो । भनिन्छ, रोमीहरूले सैन्य बलको कारणले युद्ध जिते तर कालान्तरमा गएर भाषा र संस्कृतिको कारणले ग्रीकहरूले रोमीहरूलाई हराएर छाडे अनि पृथ्वीको धरातलबाट रोमीहरू निमिट्यान्न भए ।
अब हामीले नेपाली भाषा बचाउन के गर्ने होला त ?
१. घरमा सधै नेपाली भाषा बोलौं । जोंग्खा र सार्छोप नभुलेको राम्रो तर सिकेर हामीलाई काम पनि छैन अब, त्यो करिब ३ वा ४ लाख मान्छे मात्र बोल्ने भाषा हो । क्याम्पको स्कूलमा जोंग्खा भाषा सिकेको आज केहि काम लागेन । २. मण्डलीमा नेपाली भाषामा आराधना गरौं, नेपाली भाषामै प्रचार/प्रसार गरौं । ३. आफ्ना छोराछोरीहरूलाई युटुबमा नेपाली रायेमहरू लगाएर नेपाली भाषा सिकाऔं । ४. नेपाली भाषाका गीत भजनहरू गाउन नछोडौं । ५. नेपाली साहित्य, पुस्तक पुस्तिकाहरू पढ्ने बानी गरौं । ६. नेपाली भाषा सिक्ने सिकाउने स्कूलहरू शुरु गरौं । ७. मण्डलीहरूमा नेपाली भाषा सिक्ने सिकाउने क्लासहरू सञ्चालन गरौं ।
यस सन्दर्भमा हामीलाई के कुराको आवश्यकता छ त ?
हामीलाई नेपाली पठन पाठन गर्ने सामाग्रीहरू, नेपाली भाषा सिकाउने शिक्षक/शिक्षिकाहरू, साहित्यकारहरू, नेपाली लेखकहरू, नेपाली संस्कृति झल्कने बाद्यबादनहरू, अनि ठोस नेपाली सङ्गीत सिकाउने सङ्गीतकारहरूको अति नै आवश्यकता छ ।
यदि कसैले मलाई उपहार दिनुहुन्छ भने, झर्के थाल, लोहोटा, काँसको बटुका दिनुहोस्, दौरा सुरुवाल दिनुहोस्, मेरो छोरी वा श्रीमतीलाई चौबन्दी चोली र फरिया दिनुहोस्, मलाई महङ्गो गिटार होइन, मलाई सारङ्गी, झ्याम्टा, डम्फु, च्याम्ब्रुंग, बिनायो, मुर्चुगा, पन्चे बाजाको सेट दिनुहोस् ।
पृथ्वीमा मात्र होइन स्वर्गमा पनि प्रत्येक भाषाको महत्व छ, हेर्नुहोस्, प्रकाश ७ः९ । हाम्रो प्रभु येशुको सिंहासन अगाडि नेपाली भाषा, तामाङ भाषा, गुरुङ भाषा, लिम्बु भाषा, राई भाषा, शेर्पा भाषा, सबै भाषाको महत्व र गणना हुनेछ । हाम्रो मातृ भाषा नेपाली भाषा मास्नु हुन्न, जगेर्ना गर्नुपर्छ, नेपाली भाषा मासिएमा अमेरिकामा नेपाली मण्डली नै मासिने डर छ । अबको १०/१५ वर्ष पछि वर्तमानका धेरै नेपाली पास्टरहरू मण्डली विहिन हुनेछन् । हाम्रा सबै नानीहरू, जवान छोराछोरीहरू अंग्रेजी बोल्ने मण्डलीको सदस्य हुनेछन्, बुढा पास्टरहरू बेरोजगार हुनेछन् । अहिलेका युवा अगुवाहरूसँग लामो समयसम्म नेपाली मण्डलीमा सेवकाइ गर्ने दर्शन छ भने आज नै आफ्ना नानीहरूलाई नेपाली भाषा बोल्न र लेख्न सिकाउनुपर्छ । अंग्रेजीमा प्रचार गर्न हामी धेरै सक्दैनौं, सके पनि त्यति धेरै प्रभावकारी सेवकाइ होला जस्तो लाग्दैन । हाम्रा अघिल्ला वर्षहरूमा हाम्रा पुस्ताका सन्ततिहरूमा भाषा, संस्कार, संस्कृति र समग्रमा नेपालीपनकै खडेरी लाग्नेछ । आमा, मेरी आमा तिमीले मलाई दुःध चुसाउँदा बोल्न सिकाएका नेपाली भाषा अमेरिकामा छु भन्दैमा आज म कसरी भुलुँ ? यदि मैंले नेपाली भाषा भुलें भने आमाको दश धारा दुःधको अभिशाप लाग्नेछ । आमा म तपाईंलाई रुवाउन सक्दिन आमा, मेरी आमा ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४