पास्टर रमेश लामा, सिलगुडी, भारत । सारा संसारका राष्ट्रहरू आज आफ्ना युवापिढीको कसरी विकास गरौं, उनीहरूलाई देशको विकास कार्यमा कसरी सहभागिता गराऔं भन्ने जस्तो उन्नतिमूलक विचारहरू गरिरहेका छन् भने कतिपय विकासको गोरेटोमा अघि बढ्दै गरेका देशहरूले विभिन्न योजनाहरू आफ्ना युवापिढीको निम्ति लागू गरिरहेका छन् । अझ भारतले आफूलाई विश्वकै युवा देशको रुपमा गर्व गर्दछ । अनुसन्धानको रिपोट अनुसार यस वर्ष अर्थात सन् २०२० सम्ममा भारतमा युवाहरूको संख्या जम्मा जनसंख्याको ६५ प्रतिशत हुने सम्भावना छ । चाईना तथा जापानले पनि आफ्नो देशका युवाहरूमाथि पहिलेबाटै ध्यानदिएर आएको कारण नै देशले चाहेको जस्तो विकास गर्न सकिरहेको छ । वास्तवमा युवापिढी जहाँ विकास हुन पाउँछ, त्यो देश, राज्य, समाज र परिवार उन्नति र विकासको गोरेटोमा अघि बढ्दै जान्छ ।
मण्डलीको सम्बन्धमा पनि यो नियम लागू हुन जान्छ । आज जुन मण्डलीमा युवाहरूको वास्ता र असल देखरेख आत्मिक गुरुजनले पुरा गरिरहेको पाउँछौं, त्यस मण्डलीमा दोश्रो पुस्ताको अगुवा निर्माण गर्न कुनै कठिनाई पर्न जाँदैन । त्यति मात्र नभएर युवाहरू मण्डलीका उज्यालो ज्योति हुन् । युवाहरू मण्डलीको हरेक साना ठूला सबै थरिका कार्यहरूलाई पूरा गर्ने शक्ति हुन् तर यसको विपरित जुन मण्डलीमा युवाहरूको वेवास्ता गरिन्छ, विभिन्न चुनौतीहरूको सामना त्यस मण्डली तथा मण्डलीमा पास्टर तथा अग्रज अगुवाहरूले गर्नु परेको तितो अनुभव हामी धेरै जनासँग रहेको छ भन्दा भूल नहोला ।
यसैले युवाहरू हाम्रा मण्डलीका मूल्यवान धन हुन् । आज समयमा नै हामी अगुवा तथ गुरुजनहरूले आफ्नो मण्डलीका युवा धनलाई राम्रोसित वास्ता, प्रेम र उचित सहायता पुराऔं अनि परमेश्वरको वचनमा हिड्न सिकायौं भने भोलिका मण्डलीको साँचो धन युवापिढी मण्डलीको गर्व बन्न सक्छ अनि परमेश्वरले चाहनु भएको खण्डमा देशकै गर्व हुन सक्छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४