पास्टर आशिष खड्का । अहिलेको समयमा प्रायजसो मानिसहरूलाई चिन्ता र फिक्रीले सताइरहेको हुन्छ । पहिलो पत्रुस ५ः८, फिलिप्पी ४ः६ तथा येशुले पनि मत्ती ६ः२५–३४ पदसम्म डाँडाको उपदेशमा चिन्ता र फिक्रीको बारेमा बताउनुभएको छ । परमेश्वरले हामीलाई जीवन दिनुभएको छ, जुन जीवनमा हामी बाँचिरहेका छौ भने चिन्ता फिक्री गर्नु ब्यर्थ छ ।
परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो, हामीलाई बनाउनुभयो, हामीमा स्वास भर्नुभयो र जीवित बनाउनुभयो भने के उहाँले हामीलाई जीवित रहनको लागि चाहिने खानेकुराहरू प्रबन्ध गर्नु हुन्न र ? परमेश्वरबाट नै हामीले यो शरीर पाएका छौ भने यो ढाक्नलाई कपडाहरूको व्यवस्था गर्नुहुन्न र ? खानेकुरा, लत्ताकपडा भन्दा जीवन धेरै महत्वपूर्ण छ, जो परमेश्वरले हामीलाई दिनुभएको छ भने अवश्य पनि उहाँले हामीलाई चाहिने सबै कुरा जुटाइदिनु हुन्छ । जुन शरिर आज हामीसँग छ, यो शरीर नै परमेश्वरले बनाउनुभएको हो भने हामीले यसको निम्ति चिन्ता फिक्री गर्नु जस्तो मुर्ख कुरा अरु केही हुन सक्दैन ।
हामीले चिन्ता फिक्री गर्नु ब्यर्थ छ । कुनै खेती नगर्ने, काम नगर्ने चराचुरुङ्गीहरू बिहान सबेरै हामीलाई बिउँझाउन आउँछन तर हामी देख्दछौ कि तिनीहरूलाई केही कुराको अभाव छैन । लाग्छ, संसारमा तिनीहरू मात्र खुसी र सुखी छन् तर परमेश्वरले नै तिनीहरूका सबै आवश्यकताहरू पुरा गरी दिनुभएको छ ।
हामीले चिन्ता गरेर एक मिनेट पनि आयु थपघट गर्न सक्दैनौं । हामीले फिक्री गरेर हाम्रो अवस्थामा परिवर्तन गर्न सक्दैनौं । चिन्ता फिक्री नगर्नु भनेको योजना नबनाउने, कुनै कुरामा चासो नलिने, होशियारी नहुने भन्न खोजेको होइन तर बसेर योजना बनाउने, काम सम्पन्न गर्न लाग्ने सबै हिसाब किताब गर्ने र परमेश्वरमा भरोसा गरेर काम गर्न शुरु गर्ने हो । यदि कसैले एउटा भवन बनाउन इच्छा गर्दछ भने बसेर योजना बनाउँछ, लगानीको हिसाब गर्छ, सबै कुराको लेखाजोखा गरेर मात्र काम शुरु गर्दछ हैन भने उसको काम बीचैमा अलपत्र पर्छ ।
हाम्रो हरेक दिनको दैनिकी हुन्छ, जुन हामी योजना अनुसार नै पुरा गरिरहेका हुन्छौं । भोलिको लागि चिन्तित भएर, टाउको दुखाएर केही फाइदा छैन किनकि आजको दुःख आजलाई नै प्रयाप्त छ, भोलिको लागि फिक्री गरेर अझ बोझ किन थप्ने ? आजको निम्ति, अहिलेको बोझ नै यथेष्ट छैन र ? त्यसैले आजको दिन जे छ, जस्तो छ खुसीले आनन्दित हृदयले बिताऔं, भोलिको लागि भोलि नै विचार गरौँला ।
कतिपय मानिसहरू विगतका दिनहरूको कारण पनि चिन्ता फिक्रीमा रहन्छन् । हिजोका दिनहरूमा भएका घटना, चोट, दुःख कष्ट, चित्त दुखाइ, गल्ती, भुल, पाप वा कमजोरीहरूलाई घरिघरि सम्झिने, परमेश्वरमा क्षमा नभएको भनेर ती पापहरूप्रति हामी हरपल ब्याकुल भइरहने कारणले पनि हामीमा चिन्ता फिक्री रहिरहेको हुन्छ । यसको लागि परमेश्वरको वचनबाट हामीले सिक्नु आवश्यक छ । पुर्वबाट पश्चिम जति टाढा छ, परमेश्वरले हाम्रा पापहरू पनि त्यत्ति नै टाढा हटाइ दिइसक्नु भएको छ । हाम्रा सिन्दुरे रङ्गका हरेक पापहरू हिउँ जस्तै सेतो बनाइ दिइसक्नु भएको छ । त्यसकारण हामीले विगतमा गरेका सबै गलत कदमहरूबाट मुक्त भएका छौै । जसरी परमेश्वरले हामीलाई क्षमा दिनुभयो अब हामीले पनि हाम्रो बिरुद्ध गरिएका सबै पाप, चोट, तितोपन वा चित्त दुखाइहरूलाई क्षमा दिनुपर्दछ । जसरी परमेश्वरले हामीलाई पापबाट मुक्त गर्नुभयो त्यसरी नै हामीले पनि ती मानिसहरूलाई हृदयदेखि नै क्षमा गर्नु पर्दछ ।
अब चिन्ता फिक्रीहरूबाट मुक्त हुने बाइबलीय उपाय के हो त ? हो, प्रार्थना । हामीले जति धेरै प्रार्थना गर्छौं त्यति नै कम चिन्ता हामीमा हुन्छ । हामी जति कम प्रार्थना गर्छौं, त्यति नै धेरै चिन्ता हामीमा हुन्छ । हामीले प्रार्थनाको धारा खोल्यौं भने हाम्रो जीवनमा आउने सबै नकारात्मक धाराहरू बन्द गर्न परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ । फिलिप्पी ४ः६ मा भने जस्तै हामी कुनै कुरामा चिन्तित नहुने तर हरेक कुरामा प्रार्थना गर्ने हो भने हामी आशिषित र विजयी जीवन जीउन सक्छौ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४