
डिसेम्बर २५ तारिख संसारमा अति परिचित र लोकप्रिय दिन हो, जसलाई संसारका सबै जसो मुलका, जातिका अनि भूगोलका मानिसहरूले प्रत्यक्ष र परोक्ष रुपमा मानिरहेको देखिन्छ । ख्रिस्ट येशु यस संसारमा परमेश्वरको पुत्रको रुपमा, सबै मानिसहरूको पाप क्षमा गर्ने मसिहको रुपमा अनि उज्यालोको रुपमा जन्मनु भयो र मानिस जातिको अनन्त जीवनको खातिर नै ईश्वरको योजना भएकोले ख्रिस्ट येशुको जन्म नै महान घटना जो संसारमा घटेको छ र दुई हजार वर्ष पहिले घट्यो अनि मानिसहरूले छुटकारा पाउन र खेर नजाउन् भन्ने उद्देश्यले घटेको हो । त्यस कारण मुक्तिदाताको जन्मोत्सव मनाउनु अति आदर योग्य र सत्य पनि छ ।
विश्वमा रहेका र प्रचलनमा आएका धेरै धर्म र विश्वासका विधाहरू मध्ये इसाई विश्वास र अभ्यासलाई मानिसले सजिलै ग्रहण गर्न र अवलम्बन गर्न सक्ने धर्म मानिन्छ । विश्वको कुल जनसंख्याको ३२ प्रतिशत मानिसहरूले इसाई धर्म अंगालेको पाइन्छ । अनि इसाई धर्मलाई एउटा विधिबाट मात्र सिमित नभई परमेश्वर र मानिसको बीचको सामिप्यता अनि अनन्त मार्गको सत्यतालाई बाइबलले प्रमाणित गरेको छ । यति मात्र नभएर इसाई विश्वास आज संसारमा सबै भन्दा छिटो गतिमा फैलिएको पनि तथ्यले देखाएको छ । आजको संसारमा १६० देशका सरकारहरूले अनि मानिसहरूले ख्रिस्टमसलाई राष्ट्रिय पर्वको रुपमा मनाउँछन् अनि यी देशहरूमा सार्वजनिक बिदा पनि दिइन्छ ।
नेपालमा ७५–८० वर्षको दौरानमा इसाई विश्वासमा रमाउनेको संख्या आजसम्म लगभग बीस लाख पुगेको अनुमान छ, यद्यपि यसलाई प्रमाणित गर्नु जरुरी नै देखिन्छ । नेपालको संविधानले धार्मिक स्वतन्त्रतालाई स्वीकार गरेको भएता पनि सरकार, राज्य र केहि पुराना यथार्थवादी विचारबाट प्रभावित वर्गबाट बेला बेलामा इसाईहरूको अस्तित्व र आस्थालाई नजर अन्दाज गर्ने र अवमुल्यन गर्ने कार्य भै रहेको छ । वास्तवमा राज्यको धर्म हुँदैन र जात पनि हँुदैन यसले त देश भित्रका सबै नागरिकहरुलाई बिना भेदभाव धार्मिक आस्था र अभ्यासको निर्बाध अनुमति र संरक्षण पनि दिनु पर्दछ ।
नेपालमा १२५ जनजातिको बसोवास छ अनि १२९ थरी भाषाहरू पनि बोलिन्छन् । वास्तवमा भन्ने हो भने यी सबै जातजाति र भाषाहरूमा रहेका प्रायः सबै कुनै न कुनै रुपमा इसाई धर्मसँग जोडिएका छन् र यी सबै थरीको उच्च सम्मान नेपालको मण्डलीले गरिरहेको देखिन्छ । देशका सातै प्रदेश, सबै स्थानीय निकाय अनि हिमाल, पहाड, तराई सबै क्षेत्रमा मण्डली स्थापना भएका छन् अनि सबै वर्गका मानिसहरू मण्डलीमा आवद्ध छन् । मण्डली सामाजिक संस्था हो र यसमा आवद्ध हुने मानिसहरू समाजका सदस्य अनि देशका नागरिकहरू नै हुन्, जसले आफ्नो देशको कानुन अनुरुप अधिकारको प्रयोग र धर्मको अभ्यास प्राप्त गर्दछन् ।
नेपाली मण्डली अथवा इसाई धर्म यति समावेशी छ कि कसैलाई पनि आस्थाको अभ्यास गर्न, मण्डली भित्र जान, सबै विधिहरूको निर्वाध प्रयोग र धर्मगुरुको रुपमा भूमिका निभाउन कुनै बन्देज र जातीय पर्खाल छैन । महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिक, अपांगता, तराइ, पहाड, हिमाल आदि सबै क्षेत्र र वर्गको समन्वय र समावेशिताको आधारमा मण्डली निर्माण र सञ्चालन भएका छन् । यी मण्डलीहरूले देशका समाज सेवाका क्षेत्रमा पनि ठूलो कार्य गर्दै आएका छन्, इसाई संघ संस्थाका माध्यमबाट समाजमा उल्लेखनीय सेवाहरू सञ्चालित छन्, जसको जानकार सरकार पनि छ । देशको ठूलो हिस्सा ओगटेको इसाई समाजलाई आज आफ्नो पर्वमा सार्वजनिक बिदा चाहियो भनेर नेता नेताका घरमा बिन्ति बिसाउनु पर्ने, सरकारसँग रोई कराई गर्नु पर्ने, सामाजिक सञ्जालमा दुःख पोख्नु पर्ने जस्ता कुराहरू मण्डलीले बारम्बार गर्नु पर्दा अति मार्मिक अनि भावुक बन्दछौं, नेपाली मण्डली अनि समग्र इसाई समाज । बिदा ठूलो कुरा होइन तर त्यो भन्दा पहिला नेपाली मण्डलीले आफ्नो पहिचान गर्न र गराउन अनि समग्र समाजलाई आफ्नो स्वाद र असल गवाही दिन र सबैले स्वीकार गर्ने स्वादिष्ट जीवन जिउन, बाइबलले उद्घोष गरेअनुसार नुन र ज्योति बन्न तदारुकताका साथ लाग्नु अनिवार्य छ । राज्यको संघीय, प्रदेश र स्थानीय तहसम्म राम्रो र पारदर्शी भएर मण्डलीले देशका यी यी क्षेत्रहरूमा यस्ता यस्ता विकासका कामहरू भएका छन् भन्ने प्रतिवेदन नेपाल सरकारलाई दिन सकेमा मण्डलीको सह अस्तित्व अगाडि आउने र सरकारसँग मण्डलीले साझेदारीमा विकास योजनाहरू सञ्चालन गर्न सक्ने अनि समग्र इसाई जगतको आधिकारिकतालाई सबैले स्वीकार गर्ने वातावरण देशमा अवश्य बन्नेछ । साथै भिजिट नेपाल २०२० लाई लक्षित गरी नेपाली मण्डलीले आफ्नो कार्यक्रम सार्वजनिक गरेमा सुनमा सुगन्ध हुने थियो ।
(केपी अधिकारी फिलाडेल्फिया चर्च, भैसेपाटी, ललितपुर फोनः ९८५११७८०४९