बनेपा, समयकुमार रम्तेल । काभ्रेस्थित बनेपा तथा पनौती नगर ख्रीष्टियन समुदायको आयोजनामा गत पौष ९ गते अर्थात २५ डिसेम्वर २०१९मा बनेपा र पनौती नगरमा भएका ४० वटा चर्चहरू मिलेर संयुक्त ख्रीष्टमस कार्यक्रम बनेपा बसपार्कमा भव्य रुपमा सम्पन्न भएको छ ।
४००० हजार भन्दा बढी मानिसहरूको उपस्थिति रहेको सो कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माननीय श्री गोकुल बास्कोटाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव पास्टर राजन परियार र पास्टर सुजन सुन्दासले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रम संयोजक काभ्रे ख्रीष्टियन समुदायका अध्यक्ष पास्टर रुवेन रानाले सभाको अध्यक्षता ग्रहण गर्नुभएको थियो । विशेष अतिथिमा बनेपा नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठ र पनौती नगरप्रमुख भिम न्यौपाने र नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेल रहनुभएको थियो । अतिथिहरूमा बनेपा नगर उपप्रमुख रेखा सापकोटा (दाहाल), बनेपा नगर ख्रीष्टियन समुदायका अध्यक्ष पास्टर रामचन्द्र विसुन्के, पनौती नगर ख्रीष्टियन समुदायका अध्यक्ष पास्टर परिच्छेद शर्मा, पत्रकार महासघं काभ्रेका अध्यक्ष मोतीराम तिमल्सेना, वचन राष्ट्रिय मासिक पत्रिकाका सम्पादक समय कुमार रम्तेल, आइएमइ नेपाल लोक स्टारका सेकेण्ड रनप गायक विनोद दनुवार र भ्वाइस अफ क्राइष्टको विजेता गायिका सुस्मिता राई, पा.केशव राना मगर, पा.कालुसिं तामाङ, बनेपा नगरका वडा अध्यक्षहरू, विभिन्न चर्चहरूको धर्मगुरुहरू, पत्रकारहरू, कलाकार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिहरूलाई फूलको माला, खदा र व्याच वितरणसँगै आसन ग्रहनबाट स्वागत गरिएको थियो ।
शुरुको प्रार्थना पा.केशब बहादुर राना मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य पास्टर राम चन्द्र विसुन्केले गर्नुभएको थियो । राष्ट्रिय गान सँगसँगै काभ्रे चर्चका सङ्गीत झुण्डले विशेष गीत र प्रशंसाबाट ख्रीष्टमस उत्सव विशेष बनाएका थिए । प्रमुख अतिथि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले राज्यको कुनै धर्म नहुने भएकाले सबै धर्मप्रति राज्यको समान दृष्टिकोण रहने बताउनु भएको थियो । राज्यले धार्मिक आस्थाका आधारमा धर्म, जाति, क्षेत्र विशेष दमन नगर्ने बताउनु भयो । ‘राज्यले धार्मिक आस्थाका आधारमा दमन गर्ने छैन, गरेको पनि छैन, धार्मिक स्वतन्त्रता भएको मुलुकमा समान व्यवहार हुन्छ’–संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भन्नुभयो–‘स्वाधिन देश निर्माणका लागि सरकार प्रतिवद्ध छ ।’ भुगोल, संस्कृति, समुदाय, सम्पदाप्रति राज्यको एउटै मान्यता रहेको मन्त्री बास्कोटाले बताउनु भयो । ‘धर्म आफै मानव जातिका विरुद्ध हुँदैन, राज्यले कुनै एक धर्मलाई मात्र अपनाएको छैन । धार्मिक सहिष्णुताको देश बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक भएकाले कसैप्रति असहिष्णु व्यवहार हुनेछैन भन्दै ख्रीष्टमस तथा नयाँ बर्ष २०२० को शुभकामना दिदै यस भव्य कार्यक्रमको पूर्ण सफलताको कामना समेत गर्नुभएको थियो ।
बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले सबै धर्मको लक्ष्य प्राप्ति एउटै भएकाले व्यक्तिको सम्मान र जिउने आधार त्यहि लक्ष्यले निर्धारण गर्ने बताउनु भयो । ‘क्रिश्चियन धर्म प्रति आस्था राख्नेहरूको अन्त्यष्टीका लागि भईरहेको समस्या प्रति नगरपालिकाले जग्गा व्यवस्थापन गर्ने योजना बनाएको छ भन्नुहुँदै सबै धर्म र समुदायप्रति नगरपालिकाले समान दृष्टिकोण राख्नेछ ।’ ख्रीष्टियन समुदायले ब्यहोर्दै आएका विविध समस्या मध्ये अन्त्येष्टी प्रमुख समस्या रहेको सहभागीहरूले बताएका थिए । पास्टर रुवेन रानाले ख्रीष्टियन समुदायका व्यक्तिहरूलाई धार्मिक आस्थाका आधारमा बन्दी बनाएको भन्दै मन्त्री बास्कोटासँग गुनासो गर्नु भएको थियो ।
विशेष अतिथि नगरप्रमुख, उपप्रमुख र अतिथिहरूबाट शुभकामना मन्तव्य दिनुभएको थियो । पास्टर डिल्लीराम पौडेलले पवित्र बाइबल धर्मशास्त्रबाट हृदयस्पर्शी वचन बोल्नुभएको थियो । हामी यो विश्वव्यापी महोत्सवमा उत्साहित हौं र सारा नेपालीलाई पनि उत्साहित बनाऔं । येशूको नाम इम्मानुएल हो जसको अर्थ परमेश्वर हामीसँग हुनुहुन्छ । हामी हिड्ने मन्दिर हौं । सारा मानव जातिको निम्ति प्रभु, आशा र शान्ति हुनुहुन्छ । नेपाल देश र शासकलाई गाली गर्दैनौं तर उन्नतिको निम्ति सधै रोएर प्रार्थना गर्दछौं किनकि हामी प्रार्थना सुनाइमा विश्वास गर्दछौं भन्दै शुभकामना सन्देश दिनुभएको थियो । ख्रीष्टमस उत्सवलाई विशेष बनाउन साँस्कृतिक कार्यक्रममा विभिन्न नाचगान, जीवन गवाही, बाइबल पाठ, नाटक, नृत्य र क्यारोल गीतहरू समेत प्रस्तुत गरिएको थियो । सभापति रानाबाट सबै अतिथिहरूलाई मायाको चिनो स्वरुप ख्रीष्टमस उपहार प्रदान गरिएको थियो । त्यसैगरी नेपाल देश लगायत नगरपालिकाको प्रगति र सफल कार्यकालको निम्ति प्रार्थना गरिएको थियो । विभिन्न भाषा जाति र संस्कृति झल्कने पहिरनमा सजिएका इसाई दाजुभाइ दिदिबहिनीहरू कार्यक्रमबाट उत्साहीत भएका थिए । कार्यक्रममा बनेपा र पनौतीका ख्रीष्ट समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको उक्त कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, जीवन मंग्राती लगायतले मन्तब्य राख्नु भएको थियो भने गायक विनोद दनुवार, गायिका सुस्मिता राईले गीत सङ्गीतको बेजोड प्रस्तुतिमा सबैलाई नचाएका थिए । पास्टर पञ्च प्रजापतिले आफ्नो जीवन गवाही बाँड्नुभएको थियो । प्रमिस मिडिया टिमले नेपाल टेलिभिजनबाट प्रसारण हुने खुशीको संसार र सुपरबुकको संयुक्त प्रस्तुति असल छुवाई र खराब छुवाईको बिषयमा रोचक प्रस्तुति दिनुभएको थियो । आयोजक टिम र अतिथिहरूलाई खुश र गिज्मोले ख्रीष्टमस गीतमा सँगै नचाएका थिए । खानाको स्टल जमेको थियो भने फेस पेन्टिङ गर्नेहरूको पनि भिड थियो ।
कार्यक्रमको अन्त्यमा पास्टर परिच्छेद शर्माले धन्यवाद दिएपछि कार्यक्रम संयोजक पास्टर रुवेन रानाले एकताको मन यसैगरी रहिरहोस् भन्नुहुँदै अन्तिम प्रार्थना गरी कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । पास्टर रामशरण पुर्कुटीको नेतृत्वमा सयौ स्वयंसेवकहरू परिचालन गरिएको थियो भने जिल्ला ट्राफिक प्रहरी र बनेपा ईलाका प्रहरीले ट्राफिक र सुरक्षा व्यवस्था दिएको थियो । कार्यक्रमको अघिल्लो दिन कार्यक्रम स्थल बनेपा बसपार्क दिनभर लगाएर सरसफाई, सुरक्षा व्यवस्था मञ्च तथा गेट निर्माण गरिएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४