२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

हामी “ख्रीष्टमस” कसरी मनाउँदै छौं ?

के.पी. अधिकारी । हरेक वर्ष डिसेम्बर महिनाको २५ तारिख संसारभरि धुमधामकासाथ मनाइने ख्रीष्टमस पर्व, ख्रीष्ट येशूको जन्मोत्सवको रुपमा ख्रीष्टसँगसँगै आम मानिसहरूले (MASS) मनाउने महत्वपूर्ण पर्वको रुपमा “ख्रीष्टमस” मनाउने प्रचलन ३ र ४ बि. सी.तिरबाट सुरु भएको इतिहासले हामीलाई बताउँदछ । एक रोमन शासकले आफ्नो उपस्थिति दिएर यो पर्वलाई राष्ट्रिय रुपमा मनाउने घोषणा गरेपश्चात विश्वभर फैलिएको र विगत सात दशकदेखि नेपालमा पनि ख्रीष्टियनहरूले मनाउँदै आएको यो पर्वलाई आज आम नेपालीहरूले पनि आफ्नो आफ्नो तरिकाले मनाउँदै आएको देखिन्छ । दुई दशक अगाडिसम्म नेपाली मण्डलीहरूले मात्र यो पर्वलाई देशमा मनाउँदै आइरहेकोमा आज यसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबैलाई छोएको पाइन्छ र बजारमा यस पर्वको व्यापारिक प्रभाव पनि राम्रो परेको छ । नेपाली मण्डलीले आफ्नै प्रकारले यस पर्वलाई मनाउने क्रममा यस वर्ष पनि निरन्तरता रहने र धुमधामसँग मनाउने योजना बनाएको पाइन्छ ।


ख्रीष्टमस कसरी मनाउने होला भन्ने जिज्ञासा र योजना यतिखेर सबैतिर, सबै परिवारहरूमा र सबै ख्रीष्टका जनहरूमा रहने गर्दछ । मेरो जीवनमा आजसम्म जम्मा २५ पटक ख्रीष्टमस मनाएको र यस महान पर्व अर्थात बडा दिनलाई एक सार्थक र नयाँ उर्जा प्राप्त गर्ने र ख्रीष्टियन जीवनको साक्षी र गवाही छर्न र सबैमा बिना सर्त प्रेमको बिउ रोप्ने र शान्ति, मेलमिलाप र आनन्दको उर्जालाई गुणात्मक रुपमा वृद्धि गर्ने, आफूलाई भन्दा बढी अरुलाई प्रेम गर्ने र सक्दो सहयोग गर्ने, बिहान उठेदेखि राति नसुतुन्जेलसम्म सकारात्मक सोंच र ख्रीष्टबाट प्राप्त अन्तर्मनको शान्ति र खुशी परिवार अनि अरुहरूलाई छर्न सकूँ भनि निरन्तर प्रार्थना र उपासनामा लागिरहने प्रतिबद्दता मेरो मुक्तिदाता ख्रीष्ट येशू समक्ष बाँचा गरेको छु । सबै जना आफ्नो योजना बनाउने र यस वर्षको ख्रीष्टमसको सार्थकतालाई जोसिलो र आत्मिक उन्नतिको मार्ग दर्शक बनाउन लाग्ने कुरामा म सबैलाई उत्साह पनि थप्न चाहन्छु ।


हामीले मनाउने ख्रीष्टमस पर्वलाई अझै कसरी सार्थक बनाउने र आत्मिक जीवनलाई फलवन्त बनाउने र ख्रीष्ट मै रमाहट गर्ने सम्बन्धमा केहि व्यवहारिक तरिकाहरू पस्कन चाहन्छु ।
१. ख्रीष्टमस अर्थात बडा दिनलाई ख्रीष्ट येशूसँगै मनाउनु पर्दछ
आज संसारभरि आफ्नै तौर र तरिकाहरूद्वारा यो पर्व मनाउने गरिएको देखिन्छ । बजारमा सजिएका विभिन्न पहिरन, रंगीचंगी ख्रीष्टमस ट्री, शान्ता क्लजका तस्विरहरू अनि झकिझकाउ गरिएका पसलहरू, गिफ्टसपहरू, बार र डान्स सेन्टरहरू आदिले ख्रीष्टमसलाई प्रतिनिधित्व गरेको भान हुन्छ । तर यी सबै थोकहरूसँग हाम्रो नजिकको साइनो गाँसिएकोले होला, ख्रीष्टलाई भन्दा यी थोकहरूले महत्व पाएका हुन्छन् अनि हामी यस्तैमा रमाउन पुग्छौं । यो त संसारको अरु पर्वहरू मनाए जस्तै रमझम मात्रै हुन सक्छ, त्यसैले हामीलाई बडादिन मनाउने र खुशी हुने बनाउनु हुने हाम्रा प्रभु येशू ख्रीष्ट सँगै रहेर मात्र जीवनमा ख्रीष्टमस मनाउनु अति नै आदरणीय र आशिषित हुनेछ र पहिलो स्थान ख्रीष्ट अनि मात्रै अरुलाई दिनु राम्रो हो ।


२. प्रार्थना र उपासनाबाट ख्रीष्टमसलाई सार्थक बनाउन सक्छौं
हामी ख्रीष्टलाई पछ्याउनेहरूले जसरी खोलामा जाल हान्दै गरेको मछुवालाई प्रभुले त्यो जाल छोड र मेरो पछि लाग भन्नु भयो अनि त्यसलाई उहाँले आफ्नै चेला बनाउनु भयो अनि त्यो चेलाले ख्रीष्टले जस्तै सधै प्रार्थना गर्ने, सुसमाचारको काम र सेवा गर्ने, ख्रीष्टकै आदेशमा चल्ने गर्न थाले । ठिक त्यसै गरी हामीले पनि आफ्ना आफ्ना संसाररुपी जालहरूलाई फ्याल्नै पर्दछ र त्यो जाल अर्थात नेटलाई समाती राखेर हामी ख्रीष्टमस मनाउनुको सट्टा हाम्रो आत्मिक उपासना उहाँमै केन्द्रित गरी मनाउन सकेमा धेरै राम्रो हुनेछ ।


३. निरन्तर प्रार्थना, वचन अध्ययन र आशिष बाँड्ने गरेमा सार्थक हुनेछ
ख्रीष्ट येशू हाम्रा लागि नै सबै भन्दा फोहोर गाईको गोठमा जन्मनुभयो ताकि हाम्रा सबै प्रकारका फोहोरहरू र दुर्गन्धहरू हटोस् र हामी परमेश्वरसँग संगति गर्न र अगाडि जान योग्यका बनौं । हामीले ख्रीष्टको जन्मको बारेमा, उद्देश्य र मिसनको बारेमा, मुक्ति र उद्दारको महान योजनाको बारेमा दिन दिनै वचन अध्ययन र प्रार्थना गर्ने र पाएको आशिष अरुलाई बाँड्ने जसद्वारा अरुको जीवनमा पनि सकारात्मक रुपमा फरक र सार्थक रुपान्तरण पनि आउन सक्छ ।


४. आफन्त र छिमेकीलाई प्रेम गरेर ख्रीष्टमस पर्वलाई सार्थक रुपमा मनाउन सक्छौं
पवित्र बाइबलले हामीलाई प्रेमको बदलामा अरु कुनै सर्तको आदेश दिएकै छैन । त्यसकारण हामी जहाँ बसेका छौं, त्यहाँका मानिसहरूलाई निसर्त प्रेम गर्ने प्रेरणा हामीलाई प्रभुले दिनुभएको छ र यो महान आज्ञा पनि हो । त्यसैले हामी हाम्रो सारा प्राणले अनि समझ शक्तिले हाम्रा नजिककाहरूलाई, छिमेकीलाई आफन्तलाई क्षमादान सहित प्रेम गर्नु र मेल मिलाप र शान्तिको बासना छर्नु पर्दछ, जुन ख्रीष्टले हामीलाई हर समय दिनु भएको छ ।


५. पारिवारिक भेटघाट, मण्डली संगति र गेट टुगेदरका कार्यक्रमहरू आयोजना गरेर सार्थक बनाउन सक्छौं
हामी हाम्रो पहिचानलाई राम्ररी प्रस्तुत गर्न र ख्रीष्टलाई प्रचार गर्न हामी हाम्रा ख्रीष्ट सँगै एक अर्कामा नियमित भेटघाट, संगति, भलाकुसारी गर्दै आनन्द र खुशी रहन सक्छौं अनि यो खुशी आदान प्रदान गर्न फेलोसिप डिनर, आउटिंग, पिकनिक, फुड फेस्टिवल आदि गरेर ख्रीष्टमस मनाउन सक्छौं ।


६. सामाजिक सेवाका कामहरू गरेर पनि ख्रीष्टमसलाई सार्थक रुपमा मनाउन सक्छौं
हामी ख्रीष्टियनहरूले आफ्नो बडा दिन मनाउने सवालमा हाम्रो वरिपरि समाज भित्रै कति जनाले जीवनमा आफ्नो आधारभूत आवश्यकताहरू पनि नपाएका होलान, कति मानिसहरू बाटोमै रात बिताउने पनि होलान्, कति त सहारा नपाएर र आफ्नै परिवारकाहरूले हेला गरेर संरक्षण केन्द्रमा रहेका होलान्, कति असहाय र टुहुरा बालबालिकाहरू अनाथ आश्रममा होलान् भने कति आमा बुबाहरू वृद्धाश्रममा पनि होलान्, यी क्षेत्रहरूमा भ्रमण गरी सानो भए पनि उनीहरूलाई सहयोग गर्ने, जीवन जुन हौसला प्रदान गर्ने र उनीहरूको लागि प्रार्थना गर्ने कार्यक्रमहरू सन्चालन गरेमा अति राम्रो र आशिषित ख्रीष्टमस हुने थियो । भनिन्छ, तपाईंको एउटा सानो मुस्कानले धेरै मानिसहरूले निको हुने र खुशी हुने मौका पाउने छन् ।


७. गिफ्ट अथवा उपहार आदान प्रदान गरेर पनि ख्रीष्टमसलाई सार्थक बनाउन सकिन्छ
आज भोलिका प्रायः सबै चाडपर्वहरूमा एक अर्काबिच सुमधुर सम्बन्ध विस्तार गर्ने माध्यम बनेको छ उपहार दिने र लिने चलन । यस्तो चलन हामीले ख्रीष्टमस पर्वमा पनि चलाइने हुँदा आफ्नो गक्षअनुसार मण्डलीभित्र साथै बाहिर आफन्तमा पनि ख्रीष्टमसका नाममा उपहारको कार्यक्रम पनि राम्रो हुनेछ र यो कार्यक्रम प्रायः मण्डलीहरूमा गिफ्ट एक्सचेन्ज गर्ने गरिन्छ, जसलाई अझ परिस्कृत गर्ने र गिफ्ट दिने र लिने व्यक्ति र परिवारका लागि एक अर्कामा प्रार्थना गर्ने र आशिर्वाद मागिदिने गर्दा अति उत्तम हुनेछ ।


८. देश भित्रका नयाँ नयाँ स्थानहरूमा पारिवारिक भ्रमण गर्ने र ती स्थानहरूको लागि प्रार्थना गर्ने
आज भोलि सामाजिक सन्जालका माध्यमबाट को कहाँ पुगेको छ, सजिलै थाहा पाउन सकिने भएको छ । विशेष गरी विदेशतिर गएकाहरूले त अब जहाज चढियो, यो एअरपोटमा पुगियो, यो सहर घुमेको अवस्था, यो होटलमा बसेको अवस्था भनेर फोटो अपलोड गरेर प्रचार गरेको पाइन्छ । अब यस ख्रीष्टमसमा नेपालको यो गाउँ पुगेको अवस्था, ढिंडो र गुन्द्रुक खाएको अवस्था, सुकुलमा सुतेको अवस्था, आफू एक दिन उपवास बसेर नहुनेको लागि एक छाक खाना दिएको अवस्था, दुई वटा लुगा किन्नुको सट्टा एउटा किनेर अर्को एउटा अर्को नहुनेको लागि किनेर दिएको अवस्था, आफू बस्ने वरिपरि भएको फोहोर सफा गरेको अवस्था जस्ता फोटोहरू अपलोड गरेमा कति राम्रो हुने थियो होला, ख्रीष्टमस मनाउनुको सार्थकता ¤
हामी हाम्रो देशका कतिपय स्थानहरूमा पुग्न र हेर्न सकेका छैनौं अनि कुन स्थानको विशेषता के छ भनी भन्न सक्दैनौं । त्यसैले आफ्नो देशको आन्तरिक पर्यटनको विकासको हिसाबले पनि छोटो भए पनि आन्तरिक भ्रमण गर्ने र नयाँ कुरा सिक्ने अनि परमेश्वरलाई धन्यवाद दिने गरेमा अझ अरुलाई पनि प्रेरणा मिल्ने थियो कि ?


९. मण्डलीमा सबैलाई उत्साह दिने र आत्मिक उन्नति गर्ने खालका कार्यक्रमहरू सन्चालन गर्ने
ख्रीष्टमसको उपलक्ष्यमा मण्डलीले विशेष कार्यक्रमहरू सन्चालन गर्ने जस्तैः जवानहरूको सांगीतिक कार्यक्रम, बाल संगतिको खेलकुद कार्यक्रम, दिदी बहिनीहरूको खाना परिकार बनाउने प्रतिस्पर्धा कार्यक्रम, सन्देशमुलक र आत्मिक वृद्धि गर्ने सेमिनार, मण्डली भवन सफाई कार्यक्रम, कुनै स्थानमा बृक्ष रोपण जस्ता कार्यक्रमहरू पनि आयोजना गरी मनाउन सकिनेछ ।


१०. बृहत्तर समावेशी कार्यक्रम सन्चालन गर्ने र ख्रीष्टको जन्मोत्सवको बारेमा सरकारी स्थानीयदेखि केन्द्रिय तहसम्म यस पर्वको सार्थकताबारे प्रचार गर्ने
नेपाली मण्डलीहरूले आफ्नै प्रकारले आफ्नो आफ्नो सम्प्रदाय अनुसार यो पर्व मनाउने चलन चल्दै आएकोमा यसलाई अलि ओझ र बोझका साथ नेपालमा ख्रीष्टियन समुदायको अस्तित्व र आत्म सम्मान अनि देशमा समाज विकास र मानव कल्याणका क्षेत्रमा भए गरेका सेवा र कामहरूको बारेमा स्पष्ट रुपमा उजागर गर्ने र पर्वको उपलक्ष्यमा हामी समस्त ख्रीष्टियनहरू एक भै देशका निम्ति प्रार्थना गर्ने अनि सकारात्मक विकासका काममा जुटेका छौं भन्ने सन्देश दिनु नितान्त आवश्यक छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...