२०७६ मंसिर २५ गते, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ख्रीष्टियनहरुको सम्मानमा ख्रीष्टमस पर्वमा सार्वजनिक विदा हुने बताउनुभएको छ ।
आज बुधबार राष्ट्रिय ख्रीष्टियन महासंघको प्रतिनिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले ख्रीष्टियन समुदायको मागबारे आफू जानकार रहेको बताउँदै ख्रीष्टमसमा सार्वजनकि विदा कायम गराउन विशेष पहल गरिरहेको बताउनुभयो । गृहमन्त्री थापाले विदा पुनरावलोकन समितिले सिफारिस गरेका चाडपर्वहरुमा ख्रीष्टियन महासंघको माग बमोजिम ख्रीष्टमस विदा पनि रहेकोले ख्रीष्टियन समुदायको सम्मानमा उक्त सिफारिस मन्त्रीपरिषदबाट लागु गर्न विशेष पहल गर्ने बताउनुभएको हो ।
अध्यक्ष सि.वि गहतराजको नेतृत्वमा गएको राष्ट्रिय ख्रीष्टियन महासंघको प्रतिनिधिमण्डलले ख्रीष्टियन समुदायको हक र अधिकारको विषयमा आफ्ना मागहरु प्रस्तुत गर्दै उक्त माग सम्बोधनको लागि ज्ञापन–पत्र बुझाइ गृहमन्त्री थापा मार्फत सरकारको ध्यानाकर्षण समेत गराएको छ । गृहमन्त्री थापासँगको भेटमा महासंघका अध्यक्ष गहतराजले ३० लाख ख्रीष्टियन बसोबास गर्ने मुलुकमा ख्रीष्टियनहरुको न्यूनतम हक अधिकारको समेत सुनिश्चितता नभएको र हरेक वर्ष ख्रीष्टमस विदाको लागि सरकारलाई घचघच्याइ राख्नुपर्ने अवस्था रहेको गुनासो गर्नुभएको थियो । अध्यक्ष गहतराजले ख्रीष्टियन समुदायको जायज माग पुरा गरेर अल्पसंखयक समुदायको सम्मान गर्नसमेत आग्रह गर्नुभयो ।
आज गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय ख्रीष्टियन महासंघका वरिष्ठ सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्री,सह–अध्यक्ष पास्टर तेजमान तामाङ,उपाध्यक्ष पास्टर बाबुराम हिङमाङ,सदस्य सचिव पास्टर कर्ण राज पाण्डे, हङकङ काउन्सीलका कोषाध्यक्ष हेम थापा लगायत पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४