दिनेश श्रेष्ठ । केहि दिन पहिले आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरीले आफ्नो पास्टरीय सेवा कार्य छोडेर पूर्णकालिन समय राजनीतिमा होमिने भनेर आफ्नो चर्च नेपाल जागृति चर्चको पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर एक अभिषेकको कार्यक्रम सम्पन्न गरे । जब यो कार्यक्रम सकियो, लगत्तै यस कार्यक्रमले ख्रीष्टियन समुदायमा विभिन्न प्रश्न तथा आशंकाहरू जन्माएको छ । हुन त लामो समयदेखि उनी पास्टर भएर नै राजनीतिमा लागेको भनेर आलोचना भई रहेको थियो । उनको यस्तो कार्यको विरोध गर्नेहरूले उनले राजनीति नै गर्ने हो भने पास्टरीय सेवा छोड्नु पर्छ भन्ने आवाज ठूलै रुपमा उठेको थियो । त्यो विरोधको स्वर मन्थर पार्नका लागि भनेर नै उनले पास्टरीय सेवाको कार्य छोडेर पूर्णकालिन रुपले राजनीति गर्ने भनि यो अभिषेकको कार्यक्रमको आयोजना गरेको हो भन्ने कुरा बुझ्न सकिन्थ्यो । सो कार्यक्रममा उनलाई एक राजनीतिज्ञको रुपमा अभिषेक गर्दै उनले सेवा गर्दै आएको चर्चमा दुई जना व्यक्तिलाई पास्टरीय सेवाको लागि अभिषेक पनि गरियो । यो त असल कार्य नै हो र हुनु पर्ने पनि यस्तै थियो ।
जब उनलाई एक राजनीतिज्ञको रुपमा अभिषेक गरियो र कार्यक्रममा उनलाई एउटा नियुक्ति पत्र पनि दिइयो । त्यसमा लेखिएको भाषा र त्यस पत्रका जुन निकायका जिम्मेवार व्यक्तिहरूले हस्ताक्षर गरिएको देखियो । यसले समग्र नेपाली ख्रीष्टियन समुदायमा विभिन्न प्रश्न र आशंकाहरू जन्मिएका छन् । त्यसका बारेमा आफूलाई समग्र नेपाली ख्रीष्टियन समुदायको जिम्मेवार निकाय हुँ भन्ने निकायहरूले स्पष्टिकरण दिनु र आफ्नो धारणा स्पष्ट गर्नु जरुरी देखिएको छ । त्यो नियुक्ति पत्रको आशयअनुसार एपि मसिहा पार्टीका अध्यक्ष भरत गिरीलाई ख्रीष्टियन समुदायको नेताको रुपमा स्वीकार गरिएको छ साथै त्यस पत्रमा एनसिएफ नेपाल (जसले भर्खरै आफूलाई नेपाल राष्ट्रिय मण्डली एलायन्समा परिणत गरेको छ) का महासचिव, नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका वरिष्ठ सहअध्यक्ष र अभिषेक दिने रेभ. सिमोन पाण्डेले हस्ताक्षर गर्नुभएको छ । (तल तस्विरमा फोटो हेर्नुहोस् ।)
यस कार्यले एउटा गम्भिर प्रश्न जन्माएको छ, आफू समग्र ख्रीष्टियन समुदायको निकाय हुँ भन्नेहरूले के भरत गिरीलाई समग्र नेपाली ख्रीष्टियन समुदायको राष्ट्रिय नेताको रुपमा मान्यता दिएको हो ? एनसिएफ नेपाल, एनसिएस र महासंघले भरत गिरीलाई पार्टी खोलेर राजनीति गर भनेर के नियुक्ति नै दिएको हो ? उनलाई दिएको नियुक्ति पत्र अनुसार त त्यहि कुरा बुझ्न सकिन्छ । के एनसिएफ नेपाल, एनसिएस र महासंघले कसैलाई राजनीति गर भनेर नियुक्ति दिन मिल्छ ? यी संस्थाहरूलाई यसरी नियुक्ति पत्र दिन अधिकार कसले दिएको छ ? भरत गिरीलाई यस्तो नियुक्ति पत्र दिनेले के भविष्यमा अरुले चाहेको खण्डमा अरुलाई पनि यस्तै नियुक्ति पत्र दिन सक्छ ? यस्तो नियुक्ति पत्र दिनुको उद्देश्य के हो ? भन्ने यस्तै यस्तै उठेका गम्भिर प्रश्नहरूको सम्बन्धित निकायहरूले चित्तबुझ्दो उत्तर तत्काल दिनु आवश्यक देखिएको छ ।
त्यसैगरी आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरीले आफू पास्टरीय सेवाबाट पूर्णविराम लिएर पूर्णकालिन रुपमा राजनीतिमा लागेर अन्य व्यक्तिलाई चर्चको पास्टरीय सेवा कार्य सुम्पनु सह्रानीय कार्य भएता पनि आफ्नो अभिषेक कार्यक्रममा लिएको नियुक्ति पत्रका सम्बन्धमा स्पष्ट पार्नु पर्ने देखिएको छ । एनसिएफ नेपाल, एनसिएस र महासंघले के तपाईंलाई राजनीति गर्न खटाएकै हो ? तपाईंले खोल्नु भएको भनिएको आमुल परिवर्तन मसिहा पार्टी एनसिएफ नेपाल, एनसिएस र महासंघले पो खोल्न लगाएको हो ? तपाईंले आफूलाई परमेश्वरबाट राजनीति गर्नका लागि दर्शन पाएको भन्ने आदर्शका कुरा आखिर झुटो नै हो त ? होइन भने किन तपाईंलाई एनसिएफ नेपाल, एनसिएस र महासंघको नियुक्ति पत्र आवश्यक पर्यो ? तपाईं राजनीतिमा आउनुको कारण त एनसिएफ नेपाल, एनसिएस र महासंघको उद्देश्य पूरा गर्नका लागि पो खटाएको हो ? भन्ने यस्तै यस्तै उठेका प्रश्नहरूको उत्तर तत्काल दिनु पर्ने आवश्यकता देखिएको छ ।
अन्तमा आफूलाई जिम्मेवार निकाय हुँ भन्नेले र जिम्मेवार पदमा बस्ने व्यक्तिहरूबाट हुने सानो गल्तीले पनि समुदायमा नराम्रो असर पारिरहेको हुन्छ । तसर्थ आफूलाई जिम्मेवार निकाय हुँ भन्नेहरूले र जिम्मेवार पदमा रहनेहरूले सोचेर विचार गरेर मात्र कार्य गर्नु पर्ने देखिएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४