२०७६ कार्तिक १७ गते, काठमाडौं । विगत पाँच वर्षदेखि क्रियाशिल रहेको काठमाडौंका चर्चहरू मिलेर बनेको शालोम संगति नेपालले आज काठमाडौंको बुढानिलकण्ठस्थित नयाँ सृष्टि चर्चमा नयाँ नेतृत्व चयन गर्दै आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ ।
सो साधारण सभाबाट पास्टर रुद्र राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । नयाँ कार्यसमितिमा पास्टर साइमन गुरुङ उपाध्यक्ष, पास्टर प्रकाश तिरुवा सचिव, पास्टर बिनोद कटुवाल सहसचिव, पास्टर राजेन्द्र आले कोषाध्यक्ष, पास्टर दिपेन्द्र गुरुङ सहकोषाध्यक्ष पदमा सर्वसम्मतिले चयन हुनुभएको हो । त्यसैगरी सदस्यहरूमा पास्टर गोपीलाल श्रेष्ठ, पास्टर भिम राई, एल्डर सुरज देवाली, श्रीमती सुजिता श्रेष्ठ लामा र श्री जितेन्द्र शाक्य सर्वसम्मतिले चयन हुनुभएको छ । सो अवसरमा नवनिर्वाचित कार्यसमितिको लागि समपर्णको प्रार्थना पनि गरिएको थियो ।
सो साधारण सभामा निवर्तमान सचिव पास्टर रामशरण श्रेष्ठले विगत पाँच वर्षको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आगामी कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान कोषाध्यक्ष पास्टर दिपेश सुनुवारले विगत पाँच वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पास्टर देव श्रेष्ठले सञ्चालन गर्नु भएको सो सभामा नयाँ सृष्टि चर्चको आराधना झुण्डले आराधनामा अगुवाई गरेको थियो । निवर्तमान उपाध्यक्ष पास्टर हेम श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको सो सभामा पास्टर साइमन गुरुङले परमेश्वरको वचनबाट सहभागी सबैलाई उत्साहित तुल्याउनु भएको थियो । सो सभामा शालोम संगति नेपालमा आवद्ध भएका २७ वटा चर्चहरूलाई सदस्यताको प्रमाण पत्र प्रमुख अतिथि पास्टर एकता संगतिका अध्यक्ष पास्टर बिक्रम खड्गी, अतिथि इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया नेटवर्कका महासचिव श्री दिनेश श्रेष्ठ, कार्यक्रमका सभापति पास्टर साइमन गुरुङ र शालोम संगतिका अध्यक्ष पास्टर रुद्र राईको हातबाट वितरण गरिएको थियो ।
सो साधारण सभामा प्रमुख अतिथि पास्टर एकता संगति जोरपाटीका पास्टर बिक्रम खड्गीले आफ्नो बधाई तथा शुभकामना मन्तब्यमा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुहुँदै आगामी दिनमा अझ प्रभावकारी रुपले परमेश्वरको बोलावट अनुसार कार्य गर्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो । त्यसैगरी अतिथि इन्टरनेशनल नेपाली ख्रीष्टियन मिडिया नेटवर्कका महासचिव श्री दिनेश श्रेष्ठले वर्तमान समय नेटवर्किङको समय भएकोले सबै मिलेर नै प्रभावकारी रुपले काम गर्न सकिने मत राख्दै शालोम संगति नेपालको नवनिर्वाचित कार्यसमितिले ख्रीष्टियन समुदाय, नेपाली समाज र देशमा नै प्रभाव पार्न सक्षम होस् भन्ने शुभेक्षा दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा अध्यक्ष पास्टर रुद्र राईले सबै पक्षलाई धन्यवादको मन्तब्य राख्नु भएपछि विशप मिनी कुमार राईले अन्तिम प्रार्थना गर्नु भएसँगै सो साधारण सभा समापन गरिएको थियो ।
स्मरण रहोस्, आजभन्दा पाँच वर्षअघि वि.सं.२०७१ सालमा काठमाडौंको बुढानिलकण्ठस्थित चर्चहरू आशाको किरण चर्चका पास्टर रुद्र राई, येशूको प्रशंसा चर्चका पास्टर हेम श्रेष्ठ, निगाह ख्रीष्टिय चर्चका पास्टर रामशरण श्रेष्ठ, विलिभर्स इस्टर्न चर्चका पास्टर दिपेश सुनुवार, निगाह मिसन चर्चका पास्टर देव श्रेष्ठ र एकता मिलाप चर्चका एल्डर सुरज देवालीको अगुवाईमा यस शालोम संगति नेपालको स्थापना भएको हो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४