२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

धेरै धर्मी भएको देशमा किन यति धेरै दुःख ???

हिरा खड्गी, संसार एउटा विश्वासमा अडिएको छ । विश्वास चाहिँ कुनै अदृश्य शक्तिमा । विश्वासलाई साधारण दृश्यले हेर्दा पनि कुनै देश छैन, जहाँ आस्तिक नहोस् । नास्तिक त प्रायः हुँदै हुन्न । भइहाले पनि त्यो एउटा बहाना मात्रै हुन्छ, या त तर्कको लागि मात्रै । विश्वासले मानिसलाई शक्ति प्रदान गर्छ, त्यसले एक किसिमको साहस वा आत्मबल दिंदछ । विश्वासले मानिसलाई सत्यतामा हिड्न प्रेरणा दिन्छ । विश्वास अदृश्य शक्तिमा केन्द्रित हुने भएकोले मानिसलाई सामाजिक, नैतिक मुल्य मान्यताको परिधि भित्र बाँधिराख्छ । जब विश्वास रीति रिवाज या संस्कारमा परिणत हुन्छ, त्यो धर्म कमाउने भाँडो मात्रै हुन जान्छ । सत्य भन्दा धर्ममा बढी जोड दिनाले त्यो आडम्बरी संस्कार भै सकेको हुन्छ । जसको उदाहरणहरू प्रशस्त छन् । यसबाट उम्कन सहज भने छैन तर त्यसलाई परिमार्जन र सुधार गरी लैजान सकिन्छ । धर्म, राजनीति, वर्ग यी सबै सामूहिक पहिचान हुन् । सामूहिक पहिचानमा शक्तिको स्तरहरू विभाजन गरिएका हुन्छन् । तहगत संरचना भ्रष्ट हुँदा सत्यमाथि भ्रम सिर्जना हुन्छ । त्यो साह्रै शक्तिशाली भै सकेको हुन्छ, तर सत्य सत्यकै रूपमा रहिरहन्छ ।

परिस्थितिः

यो देशमा वार्षिक पाँच हजार मानिसले आत्महत्या गरिरहेका छन् । दैनिक १५०० – २५०० जना युवाहरू रोजगारीको लागि विदेशिनु परेको छ । भ्रष्टाचार र सुशासनको अवस्था जिर्ण हुँदै गएको छ । सामाजिक, आर्थिक र देश विकासको प्रगति न्यून छ तर धार्मिक मानिसहरूको बृद्धि भने निरन्तर भै रहेको अवस्था छ । धर्मी जनहरू बढेपछि समृद्धिका चरणहरू पनि देखिन थाल्नु पर्ने हो तर त्यो सिमित व्यक्तिहरूमा मात्रै समृद्धिको घाम लागेको छ । जुन रुपमा त्यसको बृद्धि हुनु पर्ने भएको छैन । अर्को दृष्टिकोणबाट हेर्दा कुनै भुल त भएको छैन भन्ने प्रश्न उठ्नु स्वभाविक हुन आउँछ ।
यति धेरै धर्मी भएको देशमा किन यति धेरै दुःख छ त ? यो एउटा प्रश्नले घरी घरी पोलिरहन्छ । धर्मले मानिसलाई नैतिकवान बनाउँछ । उसको आचरणमा सुधार आएको हुनुपर्दछ । गुरु (अगुवा) होस् वा चेलाहरू होस्, सत्य र इमान्दारीताको जीवन जिउनलाई अग्रसर भएकै हुनुपर्छ । तर यति हुँदा हुँदै पनि, यति धेरै धर्मीहरू जन्मिसकेको देशमा प्रगतिका केही लक्षणहरू देखिसक्नु पर्ने हो तर देखिंदैन । आदर्शका फोस्रा कुराहरूले मात्र केही पनि हुन्न भन्ने प्रमाण हरेक धर्ममा रहेका आस्थावान मानिसहरूको जीवनलाई नियालेर हेर्दा पुग्छ ।

सत्यको पछि लागेर कामको प्रदर्शनहरू नभएको पनि होइन । संख्यामा बृद्धि हुनु मात्रै सत्य हो भने, मानिसको शारीरिक समस्या र दुःखमा केही कमि भैसकेको हुनुपर्ने हो तर यो देशको हकमा त्यसो भएको छैन । आखिर केमा कमजोरी छ, व्यवस्थामा, राजनीतिमा, कि सोंचमा, कि सत्यतामा नै ? कि हाम्रो बुझाईको कमि या भ्रम अथवा सत्य अनुसारको शिक्षामा हाम्रो गराईको भिन्नता ? यी मध्ये कुनै न कुनै त सत्य हुनु नै पर्छ । कि त हामी आफ्नो जिम्मेवारीलाई गहन रुपमा बुझिरहेका छैनौं । कि बोल्ने भाषा एउटा र गर्ने व्यवहार अर्को भो ? यदि यो हो भने सत्यको परिभाषा नै पो बदल्नु पर्ने हुन्छ कि ? जस्तै जे म भन्छु, त्यो तिमीहरू गर, तर मैले आफै चाहिँ त्यो गर्नु पर्दैन किनकि म यो, त्यो हुँ । मानिस चर्च, मन्दिर, गुम्बा, मस्जिदमा गएर मात्रै धर्मी ठहरिंदैन भन्ने प्रष्ट भइसकेको छ । उसले गर्ने व्यवहारमा परिवर्तन हुँदैन भने के त्यो धर्म परिवर्तन मात्रै हुँदैन र ? आफ्नो क्रूस आफैले बोकेर हिड्न सक्दैन भने सप्ताहमा एकदिन धर्म कर्ममा हिडेको के अर्थ रहन्छ र ? के त्यो एउटा हाजिरी कमाएको जस्तो मात्रै हुन्न र ? प्रशस्तताको आशामा आफै माग्दै हिड्नु विश्वासको कमि होइन र ? यसबाट अनुयायीहरूलाई के सिकाउने ?

प्रश्नको उत्तर त्यति सहज छैन तर साधारण रीतिले बुझ्ने हो भने दुई वटा कुरा हुनु जरुरी छ ।

१. धर्म अनुसारको सत्यताः धर्ममा केही सत्यता हुन्छ भनेर नै मानिसहरू धर्ममा आस्था राख्ने गर्दछन् र त्यही सत्यता प्राप्तिको लागि मानिस जीवनभर प्रयत्नशिल हुन्छ । सत्यको प्राप्तिले मानिसको अन्तिम चाहना पूरा हुन्छ भन्ने विश्वास राख्छ, जसलाई मुक्ति भन्न सक्छौं । त्यसले स्वर्गको बाटो खुल्ला बनाउँछ भन्ने आशा दिंदछ । यही विश्वासको आधारमा मानिस जिउने प्रयत्न गरिरहन्छ, संघर्ष गरिरहन्छ र सत्य खोज्ने क्रम जारी राख्छ । सत्यका केही तथ्यहरूसँग मानिस अघि बढिरहेका हुन्छन् । विश्वास सुनाइबाट आउँछ तर सुनाउनेले आंशिक रूपमा सत्य सुनाउँछ भने सुन्नेले अपूर्ण सत्यतामा जिउनु पर्ने हुन्छ । सत्य जानेपछि मानिसले सत्य कुरा गर्ने कोशिस गर्नु नै पर्ने हुन्छ । उसँग अर्को विकल्प हुन्न तर यति जान्दा जान्दै पनि मानिस आफ्नो स्वार्थ र अभिमानले सत्यलाई विभिन्न प्रकारले तोडमोड गरी प्रदर्शन गर्ने कोशिस गरिरहेको हुन्छ । जसको परिणाम जो अहिले हामीले भोग्दैछौं । कदापि पनि यहाँ धर्मी भयो भन्दैमा सबै कुरा सजिलै हुन्छ, सबै थोक राम्रो असल मात्रै हुन्छ भन्न खोजेको होइन । जसरी हाम्रो बोलीमा शक्ति हुन्छ भनेर हामी विश्वास गर्छाैं, त्यसरी नै हाम्रो गराइमा सत्यता देखिनु आवश्यक छ । ती सत्यता ठुल्ठुला कुराहरूमा होइन स–साना गराइमा हुन्छ ।

२. सत्यलाई हेरफेर वा मनिपुलेसन गरी प्रयोग गर्नुः आफू अनुकुल सत्यलाई हेरफर (मनिपुलेसन) गरी मानिसहरू माझ राखिदिंदा वास्तविक सत्यतामा रहेका केही अंशहरू छुट्न गई भ्रामक परिस्थितिको सिर्जना हुँदछ । मनिपुलेसनको प्रकृया भै रहदा मानिस सत्यमा भन्दा पनि उ धर्म कर्मतिर रमाउँछ र उसको आस्था पनि त्यसमै जमिरहन्छ । उसको सिर्जनात्मक क्षमतामा क्रमश ह्रास आइसकेको हुन्छ । हुन्छ वा हुँदैन भन्ने नियमहरूले मात्रै बाँधिदिदा त्यहाँ एउटा संस्कारको विकास भै सकेको हुन्छ, अनि त्यही आफ्नो संस्कारलाई मात्रै स्वीकार गरी हिड्ने प्रवृत्ति हुन्छ । सत्यलाई जोड घटाउको हिसाबले हेर्दा जति हामीले प्राप्त गर्नु पर्ने ज्ञान वा समृद्धि हो, त्यसको अभाव देखिन्छ । यदि सत्यलाई सत्यकै रूपमा प्रस्तुत गरिएको खण्डमा हामीले धर्मको नाममा जे जति पनि प्रदर्शन गरिरहेका छौं सायद त्यो भन्दा बढी असल गरिसकेका हुनेथियौं होला । अझ त्यो भन्दा बढी हाम्रा दुःख भोगाइमा केही कमि भै सकेको हुन्थ्यो होला ।

दृष्टिकोण

सुन्दै आएको कुरा चाहिँ, धर्म धर्म नभएर जीवन परिवर्तन हुनुपर्छ । जसमा कुनै दुविधा छैन । जुन वातावरणमा मानिस हुर्केको छ, त्यही वातावरणको दृष्टिकोणको प्रभाव उसमा पर्दछ । विश्वास र सत्यको दृष्टिकोणमा पनि त्यही कुरा लागू हुन्छ । मनको परिवर्तन नभएसम्म जीवनको परिवर्तन हुन सम्भव छैन । सत्यता आएपछि दृष्टिकोण स्वतः परिवर्तन भै हाल्छ । धर्म परिवर्तन भएर जीवन जिउने तत्वहरू परिवर्तन भएन भने धर्मीहरूको संख्या मात्रै बृद्धि हुन्छ । आउने पुस्ताले पनि यसरी गरिबी र दुखी नै भएर बाँच्नु पर्ने अवस्था यथावत रहिरहन्छ । सामूहिक पहिचानको राजनीतिबाट माथि उठेर आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्न अग्रसर भएर अघि बढ्ने हो भने जुन आशामा हामी जिउँदैछौं, त्यही आशा हामी यहि पृथ्वीमा देख्न सक्नेछौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...