२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली मण्डलीले व्यक्तिको नाममा रहेको मण्डलीको सम्पत्ति गुठीमार्फत अब संस्थागत गर्नु अपरिहार्य छ

के पी अधिकारी, भैसेपाटी, ललितपुर । नेपालमा परोपकारी संस्थाको इतिहास हेर्ने हो भने त्यतिखेर स्थानीय रुपमा गरिने सामाजिक कार्यहरू पहाडतिर ढिकुर र पर्म तथा काठमाडौ उपत्यकामा गुठीको विकसित रुप नै आजका परोपकारी संस्था अर्थात गैरसरकारी संस्था हुन । तत्कालिन समयका स्थानीय जनताहरू मिलेर स–साना धर्मभकारी, पुजागुठी, मुर्दागुठी, सिंचाइ, पाटी पौवा, र कुवा जस्ता सामाजिक कामहरू हुने गरेको पाइन्छ । त्यतिबेलै राणाहरूमध्येका उदार मानिएका चन्द्र शमशेरको प्रधानमन्त्रीत्वकालमा वि.सं १९८३ मा कामधेनु चर्खा महागुठीको स्थापना गरेको पाइन्छ । त्यस गुठीले महिला र पुरुषलाई स्थानीयस्तरमा चर्खाको माध्यमबाट घरेलु र कुटिर उद्योगहरू सञ्चालन गरिएपछि नेपालमा गैससको विकास हुन थालेको मानिन्छ । यसरी नेपालको इतिहासमा गुठीको प्रारम्भ ९३ वर्ष अगाडि नै भएको र अस्तित्वमा रहेको देखिन्छ । हुन त त्यो भन्दा अगाडि पनि महागुठीको पहिचान नभएको होइन ।


ललितपुर जिल्लाको भेलाक्षे टोलमा जन्मेका तुलसीमेहर श्रेष्ठ, जसलाई अग्रज समाजसेवी भनेर चिनिन्छ । उनी निम्न–मध्यम परिवारमा जन्मेका र औपचारिक शिक्षा कति पनि हासिल गर्न नसकेका भए पनि धेरै कुराको जानकारी राख्ने भएकाले एउटा विशिष्ट समाजसेवी बन्न सकेका हुन् ।
आफू अलि ठूलो भएपछि उनले देशको राष्ट्रिय एकता कमजोर भएको अनुभव गरी समाजलाई एक ढिक्का बनाउने उद्देश्यले समाजसेवामा लागेका थिए । यसरी समाजसेवी काम गरेको त्यस बेलाको राणा सरकारलाई निकै रिस उठ्यो । त्यसकारण राणा सरकारले उनलाई हटाउने वा मार्ने उपाय सोच्न थाल्यो । फलस्वरुप उनलाई विभिन्न दोष लगाएर देश निकालाको सजाय भोग्न बाध्य पारियो । देश निकाला भएपछि उनी भारत गएर निर्वासित जीवन बिताउन थालेका थिए ।
त्यसै सन्दर्भमा उनको भेट भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक र अहिंसात्मक आन्दोलनका अनुयायी महात्मा गान्धीसँग हुनपुग्यो । त्यस बेला भारत अङ्ग्रेजहरूको उपनिवेशबाट स्वतन्त्र हुन खोज्दै गरेको हुनाले इस्ट इन्डिया कम्पनीको सरकारका विरुद्धमा विभिन्न चरणका आन्दोलनहरू हुँदै थियो । तुलसीमेहर भारत गएर पनि ती आन्दोलनको समर्थन मात्र गरेनन् कि तिनमा सशक्तरूपले भाग लिन थाले । उनको यो कार्यले गर्दा महात्मा गान्धी लगायतका अन्य राजनीतिज्ञहरू उनीदेखि निकै प्रभावित हुन पुगे ।


हरेक घरमा चर्खा राख्ने र कपास खेती गरी त्यसबाट कपडा बुन्न सकिएमा बेरोजगारी समस्या हल भएर जान सक्छ भन्ने उद्देश्यले महात्मा गान्धीले चर्खा प्रचार अभियान शुरु गरेका थिए । गान्धीको यो प्रयास तुलसीमेहरका नजरमा पनि निकै उपयुक्त जँचेको थियो । त्यसपछि उनी वि.सं. १८८१ मा नेपाल फर्केर नेपालमा पनि रोजगार सिर्जना गर्ने उद्देश्यले कपास खेतीका साथै चर्खा प्रचार अभियानमा लागेका थिए । उनले तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरलाई खुशी बनाउँदै श्री ३ चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी नामको संस्था स्थापना गरेका थिए । तुलसीमेहरको यो कामले स्वयम चन्द्र शमशेर पनि ज्यादै खुशी भएका थिए । त्यसै समयदेखि आमनेपालीमा विदेशी महङ्गा कपडाको साटो आफ्नै देशमा उत्पादन भएका कपासको धागोबाट बनेका घरबुना वा खाँडी कपडाको प्रेम बढेर गयो ।


आजभन्दा ११८ वर्ष अगाडि नेपालमा बेरोजगारीको समस्या हल गर्न तुलसीमेहरले कपास खेती र चर्खा प्रचार महागुठीको स्थापना गरेको देखिन्छ । नेपालको संविधान २०७२ ले पनि सार्वजनिक र निजी गुठीको स्पस्ट प्रावधान अङ्गिकार गरेको पाइन्छ । काठमाडौँ उपत्यकामा त गुठीको संस्थागत विकासले आजसम्म पनि प्रभाव निकै पारेको र यसको महत्व झन टड्कारो रहेको देखिन्छ । हरेक धार्मिक र सामाजिक संस्थामा विद्यमान रहेको यस गुठी व्यवस्थालाई अङ्गीकार गरी स्थानीय, प्रदेश र संघीय सरकारमा दर्ता गरी अगाडि बढ्नु पर्ने महत्वपूर्ण कार्यभार आजको मण्डलीको रहेको छ ।
गुठी संस्था नेपालको सामाजिक एकताको भावना अनुरुप खडा गरिएको र विशेष गरी जग्गा जमिन र सम्पत्तिको सामुहिक संरक्षणको उद्देश्य रहेकोले यसको उपादेयता आजको मण्डली र यसका नाममा भनिएको तर रहेको व्यक्तिका नाममा रहेका जायजेथालाई संस्थागत गर्न जरुरी रहेको आजको आवश्यकता हो । नेपालमा सञ्चालित अधिकांश मण्डलीहरूको जग्गा र भवन मण्डलीका पास्टर, अगुवा, परिवारजनका नाममा छन् । नेपाली मण्डली किन अब गुठीको माध्यमबाट अगाडि बढ्नु पर्दछ भन्ने बारे यसका विभिन्न पक्षहरूलाई हेर्नु पर्ने हुन्छ ।

१. मण्डली समावेशी बन्नु जरुरी छ
नेपाली मण्डलीले आफ्नो ७० वर्षको उमेरमा अझै पनि काँचुली फेर्न सकेको छैन किनभने सामाजिक विकास र समावेशी ढाँचामा अगाडि बढ्नु पर्नेमा त्यसो हुन सकेको छैन र सरकारले हेर्ने दृष्टिकोण पनि फरक देखिएको र मण्डलीले समाजलाई इसाईकरण गर्छ भन्ने सन्देश मात्र प्रवाह गरेको पाइन्छ । मण्डलीलाई आम नागरिकको पहुँच योग्य बनाउनका लागि गुठीको रुपमा पहिचान हुनु पर्दछ । आजसम्म पनि मण्डलीको पहिचान व्यक्तिको नाममा भएको पाइन्छ, जसले गर्दा व्यक्तिको नै प्रशासन र व्यवस्थापनमा मण्डलीहरू सञ्चालित छन् र सम्पत्तिको नियन्त्रण पनि व्यक्तिकै नामबाट भएको छ जसका कारण सरकारले प्रश्न उठाउने गर्दछ । एउटा समाजभित्र विभिन्न जात÷जाति, धर्म, संस्कृतिका मानिसहरू रहेका हुन्छन् र चर्चले सबै प्रकारका नागरिकहरूलाई समेट्नु जरुरी छ, जसले गर्दा स्थानीय सरकारको सहयोग पनि चर्चले पाउन सक्दछ ।


२. मण्डली पारदर्शी बन्नु जरुरी छ
नेपाली मण्डलीमा किन बारम्बार अनेकता र फुट आउँछ भन्ने बारेमा मनन् गर्ने हो भने सबैभन्दा कम पारदर्शिता रहेको र निश्चित व्यक्तिहरूको मात्र मण्डलीका स्रोत, साधन अनि अनुदानमा पहँुच भएको देखिन्छ । मण्डली भित्रको आर्थिक स्रोतको पारदर्शिता र लेखा परिक्षण पद्दति नभएका कारण पनि सरकार र समाजले औंला उठाउने र सतावट गर्ने, पृथकीकरण गर्ने, भेदभाव गर्ने र घृणा गर्ने गरेको पाइन्छ । गुठीको माध्यमबाट मण्डलीले सामाजिक आत्मिकरणको अनुभूति र मण्डली समाजको एक अभिन्न अंग हो भनेर अङ्गीकार गर्न अग्रणी भूमिका खेल्दछ ।


३. मण्डलीले समाज विकासमा अग्रणी भूमिका खेल्नु जरुरी छ
आज नेपालका सबै जिल्लाहरूमा मण्डली स्थापना भै सञ्चालनमा आएको अवस्थामा स्थानीय रुपमा सरकारी निकायसँग साझेदारी गरी स्थानीय स्तरका विकास निर्माण र सामाजिक क्रियाकलापमा सक्रिय हुनु जरुरी छ । यदि स्थानीय निकायमा गुठीको रुपमा मण्डली रहेको छ भने त्यस क्षेत्रको सामाजिक दायित्व बोध गरी अगाडि बढेमा र समुदायसँगै सहकार्य गरेमा यसको प्रभाव राम्रो पर्ने र सरकारले पनि चर्च गुठीले राम्रो काम गर्छ भन्ने विश्वास गर्ने र स्थानीय विकास योजनाहरूमा मण्डलीको अगुवाई र नेतृत्व अपरिहार्य बनाउने वातावारण बन्न सक्ने छ ।


४. मण्डलीको नेतृत्व सामुहिक हुनु जरुरी छ
स्थानीय मण्डली स्थानीय गुठीको रुपमा रहने हो भने गुठीको विधान, कार्यकारी समिति र संरक्षकको भूमिका अग्रणी रहने र एकल नेतृत्वको संरचना स्वतः समाप्त हुने र मण्डली एक प्रजातान्त्रिक समावेशी संस्था बन्ने छ, जसलाई सर्व स्वीकार गरिने र राज्यले पनि अपनत्वको व्यवहार गर्ने वातावारण बन्ने छ ।


५. मण्डली सम्पत्तिको एकाधिकारको अन्त्य हुनु जरुरी छ
हाल मण्डलीको जायजेथा व्यक्तिको नाममा रहेको कारण मण्डलीका क्रियाकलापहरू, तालिमहरू, सिकाईहरू, शिक्षाका डिग्रीहरूले खासै समाजमा महत्व पाउन सकिरहेका छैनन् र सेकुलर शिक्षाको आधारमा नै व्यक्ति र धर्म गुरुहरूलाई व्यवहार गर्ने गरेको छ । यदि व्यक्तिमा रहेको मण्डलीको सम्पत्तिलाई गुठीको माध्यमबाट संस्थागत गर्ने हो भने मण्डली एक आदरणीय र धार्मिक क्रियाकलाप र शिक्षा प्रदाय संस्था बन्ने सम्भावना छ ।


६. मण्डलीको धार्मिक शिक्षा सबैका लागि सर्वमान्य हुनु जरुरी छ
नेपालमा विभिन्न धार्मिक प्रतिष्ठानहरूले आफ्नो आफ्नो धार्मिक शिक्षाको पाठशाला सञ्चालन गरी रहेको अवस्थामा मण्डलीले पनि सार्वजनिक रुपमा सूचना गरी आफ्नो धार्मिक शिक्षाको फैलावट गर्न सक्ने र राज्यले कसैलाई पनि भेदभाव गर्न नहुने वातावारण बन्दछ र सबैको अस्तित्व सुरक्षित रहने देखिन्छ । विश्व विद्यालयमा पनि यसको अपरिहार्यतालाई स्थापित गर्न सकिने छ ।


७. सामाजिक सद्भाव र सह अस्तित्वको भावना हुनु जरुरी छ
मण्डली र अन्य धार्मिक प्रतिष्ठानहरू मिलेर समाजमा शान्ति, मेलमिलाप र सह अस्तित्वको वातावरण निर्माण गर्ने र यसको सहजीकरण र समन्वय सरकारले गर्ने अनि धार्मिक गुठीहरूबिच रहेको मतभेदलाई समेत न्यूनीकरण गर्न मण्डलीले अग्रणी भूमिका खेल्नु पर्दछ ।


अतः नेपाली मण्डलीले एक मत भै एक सर्व स्वीकार्य राष्ट्रिय महागुठी गठन गर्ने र त्यस अन्तर्गत देशमा रहेका सम्पूर्ण मण्डलीहरूलाई स्थानीय गुठीको रुपमा दर्ता गरी आवद्धता गराई अगाडि बढ्ने उत्तम मार्ग नै आजको आवश्यकता हो र यसका लागि एनसिएफ नेपाल, एनसिएस, राष्ट्रिय ख्रीष्टियन महसंघ नेपाल तथा अन्य निकायहरू एक हुनु जरुरी देखिन्छ र साथै सम्प्रदायबाट पनि माथि उठेर पहल गर्दा समग्र ख्रीष्टियन जगतको शिर ठाडो देखिने कुरामा दुइ मत नहोला ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...