काठमाडौं, २०७६ असार ३१ गते। अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्क अमेरिकी सरकारमा हालै दर्ता भई यसले बैधानिकता पाएको खबर प्राप्त भएको छ ।
नेटवर्क दर्ता भएपछि अमेरिकामा यसले बैधानिकता पाएको छ भने नेटवर्कले आफ्नो लक्ष्य प्राप्तिका लागि तय गरेका कार्यक्रमहरू सहज रुपमा पूरा गर्न बाटो खुल्ला भएको छ । मिडिया नेटवर्क दर्ता भएसँगै अमेरिकामा यस नेटवर्कको नाममा बैंक खाता पनि भर्खरै खोलिएको जानकारी अध्यक्ष दियालीले गराउनु भएको छ । अब देश/विदेशबाट सञ्जाललाई आर्थिक सहयोग गर्न चाहनुहुनेहरूले सहजै रुपमा नेटवर्ककै नाममा सहयोग पठाउन सक्नुहुने भएको छ ।
गत सोमबारका दिन अमेरिकी समयअनुसार अमेरिकाको ओहायो राज्यमा बैधानिक रुपमा मिडिया नेटवर्क दर्ता भएको हो । यस नेटवर्कलाई अमेरिकामा दर्ता गर्नका लागि नेटवर्कका अध्यक्ष अब्राहाम दियालीले पहल गर्नुभएको हो । साथै अमेरिकाबाट कोषाध्यक्षमा नियुक्त हुनुभएका पास्टर सुवास विश्वाले उहाँले गर्नु भएको पहलमा सहयोग गर्नु भएको छ । यस मिडिया नेटवर्कलाई पूर्ण बैधानिकता दिनका लागि दुई वटा खुड्किलो रहेकोमा पहिलो र महत्वपूर्ण चाहिँ सरकारसँगको दर्ता हो, जुन कार्य भर्खरै सम्पन्न भएको छ । दोस्रो खुड्किलो चाहिँ आइआरएस (Internal Revenue Services) सँगको दर्ता हो, जुन सरकारसँग दर्ता भएपछि प्रक्रिया अघि बढ्छ । यो प्रक्रिया पनि चाँडै सम्पन्न गरिने कुरा अध्यक्ष अब्राहाम दियालीले जानकारी गराउनु भएको छ ।
अमेरिकी सरकारसँगको दर्तासँगै दोस्रो खुड्किलो अथवा IRS सँगको दर्ता अर्को महत्वपूर्ण खुड्किलो हो । जसमा दर्ता भएपछि अमेरिकाभरि नेटवर्कले केही सामान खरिद गर्दा कर लाग्ने छैन भने अमेरिकामा ठूलो रकममा कसैबाट आर्थिक सहयोग लिनका लागि कुनै पनि संस्था IRSसँग दर्ता भएको हुनु पर्ने प्रावधान छ । IRS सँग दर्ता भएको संस्थालाई अमेरिकामा मानिसहरूले उत्साहित रुपमा आर्थिक सहयोग गर्ने गर्दछन् ।
अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्क अमेरिकामा दर्ता भएसँगै यस नेटवर्कलाई मिल्ने सुविधाका साथ साथै यस नेटवर्कको कार्यसमितिमा रहनु हुने सबैको दायित्व पनि अझै बढेको महशुस गरिएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४