२०७६ असार १६ गते, काठमाडौं । हिजो असार १५ गते उपत्यकाका केहि पास्टर तथा अगुवाहरूको भेला आयोजना गरी रेभ. पास्टर प्रकाश सुब्बाको अध्यक्षतामा राष्ट्रिय गिर्जाघर (चर्च) महागुठ्ठी नेपाल गठन गर्दै २३ सदस्यीय एक तदर्थ समितिको गठन गरिएको छ ।
त्यस तदर्थ समितिको सह–अध्यक्षमा रेभ. इन्द्र थापा र रेभ. शामुएल सोदेम्बा, उपाध्यक्षमा पा. मिनराज दुलाल, पा. चन्द्रमान नेपाली, पा. प्रेम सुब्बा, पा. अशोक कुमार प्रधान (भक्तपुर), सचिवमा पा. पदमनाथ पराजुली र पा. किरण दास, सहसचिवमा के. पी. अधिकारी, कोषाध्यक्षमा पा. शान्त श्रेष्ठ र पा. पावल बस्नेत हुनुहुन्छ भने अन्य पदाधिकारीहरूमा तारा बहादुर थापा, मथुरा खड्का तथा काठमाण्डौबाट अन्य ५ जना र भक्तपुरबाट अन्य ४ जना रहने गरी समिति गठन गरिएको जनाइएको छ ।
महागुठ्ठी नेपालका सचिव पा. किरण दाससँग यसको औचित्य माथि प्रश्न गर्दा हामी कसैसँग प्रतिस्पर्धा गर्न आएका होइनौं तर नेपालमा रहेका मण्डली अर्थात चर्चहरू व्यवस्थित गर्नुपर्ने खाँचोलाई महसुस गरेर नै चर्च महागुठ्ठीको अवधारणा ल्याइएको कुरा उहाँले बताउनुभयो । नेपाली मण्डलीहरूले आफ्नो धार्मिक पहिचान र सुरक्षाको लागि परमेश्वरसँग निरन्तर प्रार्थना गर्दै आईरहेको अवस्था तथा राज्यसँग गर्नु परेको पहल र शान्तिपूर्ण आन्दोलन पश्चात २०६३ सालदेखि ख्रीष्टियन समुदायलाई अल्पसंख्यक धार्मिक समुहको रुपमा राज्यबाट पहिचान गरियो । नेपालको संविधान तथा मुलुकी देवानी ऐन २०७४ मा गिर्जाघर तथा चर्चहरूलाई पनि गुठ्ठीको रुपमा दर्ता गराई सञ्चालन गर्न सकिने व्यवस्था गरिएता पनि आजको दिनसम्म नेपाली चर्चहरूलाई चर्च गुठ्ठीको रुपमा दर्ता भई सञ्चालन हुने व्यवस्थालाई राज्यको सम्बन्धित निकायहरुले कार्यान्वयन गरेको देखिएन । जसले गर्दा नेपालका चर्चहरू र त्यससँग सम्बन्धित सेवाहरू ऐनसँगत व्यवस्थित हुन नसकेको अवस्थाका बारेमा गत असार ६ गतेका दिन १५० जना भन्दा बढी ललितपुर जिल्लाका पास्टर तथा अगुवाहरूको बिचमा ललितपुर महानगरपालिकाका केही पदाधिकारीहरूसँग बृहत अन्तरक्रिया कार्यक्रम गरियो । साथै विभिन्न समुह तथा सरोकार संघसंस्था तथा निकायहरूसँग गरेको छलफल तथा अन्तरक्रियाको नतिजा स्वरुप फेरि हिजो असार १५ गतेका दिन स्थानीय सरकार र पास्टर तथा अगुवाहरूको बिच दोस्रो चरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । नेपाली चर्चहरूको सुरक्षा, पहिचान अब हामीले नेपालको संविधान र ऐन बमोजिम नै सरकारसँग पहल गर्नु पर्ने त्यस अन्तरक्रिया कार्यक्रम पश्चात महसुस भयो । यसै उद्देश्यलाई पूरा गर्नको लागि राष्ट्रिय गिर्जाघर (चर्च) महागुठ्ठी नेपालको गठन आवश्यक भएको हुनाले रेभ. पास्टर प्रकाश सुब्बाको अध्यक्षतामा २३ सदस्यीय एक तदर्थ समितिको गठन भएको हो भनेर उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय गिर्जाघर (चर्च) महागुठ्ठी नेपालले नेपालका सम्पूर्ण मण्डलीहरूको पहिचान, भौतिक सम्पत्तिको सुरक्षा राज्यबाट पहल तथा त्यसको सुनिश्चता गराउनको लागि राष्ट्रव्यापीरुपमा सम्पूर्ण नेपाली मण्डलीहरूलाई एकत्रित गरी सक्रियरुपमा अगाडि बढ्ने निर्णय गरेको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४