मितिः २०७६ जेठ ७ गते, काठमाण्डौँ । आज मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभामा नेपाली ख्रीष्टियन समुदायलाई प्रतिनिधित्व गर्ने दुई संस्थाहरूबीच १० बुँदे सहमति भएको छ । राष्ट्रिय मण्डली संगति नेपाल र नेपाल ख्रीष्टियन समाजले एक अर्काको अस्तित्व स्वीकार गर्दै समुदायको हितमा अघि बढ्ने सहमति गरेका हुन् । यी दुई संस्थाबिच भएको १० बुँदे सहमतिलाई ऐतिहासिक मानेका छन् ।
सहमतिको पहिलो बुँदामा, “बाइबलीय तरिकालाई आत्मसात गरी विगतका तीता नमिठा कुराहरूलाई पूर्णरुपमा बिर्सेर हाम्रो आपसी सम्बन्धमा नयाँपन ल्याउने र एकताबद्ध हुने” भनिएको छ । दुई संस्था नेपालभरि छरिएर रहेका साना ठूला ख्रीष्टिय मण्डली तथा सङ्गतिहरूलाई कानुनी मान्यतामा ल्याउन र चल अचल सम्पत्तिको संरक्षण र संबद्ध गर्न दुवै संस्था मिलेर आवश्यक पहल गर्न सहमत भएका हुन् ।
त्यसरी नै सहमतिको अन्तिम बुँदामा, “सम्पूर्ण ख्रीष्टियन र परमेश्वरको मण्डली विरुद्ध गरिने कुनै पनि काम वा क्रियाकलापको सामना गर्न आवश्यक पहल, बहस र पैरवी संयुक्त रुपमा गर्ने÷गराउने” रहेको छ । वर्तमान समयमा ख्रीष्टियन समुदायविरुद्ध बढेका गतिविधि र वर्तमान परिस्थितिको सामना गर्न भएको भनिएको १० बुँदे सहमति स्वागतयोग्य र ऐतिहासिक भएको केहि ख्रीष्टियन अगुवाहरूको प्रतिक्रिया रहेको छ ।
त्यस महासभाको उद्घाटन सत्रमा समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठले वचनबाट उत्साहित तुल्याउनुभएको थियो । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजले ख्रीष्टियन समुदाय नमिल्नुको केहि कारण पनि छैन र मिल्नुको विकल्प पनि छैन भन्नु हुँदै आगामी दिनमा समाजसँग आफूहरू सहकार्य गर्न उत्सुक रहेको कुरा बताउँदै २३औं वार्षिकोत्सव तथा १८औं महासभाको सफलताको शुभकामना दिनुभएको थियो । त्यसरी नै अर्का वक्ता एनसिएफ नेपालका अध्यक्ष पास्टर हनोक तामाङले वर्तमान नेपाली मण्डलीमा संगति, सम्बन्ध र सहकार्यको आवश्यकता छ भन्नुभयो । त्यस भेलाको उद्घाटन सत्रमा इभाञ्जेलिकल आशिष चर्चका पास्टर रेभ. डा. सुन्दर थापा, एनसिएसका संस्थापक डा. तिर्थ थापा, पूर्व अध्यक्ष पास्टर वेदी सुवेदी लगायतले महासभा सफलताको शुभकामना मन्तब्य दिनुभएको थियो ।
आजबाट शुरु भएको समाजको महासभामा ख्रीष्टियन समुदायलाई आवश्यक मण्डली आचारसंहिता, आत्मिक विकास, मण्डलीको सम्पत्ति व्यवस्थापन, मण्डलीलाई आइपरेका विभिन्न खाले सतावट तथा समस्याहरू, ख्रीष्टियन समुदायका विभिन्न सञ्जालहरू र नेपाली ख्रीष्टियन समुदाय र मिडियाका विषयमा विशेष कार्यशाला हुने बताइएको छ । सातवटै प्रदेशबाट प्रतिनिधित्व रहेको महासभाले नयाँ कार्यसमितिको समेत चयन गर्नेछ । काठमाण्डौँको ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डलीमा आजदेखि सुरु भएको २३औं वार्षिकोत्सव तथा १८औं महासभा पर्सी जेठ ९ गते सम्म जारी रहनेछ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४