२०७६ बैशाख १२ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि गहतराजको प्रमुख आतिथ्यमा महासंघले रौतहट जिल्लामा गत बैशाख १० गते बृहत भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेर आफ्नो जिल्ला कार्यसमिति गठन गरेको छ । चन्द्रपुरस्थित उद्धार एजी चर्चमा सोहि चर्चका पास्टर दिपक राईको सभापतित्वमा रौतहटको विभिन्न मण्डलीहरूका पास्टर तथा अगुवाहरू सहितको भेलाले रौतहट जिल्ला कार्यसमितिका साथै युवा तथा महिला विभाग पनि गठन गरेको छ ।
रौतहटको चन्द्रपुरमा भएको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष सि.वि. गहतराजले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालसँग सरकारले विभिन्न समयमा गरेको ३ र ६ बुँदे सहमति यथासक्य छिट्टो कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो । ख्रीष्टियनहरूको ख्रीष्टमसमा दिइदै आएको सार्वजनिक बिदा कटौति भएकोप्रति दुःख व्यक्त गर्दै ख्रीष्टमसका साथै इस्टरमा पनि विदा दिइनुपर्ने, मण्डली तथा ख्रीष्टियनहरूको धार्मिकस्थलहरूलाई स्वतन्त्र गुठीको रुपमा व्यवस्था गरी धार्मिक हक र अधिकारको सुनिश्चितता गर्नुपर्ने, राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्नुपर्ने जस्ता माग छिट्टो पूरा गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । ख्रीष्टियनहरूको समाधिस्थलको बिषयमा सरकारले गरेको सहमति तत्काल कार्यदल गठन गरी कार्यान्वयन गर्न माग गर्दै ख्रीष्टियन समुदायले प्राप्त गरिसकेका अधिकारहरू कुन्ठित हुने गरी ऐन कानुनहरू निमार्ण भएकाले त्यस्ता ऐनहरूको संशोधन हुनुपर्ने कुरामा जोड दिनुभयो ।
सो कार्यक्रममा नेकपाका नेता तथा पुर्व सभासद् रामकुमार भट्टराईले ख्रीष्टियन धर्मालम्वीहरूको समस्यालाई समाधान गर्न आफ्नो क्षेत्रबाट आफूले पहल गर्ने प्रतिबद्धता जाहेर गर्दै रौतहट जिल्लामा समाधिस्थलको समस्यालाई समाधान गर्नका लागि आफू प्रयासरत रहेको र समाधान नभएसम्म आफूले प्रयास गरिरहने प्रतिबद्धता समेत जनाउनुभयो ।
महासंघका उपमहासचिव तथा प्रवक्ता उद्धव चिमोरियाले आफ्नो अधिकारका साथै देश निमार्णको कार्यमा सम्पूर्ण ख्रीष्टियनहरू एक हुँदै लाग्नु पर्नुपर्ने कुरामा जोड दिनुभयो । रौतहट इसाई समाजका अध्यक्ष पास्टर प्रल्लाद रामदानले भेला सफलताको शुभकामना दिनुभएको थियो । सो भेलामा महासंघका युरोप सद्भावदूत डा.डम्वर अधिकारीले परमेश्वरको वचनद्वारा उत्साह दिनुभएको थियो भने केन्द्रिय सहकोषाध्यक्ष पा. आशा राई, युवा बिभाग प्रमुख मुकेश मोक्तान, केन्द्रिय सदस्य पा. कर्णलाल पाण्डे, पा. ईश्वर श्रेष्ठ, पा. लाली थापा, चन्द्रपुर ६ का वडाअध्यक्ष खड्ग कुश्वार लगायतले पनि आफ्ना धारणा राख्नुभएको थियो ।
सो जिल्ला भेलाले पास्टर दिपक राईको नेतृत्वमा १७ सदस्यीय महासंघको रौतहट जिल्ला कार्य समिति गठन गरेको छ । त्यसैगरी मुना लामिछानेको अध्यक्षतामा १५ सदस्यीय महिला विभाग र पास्टर महेश कुमार चौधरीको अध्यक्षतामा १३ सदस्यीय युवा विभाग पनि गठन गरेको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४