धनराज घिमिरे । पछिल्लो समयमा ख्रीष्टियन समुदायमा जुनखालको ध्रुविकरण वा विभाजन देखिएको छ यो चिन्ताजनक छ । “भाइफुटे गवार लुटे” भन्ने भनाई यो समयमा चरितार्थ भएको छ यसको उदाहरण जुन २०६४ सालदेखि पाउँदै आएको ख्रीष्टमसको सार्वजनिक विदा यस वर्ष पाइएन । हाल ख्रीष्टियन समुदायमा तीन वटा संस्थाहरू दृश्यमा देखिन्छ । यी ३ वटै संस्थाहरू को ठूलो वा को सिनियर भन्ने कुरामा नै रुमलिएको देखिन्छ । यी तीनैमा एक खालको प्रतिस्पर्धा भएको पनि देखिन्छ । हुन त बाइबल धर्मशास्त्र मत्ती २०ः१६ अनुसार अघि हुने पछि, र पछि हुने अघि भनेर लेखिएको छ । यो वचन सत्य छ र यो दृश्यमा सान्दर्भिक पनि छ । पहिलेकाहरूले उचित तथा प्रभावकारी तरिकाले काम गर्न नसकेकै कारणले अर्को संस्था जन्मेको हुन सक्छ वा अन्य कारणले, यसै भन्न सकिदैन । संस्था जन्मनु गलत भन्न मिल्दैन । आजको समयमा सिण्डिकेट लाद्न सक्दैन र मिल्दैन पनि । यी संस्थाहरू संस्थादर्ता ऐन २०३४ अन्तरगत दर्ता भएका गैह्र सरकारी संस्थाहरू हुन् तर विधान वा काम गर्ने शैली फरक हुन सक्छ । राजनीतिक पार्टीहरूमा कुन ठूलो भन्ने मापन गर्ने आधार भनेको संसदको संख्याले गरिन्छ तर यी तीनै वटा संस्थाहरू कुन ठूलो भन्ने कसरी छुटाउने भन्ने कुराको मापन गर्ने आधार देखिदैन । हुन सक्छ कति वटा मण्डलीहरू आबद्ध छन् भनेर तर नेपालमा आधिकारिक रुपमा कति वटा मण्डलीहरू स्थापना भएका छन् र ठ्याक्कै ख्रीष्टियनहरूको जनसंख्या कति छन् भन्ने कुरा यकिन छैन । २०६८ सालको जनगणनाअनुसार ख्रीष्टियनहरूको संख्या ३,७५,६९९ अर्थात १.४ प्रतिशत मात्र रहेको देखाएको छ, जो ख्रीष्टियन समुदायले मानेको छैन । मण्डली तथा ख्रीष्टियनहरूको संख्याका बारेमा भन्नेले जे पनि भनि राखेको अवस्था छ तर आजसम्म कसैले यस कुरामा ध्यान दिएको देखिदैन ।
पछिल्लो समयमा राजनीतिक पार्टीहरूले गरेको जस्तै गरी संस्थाहरूलाई टुटाउने र फुटाउने खेलहरू भएको सतहमा देखिएको छ । केका लागि र किन भन्ने सवाल जिवितै छ । केही वर्ष अघि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम फुट्दा एक जना मधेस केन्द्रित दलका नेताले भनेका थिए कि हाम्रो प्रतिस्पर्धी पार्टी फुट्नु त हाम्रो लागि राम्रो कुरो हो नि । सायद यी संस्थाका नेतृत्वहरूले यो नेताकै सिको गरेको पनि हुन सक्छ ।
सानो संख्यामा रहेको ख्रीष्टियन समुदायको नेतृत्वदायी भूमिकामा रहेका संस्थाहरू को ठूलो वा को सिनियर वा के के भन्ने जस्ता कुराहरू आउँदा पक्कै पनि सकारात्मक रुपमा लिन सकिदैन । कुनै समय भारतका प्रथम प्रधानमन्त्री पन्डित नेहरूलाई महात्मा गान्धीले भनेका थिए “ख्रीष्टियनहरूसँग डराउन पर्दैन, उनीहरू एकतामा आए मात्र डराऊ …।” उनलाई यो कुरा पक्का थाहा हुनु पर्छ कि यो समूह चै कहिले पनि एकतामा आउँदैनन् । आज नेपालका सरकारी वा अन्य नेताहरूले पनि यही कुरा भनिरहेका होलान् । एउटा समूहले एक जना मन्त्रीलाई भेट्छन्, त्यसको केहि समय पछि अर्को समूहले त्यही मन्त्रीलाई भेट्छन् । ख्रीष्टियन समूदायको यस्तो अवस्था देखेर ती भेट्ने नेता कति हाँस्दा हुन् …
आज एकले अर्कालाई स्वीकार गर्न नसकेको अवस्था छ । कता कता गाइँगुइँ सुनिन्छ कि जातपातका कुराहरूले गर्दा पनि नेतृत्व स्वीकार गर्न नसकेको हो रे । ख्रीष्टियन समुदायभित्र यस प्रकारको कुराहरू आउनु एकदमै दुखद हो र यो कुरा अपाच्य छ । बाइबलको शिक्षा विपरित यस प्रकारको कुराहरू आउनु दुखद हो ।
पछिल्लो समय ३ मध्ये २ एकै ठाउँमा उभिएको देखिन्छ भने अर्को एक, एक्लै दौडिरहेको छ । ती दुईवटा कार्यगत एकता गरेका हुन् वा अर्कोलाई सिद्धाउनका लागि वा देखाउनका लागि ? अहिले नै केही भन्न सकिदैन, समयले बताउला …हुन त ख्रीष्टियन समुदायभित्र फोहरी राजनीति घुसिसकेको अवस्था छ । कुनै व्यक्ति वा संस्था अलि माथि गयो भने अर्कोले खुट्टा तानेर लडाउने, कसरी खसाल्ने वा पछार्ने भन्ने जस्ता खेलहरू नभएका होइनन् र भइनै रहेका छन् । इमान्दार भएर सेवकाइ गर्ने सेवकहरू कति पीडित भएका छन् र खोज्यौं भने कति भेटिन्छन् कति ।
यदि ती संस्थाहरूले साँच्चि नै कार्यगत एकता गरेका हुन र केही स्वार्थ छैन भने यसलाई सकारात्मक रुपमा नै लिनु पर्छ । कसैले भनेको थियो कि आ–आफ्नो डम्फू बजाओ तर ताल त एकै खालको आएहुन्थ्यो नि । बेसुरा तालले कान नै दुख्छ । आज यी संस्थाहरूले आ–आफ्नो डम्फू बजाए पनि ताल एकै खालको निस्कनु जरुरी छ । बेसुरा ताल बज्यो भने, सुन्नेहरू दिक्क हुन्छन् र त्यसको कुनै मूल्य हुँदैन र कसैले वास्ता पनि गर्दैन ।
सुझाव वा समाधानका उपायः
१. नेतृत्वले बाइबलका पदहरूलाई बुझेर पनि नबुझे झैँ नगरौं । जातपात, को ठूलो को सानो, को सिनियर को जुनियर जस्ता बेतुकका कुराहरू नगरौं र यस्ता कुराहरूलाई त्यागौं । यी कुराहरू सरासर बाइबल विपरित छन् । १ कोरिन्थी १२ः१३
२. कुनै पनि मानिस सिद्ध छैन र हरेक मानिसमा आ–आफ्नै कमीकमजोरीहरू हुनसक्छन् । बाइबलको शिक्षाअनुसार आफ्नो कमीकमजोरीहरूलाई मानौं र सँगै बसेर कुरा गर्न थालौं । कलस्सी ३ः१३
३. आमविश्वासीहरू वाक्क र दिक्क भइसकेको अवस्था छ । भाई फुट्दा को रमाउँछन् त्यो सबैलाई थाहा छ र बुझेका पनि छन् । यो कुरालाई गम्भिर भएर सोचौं । भजनसंग्रह १३३ः१
४. यदि कुरा गर्न मध्यस्तताको आवश्यकता छ भने, त्यो पनि खोजौं र कमसेकम कुरा गर्नतिर लागौं । १ तिमोथी २ः५
५. बाइबलले भनेको जस्तै आफ्नो वरदानलाई पहिचान गरौं र त्यही अनुसार अघि बढौं । राजनीतिक रुपमा पैरवी गर्ने वरदान भएकाका लागि त्यही कार्य गर्न दिन अलिक पनि नहिच्किचाऔं र मण्डलीको विकास गर्ने वरदान भएकालाई त्यही काम गर्न दिऔं । १ कोरिन्थी १२
६. धर्मका नाममा राजनीति नगरौं । धर्मको नाममा राजनीति गर्ने कमल थापाको हविगत देखेका छौं र यो पनि थाहा छ कि यसको परिणाम के हुन्छ भनेर । यदि राजनीति नै गर्ने हो भने छुट्टै पार्टी खोलेर वा विचार मिल्ने अर्को पार्टीसँग मिलेर जाऊँ । चर्च वा संस्थाभित्र राजनीति बन्द गरौं । विद्यालयहरूलाई शान्ति क्षेत्र घोषणा गरे झैँ मण्डली तथा संस्थाहरूलाई पनि राजनीतिमुक्त क्षेत्र घोषणा गरौं । मत्ती २१ः१२–१३
७. एक अर्कालाई सम्मान गरौं र एक अर्काको अपरिहार्यतालाई पनि स्वीकार गरौं । सबैको उत्तिकै महत्व छ र सबैको केही न केही वरदान छ भन्ने कुरा बुझौं । रोमी १२ः१०
अन्तमाः हामी आम नेपालीहरूले राजनीतिलाई फोहरी खेलको संज्ञा दिएर पन्छने गरेका छौ र गलत व्यक्तिहरू राजनीतिमा हावी भइरहेको अवस्था छ । हामीहरूले वेवस्ता गरेकै कारणले हाम्रो देशको हालत नाजुक भएको हो भन्ने लाग्छ । देशको युवा जनशक्ति विदेशिनु बाध्य छ र दुःख पाइरहेको छ । त्यसैगरी हामी आम विश्वासीहरूले पनि ख्रीष्टियन छाता संगठनहरूका बारेमा चासो दिनु आजको अपरिर्हायता देखिन्छ । यस्तै हो भनेर नबसौं र हामीहरू पनि सहभागी बनौं र सुधारको बाटो पहिल्याऔं । ठूला भन्ने चर्चहरूले पनि चासो दिनु अपरिहार्य देखिन्छ । यस कुरामा मिडियाकर्मीहरूको भूमिका पनि महत्वपूर्ण छ । मिडियाकर्मीहरूले पनि कसैको न्याय नगरी, सकारात्मक सोच राखेर अबको दिनमा आफ्नो कलम चलाउनु पर्ने देखिन्छ । यदि वेवास्ता गर्दै गयौं भने भोलिको दिनमा पछुताउनुको विकल्प हुँदैन । महिला, मुस्लिम, दलित, जनजाति जस्ता वर्गहरूको संवैधानिक मान्यता भएको आयोग छ तर ख्रीष्टियनहरूको आयोग छैन, जो विडम्बनाको कुरा हो र ख्रीष्टियनहरूको एकै आवाज नभएको अवस्थाको यो परिणाम हो । हिजोका दिनहरूमा जसरी सतावट भएको थियो, भोलि नहोला भन्न सकिदैन । हाल, सरकारले फौजदारी विधयक २०७४ लाई टेकेर कुनै पनि बेला ख्रीष्टियनहरूलाई दबाउन तथा दमन गर्न सक्ने अवस्था छ । धर्मनिरपक्षेता जस्ता अति बहुमल्य उपलब्धी गुम्ने खतरा यथावत नै छ । ख्रीष्टियनहरूमा एकता नभएकै कारणले गर्दा अर्कै समूहहरू (झुटा शिक्षाहरू) आएर ख्रीष्टियनकै नामधारण गरी ख्रीष्टियनहरूलाई नै बद्नाम गरिरहेको अवस्था छ र यसको प्रतिकुल असर ख्रीष्टियनहरूलाई नै परिरहेको छ । यसरी नै यिनीहरू सक्रिय भैरहने हो भने भोलिको दिनहरूमा चर्चहरू फुटाउने, विश्वासीहरूलाई भड्काउने र आम सर्वसाधारणका साथै सरकारी निकायहरूमा अझ भ्रम सृजना गर्ने प्रबल सम्भावना देखिन्छ । त्यसैले आजैबाट एकताको लागि ह्दयदेखि सोचौं, पहल गरौं र साँच्चिनै घुँडा टेकेर प्रार्थनामा बसौं । परमेश्वरमा केही असम्भव छैन ।
संसारका आफैलाई सर्वशक्तिमान ठान्ने हस्तीहरूले के के न गरौला वा गर्छु भने तर मरेपछि त्यो कुराहरू केही पनि लगेनन् । नेपोलियन बोनापार्टले आफूलाई दाह संस्कार गर्न लाँदा दुवै हात बाहिर देखाउनु भनेका थिए किनकि उनले महान नेपोलियन बोनापार्टले संसारबाट विदा हुँदा केही पनि लगेनन् भन्ने कुरा आममानिसलाई देखाउन चाहन्थे । बाइबलको अथ्युबले पनि भनेका छन् कि आमाको गर्भबाट नाङ्गै आएँ, अनि नाङ्गै फर्किएर जानेछु, (अथ्युब १ः२१) । मरिलानु केही छैन, डाह, घमण्ड, लालच, को ठूलो को सानो, को सिनियर को जुनियर, जातपात तथा पद जस्ता कुराहरूलाई त्यागांै र आजै नै कुरा गर्न थालौं । यसबाट परमेश्वर अति नै प्रसन्न हुनुहुनेछ र यस देशमा परमेश्वरको महिमा हुनेछ । किनकि धार्मिकताले नै राष्ट्रलाई उचाल्छ भनि हितोपदेश १४ः३४ मा लेखिएको छ । तब मात्र हाम्रा सन्ततिले पनि गर्व गर्नेछन् र उनीहरूले हामी, अहिलेका पुस्तालाई धिकार्ने छैनन् । यसो गर्नाले आज हामी जुन खालको आरोपित भएर जिइरहेका छौं, यी कुराहरू हट्ने छन् र स्वभिमानी तथा सम्मानित नेपाली ख्रीष्टियनहरू भएर जिउन सक्नेछौं र यस राष्ट्रमा परमेश्वरको आशिष् आउनेछ र देशलाई उहाँको महिमाले ढाक्ने छ । (२ इतिहास ७ः१४)
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४