काठमाडौं, २०७५ पुस १५ गते । काठमाडौंका सेवामा समर्पित पास्टरहरूको संयुक्त इसाई गोठालो संगतिले हिजो पुस १४ गते तदानुसार २९ डिसेम्बर २०१८ का दिन सामाखुशीस्थित आशिष इभान्जेलिकल चर्चमा ख्रीष्टमस तथा नयाँ वर्ष १०१९ को शुभकामना आदान प्रदान कार्यक्रमका साथसाथै यस संयुक्त इसाई गोठालो संगतिमा आवद्ध रहेका मण्डलीहरूमा विभिन्न समय र विभिन्न विषयमा डक्टर प्राप्त गर्नुभएका प्रभुका सेवकहरूलाई सम्मान तथा विगत वीस वर्षअघिदेखि पास्टरीय सेवामा रहनुभएका पास्टरहरूलाई रेभरेन्ड अभिषेक कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको शुरुको प्रार्थना पा. डा. सुन्दर थापाले गर्नुभएसँगै शुरु भएको थियो । काठमाडौं क्यापिटल चर्चका क्वायर झुण्डले स्तुति प्रशंसामा अगुवाई गरेको सो कार्यक्रममा सहभागी पाहुनाहरूलाई आसन ग्रहण गराउँदै फूलमाला र खदाले स्वागत गरेलगत्तै स्वागतको मन्तब्य पास्टर डेभिड आचार्य राख्नु भएको थियो । उहाँले स्वागत मन्तब्य राख्ने क्रममा संयुक्त इसाई गोठालो संगतिको परिचय र यस संगतिको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । त्यसपछि विभिन्न विधामा डक्टर गर्नुभएकाहरूलाई रेभ. डा. मंगलमान महर्जनद्वारा सम्मान गरिएको थियो । त्यसक्रममा डक्टरेड प्राप्त गर्नुभएका र यस संगतिमा आवद्ध हुनुभएका मण्डलीका पास्टरहरू क्रमशः रेभ.डा. सुन्दर बहादुर थापा, रेभ. डा. सरीता गिरी थापा, रेभ. डा. तेज बहादुर रोक्का, रेभ. डा. जोमेश ओड, रेभ. डा. गणेश प्रसाद देवकोटा, रेभ. डा. वीरेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको थियो । त्यसलगत्तै विगत वीस वर्षअघिदेखि पास्टरीय सेवकाइमा रहनुभएका विभिन्न मण्डलीका पास्टरहरूलाई रेभरेन्ड अभिषेक गरिएको थियो । यसरी अभिषेक हुनुहुनेमा पास्टर कुमार गुरुङ, पास्टर ईश्वरचन्द्र काप्री, विशप मिनि कुमार राई, पास्टर रविनकाजी बैद्य, पास्टर पासाङ लामा, पास्टर डेभिड आचार्य, पास्टर जीवन बान्तवा राई, पास्टर सीता कुमारी सिंह (सृजना), पास्टर एम बहादुर मगर (केशव), पास्टर धन बहादुर राई (विजय) हुनुहुन्थ्यो ।
सम्मान र रेभरेन्ड अभिषेक कार्यक्रम लगत्तै रेभ. डा. मंगलमान महर्जनले उत्साहको वचन दिनुहुँदै आफ्नो जिम्मामा रहेको सेवाको कार्य निस्वार्थ र उदाहरणीय हुँदै निभाउनु आजको नेपाली मण्डलीको आवश्यकता हो भन्नुहुँदै प्रकाश पार्नुभएको थियो । सारा चर्च लगायत विभिन्न मण्डलीहरूबाट नृत्य तथा विशेष गीतहरू प्रस्तुत गरिएको थियो । सो समारोहमा पास्टर रुपनारायण तिमिल्सिना, पास्टर माधव पौडेल, ख्रीष्टियनहरुको हकहितका लागि विशेष पहल गर्ने मानव अधिकारकर्मी खगेन्द्र ओलीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको अन्तमा संयुक्त इसाई गोठालो संगतिका अध्यक्ष रेभ. कुमार गुरुङले सहभागी लगायत सबैलाई धन्यवादको मन्तब्य राख्नुभएपछि रेभ. डा. मंगलमान महर्जनले अन्तिम तथा आशिषको प्रार्थना गर्नुभएपछि कार्यक्रम समापन गरिएको थियो । सो कार्यक्रममा विभिन्न मण्डलीहरूबाट आमन्त्रित पास्टर अगुवा लगायत विश्वासीहरू गरी ७०० जना जतिको सहभागिता रहेको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४