समयकुमार रम्तेल, बनेपा । बनेपा नगर इसाई समितिको आयोजनामा यहि पौष १० गते बनेपा नगरमा भएको २६ वटा चर्चहरू मिलेर संयुक्त ख्रीष्टमस कार्यक्रम नेपाल बनेपा पोलिटेक्नीक इन्सिच्युट खेलमैदानमा भव्य रुपमा सम्पन्न भएको छ ।
४००० हजार मानिसहरूको उपस्थिति रहेको सो कार्यक्रममा सञ्चार तथा सूचना मन्त्री श्री गोकुल बास्कोटाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव पास्टर रामचन्द्र विसुन्केले गर्नुभएको थियो । त्यसैगरी बनेपा नगर इसाई समितिका अध्यक्ष पास्टर रुवेन रानाले सभाको अध्यक्षता ग्रहण गर्नुभएको थियो । त्यसैगरी विशेष अतिथिमा बनेपा नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठ र नगरउपप्रमुख रेखा सापकोटा(दाहाल) र पास्टर एन.पी.प्रधान रहनुभएको थियो । पत्रकार महासघं काभ्रेका अध्यक्ष मोतीराम तिमल्सेना, रा.स.स. काभ्रेका प्रमुख राजकुमार पराजुली, काभ्रेली इसाई संगतिका अध्यक्ष पा.केशब राना मगर, बनेपा नगरका वडा अध्यक्षहरू, विभिन्न चर्चहरूको धर्मगुरुहरू, पत्रकारहरू, कलाकार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिहरूलाई फूलको माला, खदा र व्याच वितरणसँगै आसन ग्रहनबाट स्वागत गरिएको थियो । शुरुको प्रार्थना पा.विजुलीलाल प्रधानले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संगोजकले गर्नुभएको थियो । राष्ट्रिय गान सँगसँगै संगित झुण्डले विशेष गीत र प्रशंसाबाट ख्रीष्टमस उत्सव विशेष बनाएका थिए ।
प्रमुख अतिथि सञ्चार तथा सूचना मन्त्री श्री गोकुल वास्कोटाले नेपालले एउटा सहि र बैज्ञानिक बाटो अवलम्वन गरेको छ, धार्मिक र साँस्कृतिक स्वतन्त्रता र सदभावसहितको हो । धर्म नैतिकता र मूल्यपद्दतिमा आधारित हुन्छ । ती सबैको सार्थकतत्व भनेको मानवजातिको कल्याण र प्रकृतिको रक्षा हो । न्याय, समानता र स्वतन्त्रताको कुरा हो । यी नै चिज नेपालको लोकतन्त्रले गरेको छ भन्नु हुदैँ उहाले कुनै पनि धर्म व्यक्तिको निजी स्वतन्त्रताको कुरा हो र राज्य सबैको साझा हो त्यसैले राज्यको धर्म हुदैन । धर्म, जाति, भाषा,भूगोलको नाममा नेपालको सदभाव, राष्टिय एकता र सहिष्णुतालाई भत्काउन खोज्ने कुनैपनि दुष्प्रयास नेपालको नागरिकले सफल हुन दिनेछैन जो सम्भावना पनि छैन । किनभने हामीकहाँ सदीऔदेखि धार्मिक सहिष्णुता कायम छ । कुनै जात, भाषा, धर्म, भूगोलको आधारमा भेदभाव हुनेछैन । यही नै राष्ट्रको संकल्प पनि हो । राज्यको निम्ति सबै धर्म बराबर हुन् एकअर्का प्रति आदरसम्मान कायम रहोस् । धर्मको बीचमा लडाई गर्नुपर्ने, सिमा छुट्याउनुपर्ने, र तरबार उचाल्नुपर्ने जरुरी छैन । एकअर्कालाई भेदभाव, हमला,जबरजस्ती र छिछिदुरदुर नगरौं । ख्रीष्टमस तथा नयाँ बर्ष २०१९ को शुभकामना दिदै यस भव्य कार्यक्रमको पूर्ण सफलताको कामना समेत गर्नुभएको थियो ।
विशेष अतिथि नगरप्रमुख, उपप्रमुख र अतिथिहरूबाट शुभकामना मन्तव्य दिनुभएको थियो । पास्टर एन.पी.प्रधानले पवित्र बाइबल धर्मशास्त्रबाट हृदयस्पर्शी वचन बोल्नुभएको थियो । ख्रीष्टमस उत्सवलाई विशेष बनाउन साँस्कृतिक कार्यक्रममा विभिन्न नाचगान, बाइबल पाठ, नाटक, कविता,नृत्य र क्यारल गीतहरू समेत प्रस्तुत गरिएको थियो । सभापति रानाबाट सबै अतिथिहरूलाई ख्रीष्टमस उपहार प्रदान गरिएको थियो । त्यसैगरी नेपाल देश लगायत बनेपा नगरपालिकाको प्रगति र सफल कार्यकालको निम्ति प्रार्थना गरिएको थियो । विभिन्न भाषा जाति र संस्कृति झल्कने पहिरहनमा सजिएका इसाई दाजुभाइ दिदिबहिनीहरू कार्यक्रमबाट उत्साहित भएका थिए ।
कार्यक्रमको अन्त्यमा सभापति पास्टर रुवेन रानाले एकताको मन यसैगरी रहिरहोस्, सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । ख्रीष्टमस क्यारोल गीतमा सबैलाई नचाएपछि अन्तिम प्रार्थना पास्टर राजन परियारले गर्नुभएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४