२०७५ मङ्सिर ३ गते, काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ११ औं राष्ट्रिय भेला ७ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । प्रमुख अथिति राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा विशिष्ट आतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता माननीय मोहना अन्सारी, ७७ वटै जिल्लाका प्रतिनिधि तथा पदाधिकारी लगायत विभिन्न संघसंस्था, मण्डलीका प्रतिनिधिहरूको उपस्थितिमा महासंघको ११ औं राष्ट्रिय भेला आज उद्धाटन गर्नुभएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताउँदै ‘एउटा धर्म मान्नेले अर्को समुदायको धर्म मान्नेमाथि हेला गर्नु हुँदैन। संविधानले धर्म नै नमान्ने स्वतन्त्रताको अधिकार पनि दिएको छ।’ नेपालका अल्पसङ्ख्यक धार्मिक समुदायको सुरक्षाका लागि संविधानमा व्यवस्था भएअनुसार सरकारले मानव अधिकारको प्रत्याभूति गर्ने सम्बन्धी १६ कानुन पारित गरिसकेको उहाँले जानकारी दिनुभएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपालको संविधानले विभेदरहित तथा न्यायपूर्ण समाजको परिकल्पना गरेको बताउँदै जुनसुकै धर्म मान्ने व्यक्तिले आफ्नो धर्मग्रन्थ पढ्न पाउनुपर्छ र आफ्ना बालबच्चालाई पढाउन सक्ने कुरा बताउनु भयो । आफ्नो प्रार्थना गृहमा प्रवेश गरेर कोही व्यक्तिले दुर्व्यवहार गरेमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनसक्ने बताउँदै उहाँले राज्यले अल्पसङ्ख्यक धार्मिक समुदायलाई संविधान बमोजिम संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उद्घाटन सत्रको समापन गर्दै महासंघका अध्यक्ष सि.वि.गहतराजले स्वभिमान र अधिकार सम्पन्न नेपाली ख्रीष्टियन समुदायको सुनिश्चतताका लागि धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समृध्द नेपालको परिकल्पना गर्दै विश्वभरी रहेका नेपाली भाषी मण्डलीहरूसँग सहकार्य गर्दै परमेश्वरको महिमाका लागि महासंघ प्रतिबद्ध रहेको बताउनु भयो । नेपाल सरकारले यस वर्ष पनि काटेको ख्रीष्टमसको विदालाई कायम गरेरै छाड्ने, धार्मिक आयोग गठन गरेरै छाड्ने तथा नेपाली ख्रीष्टियन समुदायका समस्याहरूलाई समाधान गर्न महासंघ सधै नै लागि पर्ने तथा मण्डलीको हितमा कार्य गरिनै रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
उद्धाटन सत्र सकिएपश्चात महासंघको बन्द सत्रमा महासंघका सदस्य सचिव पा. धनराज घिमिरेले महासंघको आ.व.२०७४÷७५को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष शुसिला खड्काले महासंघको आर्थिक प्रतिवेदनका साथै आ.व.२०७५÷७६ को नीति तथा कार्यक्रमका साथै अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । महासंघका प्रदेश प्रमुखहरूले आफ्नो प्रदेशहरूमा महासंघका गतिविधिहरूका बारेमा जानकारी गराउनुभएको थियो । शुरुको प्रार्थना महासंघका वरिष्ठ सहअध्यक्ष रेभ.डा. फिलेमोन क्षेत्रीले गर्नुभएको थियो र सभाको संचालन महासंघका उपमहासचिव पा. उद्धव चिमोरियाले गर्नु भएको थियो । राष्ट्रिय भेला २०७५ का संयोजक एवं महासंघका सह–अध्यक्ष पा. तेजमान तामाङले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएपश्चात अन्तिम प्रार्थना गर्नुभई राष्ट्रिय भेला समापन गरिएको थियो ।
केहि रिक्त रहेका पदहरूमा पदपूर्ति गरिएको पनि महासंघले जनाएको छ । जसअनुसार प्रदेश ५ का प्रमुख तथा उपाध्यक्ष पा. टेक विक्रम हिताङलाई सह–अध्यक्ष तथा संगठन र मण्डली समन्वय विभाग प्रमुख, पा. उद्धव चिमोरियालाई उपमहा–सचिव तथा प्रवक्ता, सदस्य सचिव पा. धनराज घिमिरेलाई उपमहा–सचिव, केन्द्रिय सदस्य पा. प्रेम कार्कीलाई सचिव, केन्द्रिय सदस्य पा. भुपेन्द्र राईलाई सह–सचिव, ललितपुर जिल्ला समितिका उपाध्यक्ष दानियल घलेलाई केन्द्रिय सदस्यमा महासंघको विधान २०६८ को दफा ४६ को उपधारा ३ बमोजिम सर्वसम्मतिका साथ मनोनयन गरिएको छ । मनोनयन भएका सबैलाई महासंघका अध्यक्ष सि.वि.गहतराजले प्रतिबद्धता गराउनु भई प्रमाण–पत्र वितरण गरिएको थियो ।
नेपाली मण्डलीहरूलाई आफ्नो हकहितका बारेमा आवाज उठाउनका लागि प्रशिक्षिण दिने, नेपाल सरकारसँग भएको ३ र ६ बुँदे सहमतिहरूलाई कार्यान्वयन गराउन प्रभावकारी रुपमा पैरवी गर्ने, राष्ट्रिय सदाचार नीति २०७५ र फौजदारी विधयक २०७४ लाई संशोधन गर्नका लागि पहल गर्ने, महासंघको कार्यलाई प्रभावकारी बनाउन ७ वटै प्रदेशहरूमा प्रदेश स्तरीय कार्यालयहरू स्थापना गर्ने, अन्तर्राष्ट्रिय सञ्जालहरूमा महासंघ आबद्ध हुने, नेपालको संविधान २०७२ मा धर्मनिरपेक्षतालाई गलत व्याख्या गरिएकोले संशोधनका लागि पहल गर्ने र नेपालको राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गर्दै देशैभरिका मण्डलीहरूमा जनगणना सम्बन्धि सचेतना कार्यक्रमहरू संचालन गर्ने भन्ने कुरा ७ बुँदे घोषणा–पत्रमा उल्लेख गरिएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४