२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

के इसाई हुनु अपराध हो ?

पास्टर सागर बैजु ।

मान्छेका तमाम मौलिक हकहरूमध्येमा धर्मसम्बन्धी हक पनि एक हो । उसलाई कुन धर्म कसरी मान्ने भन्ने बारेमा आफैले निर्क्योल गर्न पाउने अधिकार छ । यही सामान्य धार्मिक अधिकारको आधारमा धार्मिक स्वतन्त्रता प्रयोग गरेका नेपाली इसाईहरूमा यतिखेर एकखाले समस्या तथा अन्यौल उत्पन्न भएको छ । इसाई हुनु मात्रै पनि एक गैरकानुनी काम गर्नुजस्तो भएको छ । राज्यले ‘नराम्रो’ को परिभाषामा इसाई समाजलाई परिभाषित गर्न खोजेको आभाष हुन थालेको छ ।

हिजो जातिय आधारमा अपहेलित भएका र होच्याइएकाहरू आफ्नो धर्म आफै छानेर ‘तल्लो’ भनिने पगरी मिल्काउने अवस्थासम्म पुग्दा आज फेरि धार्मिक आधारमा अपहेलित हुनुपर्ने वातावरणको सृजना भएको छ ।

म आफू दलित भनिने परिवारमा जन्मिएँ, समाजका यावत् जातिय भेदभावको शिकार भएँ । जातिय आधारमा ममाथि अकल्पनीय भेदभाव हुँदा मेरो पक्षमा न राज्य उभियो, न समाज, न धर्म । जातका हिसाबले राज्य, समाज र धर्म तीनै पक्षबाट मैले पीडामात्र पाएँ । हरेक मानिस पीडाबाट मुक्ति चाहन्छ । त्यही मुक्तिको लागि मैले इसाई धर्म अध्ययन गरेँ । धेरै वर्षसम्म यो धर्मलाई पढेर व्यवहारिक बनें । समाजको यावत् समस्याका बिचमा चिन्दै नचिनेको अर्कै धर्मका बारेमा पढेर बुझ्नु सजिलो कुरो पक्कै थिएन ।

हरेक मान्छे मानसिकरूपमा शान्ति चाहन्छ, प्रेम चाहन्छ, सन्तोष चाहन्छ । त्यसैका लागि ऊ भौँतारिएको हुन्छ । म पनि यिनै चिजहरूका लागि भौँतारिएको थिएँ । सबैका निम्ति एउटा बिन्दु हुन्छ, जहाँ पुगेपछि उसले खोजेको प्रेम, सन्तोष तथा आनन्द प्राप्त गरेको महसुस गर्छ । इसाईमतको अध्ययन र यसलाई ग्रहण गरेपछि मैले पनि सो बिन्दुमा पुगेको महसुस गरेको हुँ ।

मैले अरूको बारेमा होइन, आफ्नै बारेमा निर्णय गरेको हुँ । मैले फुटबल खेल्ने कि क्रिकेट खेल्ने, हिन्दु बन्ने कि बुद्धिष्ट, मुस्लिम वा इसाई बन्ने, त्यो सबै मेरो छनौटको विषय हो । आफ्नो बारेमा निर्णय गर्न पाउने व्यक्तिगत स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा पनि किन यहाँ ठूलै अपराध गरेसरह व्यवहार गरिन्छ ? मेरो प्रश्न मेरो समाजलाई ।

धर्म मेरो व्यक्तिगत छनौटको विषय हो । जसले जतिसुकै तर्क तर्कना गरे पनि एउटा लोकतान्त्रिक देशले नागरिकलाई “तँ तेरो बारेमा निर्णय गर्न पाउँदैनस्” भन्न मिल्दैन । मैले आफ्नो धर्म रोज्दा राज्यलाई खतरा हुन्छ र ? मैले आफ्नो बाटो तय गर्दा अरूहरूको आस्थामा चोट लाग्छ र ? यसरी व्याख्या गर्नु अन्याय होइन र ? किन कुनै स्पष्ट प्रमाणविना नै कहिले जबर्जस्ति त कहिले प्रलोभनमा पारेर धर्मपरिवर्तन गरेको/गराएको आरोपहरू लगाइन्छन् ? वास्तवमा भन्ने हो भने यी आरोपहरू भ्रम हुन्, आफूभित्रका समस्याहरू समाधान गर्न नसक्दाको छटपटीहरू हुन् । समस्या आफुमा छ भने आफु सच्चिने हो, दुनिंयालाई सच्याउन खोज्नुहुँदैन ।

राष्ट्र निर्माणको क्षेत्रमा नेपाली इसाई समुदायले ठूलो भूमिका खेलेको छ । सर्वसुलभ शिक्षा तथा स्वास्थ्य सेवा बोकेर ख्रीष्टियनहरू दुरदराजमा पुगे, कहिल्यै डाक्टरको मुख नदेखेकाहरूलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिए, अशिक्षाले गाँजेको समाजलाई शिक्षाको उज्यालो घाम देखाए । ख्रीष्टियनहरूले बगाएका पसिना र उठाएका कष्टहरूलाई नजरअन्दाज गरेर राज्यले उनीहरूलाई दुई नम्बरी नागरिक देख्नु सरासर गलत हो ।

नेपाली समाजमा विध्यमान छुवाछुत, बहुबिबाह, बालबिबाहलाई नेपाली इसाई समाजमा ठाउँ छैन । सतप्रतिशत नभए पनि ती कुराहरूमा इसाई समुदाय धेरै हदसम्म चोखो छ । के यो समाज विकासको निम्ति ठूलो आयाम होइन र ?

यति दु:ख गरेको एउटा समाजलाई एकातिर राज्यले दोश्रो दर्जाको व्यवहार गरेको छ भने अर्कोतिर कुन बेला के पो हुने हो भनी त्रासमा बाँच्नुपर्ने अवस्थाको सृजना भएको छ । हिँड्दा हिँड्दै कसैले बाटोमै कुटिदिने पो हो कि वा प्रार्थना गर्दागर्दै चर्चमा बम पड्कने पो हो कि भन्ने त्राशमा इसाई समुदायलाई पुर्याइएको छ ।

सरकारले हालै सार्वजनिक गरेको मुलुकी अपराध संहिताले इसाई समुदायलाई ताकेरै प्रहार गरेको छ । के धार्मिक बन्नु अपराध हो ? बरू, अधर्मी बन्नु पो अपराध हुनुपर्ने हैन र ? धर्मले मान्छेलाई नैतिकवान्, आचरणले भरिएको बनाउने हो, गरिखान सिकाउने हो तर मुलुकी अपराध संहिताले धार्मिक कामलाई अपराधजन्य बनाएर संकुचित बनाएको छ । चर्चमा आगो लगाउँदा वा वम पड्कँदा निष्क्रिय रहने कानुन किन कुनै निश्चित धार्मिक समुदायलाई पैसा वा व्यापारको रूपमा चित्रण गर्न अघि सर्छ ?

यी सबै कुराहरू गरिरहँदा मेरो आशय यो पनि होइन कि इसाई समुदायभित्र कुनै पनि समस्या छैन । गल्ती हुने मान्छेबाटै हो र हामी पनि तिनै मान्छेमध्येकै हौँ । हामीबाट पनि भूलहरू भएका हुनसक्छन् । केही समूह छन्, जसले जबर्जस्ति घरहरूमा पुगेर वा बाटोछेउमा ढुकेर प्रचार गर्छन्, आफूबाहेक सबै खराव भनी दावी गर्छन्, विरामी हुँदा अस्पताल जानुपर्दैन भनेर भ्रम छर्छन् । अहिलेको वास्तविक समस्या तिनीहरू नै हुन् । यहाँनिर सबैले बुझ्नुपर्ने आवश्यकता के हो भने ती समुहहरू एउटा हिन्दु वा बुद्धिष्टसँग भन्दा हामी इसाईहरू प्रति बढ्ता आक्रमक हुन्छन् । उनीहरूको सैद्दान्तिक धरातल र प्रस्तुतीकरणको शैलीअनुसार नै उनीहरूलाई आम-इसाईहरूले “झुटा शिक्षा” को सूचीमा राखेका छन् । उनीहरूले गर्ने गल्तिको दोष ती आम-इसाईहरूलाई लगाउन मिल्दैन, जो आफै पनि ती समुहहरूबाट पीडित छन् ।

इसाई समुदायभित्रका कमजोरीहरूप्रति हामी सदैव सचेत छौँ । साथै, गुण र दोषको आधारमा गरिने समर्थन वा विरोधको हामी स्वागत गर्छौं । तर इसाईहरूको अस्तित्व स्वीकार नै नगर्ने, बहिस्कारबादी शैलीको आधारहीन विरोध र दवावहरूको हामी विनम्रताका साथ खण्डन गर्छौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...