
काठमाडौँ । रुपान्तरित युवा, सुसज्जित मण्डली र प्रगतिशिल राष्ट्र निर्माणमा सहयोग पुर्याउने नाराका साथ नेपाल ख्रीष्टियन युवा आयोगको प्रदेश नं. १ को प्रदेश स्तरीय युवा भेला विजय चर्च वशन्तटार धरानमा गत साउन २९-३१ गतेसम्म भव्यताकासाथ सम्पन्न भएको छ । प्रदेश नं. १ का संयोजक तथा पुर्वाञ्चल इसाई समाजका अध्यक्ष पा. कुवेर गुरुङको सक्रियतामा सो भेलाको आयोजना गरिएको थियो ।
नेपाल ख्रीष्टियन समाजका जिल्ला अध्यक्षहरू, वरिष्ठ पास्टरहरू र ९ वटा जिल्लाका युवा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको सो भेलामा नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्लीराम पौडेल, कोषाध्यक्ष पा. राजेन्द्र मल्ल, केन्द्रिय सदस्य वि.पी. खनाल, ख्रीष्टियन युवा आयोगका सहसंयोजक विदुर अधिकारी, केन्द्रिय सदस्यहरू र विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो । समाजका महासचिव पौडेलले युवाहरू देशका शक्ति भएकोले देशको विकास र देशको भविष्य फेर्न युवाहरूको खाँचो भएकोले सशक्त भई युवाहरूलाई देश निर्माणमा र समाज परिर्वतनमा प्रार्थना सहित लाग्न उत्साह दिनुभएको थियो भने केन्द्रिय सदस्य खनालले हालै लागू भएको मुलुकी ऐनको विषयमा र वर्तमान कानुनका विभिन्न विषयहरूमा चर्चा गर्नुभएको थियो । युवा भेलाले युवाहरू देशको मुहार फेर्न उत्साहित भएको सहभागीहरूले बताएका थिए ।
ख्रीष्टियन युवा आयोगका सहसंयोजक अधिकारीले देशभरि छरिएर रहेका जवानहरूको सर्वाङ्गिण विकास (बौद्धिक, शारीरिक, आत्मिक र सामाजिक) गरी मण्डलीलाई विभिन्न क्षेत्रमा सुसज्जित गरी देश निर्माण गर्ने कार्यमा युवाहरूको महत्वपूर्ण भूमिका रहेकोले नेपाल ख्रीष्टियन समाजले विगत २ वर्षदेखि विभिन्न तयारी गरी देशभरि रहेका जवानहरूलाई एउटै सञ्जालमा ल्याई जवानहरूको जीवन रुपान्तरण गर्न राष्ट्रव्यापी अभियानका लागि नेपाल ख्रीष्टियन युवा आयोग गठन भएकोले सबै युवालाई यस अभियानमा साथ दिन अनुरोध गर्नुभयो ।