साउन ६, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज दिउँसो आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराज अमेरिकी सरकारको धार्मिक स्वतन्त्रता तथा मामिला मन्त्रीको निमन्त्रणमा मन्त्रीस्तरीय एक अन्तराष्ट्रिय कार्यक्रममा अल्पसंख्यक नेपाली समुदायको प्रतिनिधित्व गर्दै अमेरिका भ्रमण गर्न लाग्नु भएको कुराको जानकारी गराएको छ ।
दुई सय भन्दा बढी राष्ट्रका सरकारी प्रतिनिधिहरू, मानव अधिकारकर्मीहरू, अल्पसंख्यक धार्मिक समुदायका प्रतिनिधिहरू लगायत सहभागी हुने सो कार्यक्रममा नेपालमा रहेका अल्पसंख्यक धार्मिक समुदाय विशेषगरी ख्रीष्टियन समुदायको हकहित र अधिकारको पक्षमा आफूले त्यहाँ बोल्न लागेको कुरा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा उठेका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले महासंघ समस्त ख्रीष्टियन समुदायको हकहितका लागि काम गर्दै आएको र आगामी दिनमा पनि जस्तोसुकै परिस्थितिको सामना गर्नु परेता पनि समुदायको हितमा काम गरिरहने कुरा उहाँले बताउनुभयो । अमेरिकामा हुन लागेको सो कार्यक्रममा नेपालबाट मन्त्रीसहित सरकारी निकायका साथै राष्ट्रिय मानव आयोगका पदाधिकारी पनि सहभागी हुने कुरा जनाइएको छ । उहाँ अमेरिकामा आयोजना गरिएको सो कार्यक्रममा सहभागी हुन आजै बेलुकी अमेरिकातिर प्रस्थान गर्नुभएको छ ।
महासंघका उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुले सो पत्रकार सम्मेलन तथा अध्यक्षको विदाई कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो । कोषाध्यक्ष पा. धन बहादुर थापा (आमेन)को प्रार्थनाबाट शुरु भएको सो कार्यक्रममा सचिव पा. उद्धव चिमौरियाले सहभागी सबैलाई स्वागत मन्तव्य दिनुभएको थियो भने अन्तिम आशिषको प्रार्थना सह–अध्यक्ष पा. तेजमान तामाङले गर्नुभएको थियो । सो पत्रकार सम्मेलन तथा विदाई कार्यक्रममा महासंघका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४