बैशाख १८, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबारबाट शुरूभएकाे राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १०औं राष्ट्रिय भेला १० बुँदे घोषणा पत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित बेथेल चर्चमा “सम्पूर्ण ख्रीष्टियन समुदायहरू एक होऔँ, अस्तित्व पहिचान र अधिकार सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ महासंघका केन्द्रीय अध्यक्ष सि.बि गहतराजकाे सभापतित्वमा राष्ट्रिय भेला सम्पन्न भएको हो ।
घोषणपत्र जारी गर्दै उहाँले प्रस्तावित राष्ट्रिय सदाचार नीतिको विरोध गर्दै नीतिको अविलम्ब आवश्यक संसोधनको माग गर्नुभयो । सो भेलाले सम्पूर्ण ख्रीष्टियन समुदाय समन्वय र सहकार्य मार्फत समुदायमाथि आइपरेको समस्या र सतावटबाट बच्नका लागी एक भइ अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । १०औं राष्ट्रिय भेलाको अन्तमा पत्रकार सम्मेलनको आयोजना गरी दुई दिनसम्म चलेको राष्ट्रिय भेलाको निष्कर्ष १० बुँदे घोषणा पत्र पढेर सुनाउनु भएको थियो । पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा कुनै पनि साँचो ख्रीष्टियनले जबर्जस्ति धर्म परिवर्तन गराउदैन भन्नुहुदैँ नेपालको संबिधानले दिएको अधिकार सबै अल्पसंख्यक समुदायले पनि उपयोग गर्न पाउनु पर्ने कुरालाई जोड दिनुभयो ।
कर्णाली प्रदेशमा सम्पन्न दशौं राष्ट्रिय भेलाले जारी गरेकाे १० बुँदे घोषणा पत्रकाे पूर्णपाठ यस्ताे छः
दशौं राष्ट्रिय भेला घोषणा पत्र – २०७५ आदरणीय उपस्थित जनसमुदायहरू, नेपालको ख्रीष्टियन इतिहास करिब ४०० वर्षभन्दा पुरानो र विभिन्न परिस्थितिलाई पार गर्दै यहाँसम्म आइपुगेको छ । नयाँ संविधानमा ख्रीष्टियन सुझाव समितिले तयार पारेको १३ बुँदे आधारपत्रलाई कार्यान्वयन गराउनको लागि ख्रीष्टियन समुदायको तर्फबाट एक छाता संगठनको आवश्यकताको महसुस गरिएको थियो । यसै क्रममा यस अघि नै नयाँ संविधानमा ख्रीष्टियन सुझाव समितिको वृहत राष्ट्रिय भेलाले “राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल” गठन गरियो । उक्त निर्णय बमोजिम मिति २०६८ असोज २९ गते विधिवत रुपमा दर्ता भई “राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल” राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो उद्देश्य अनुरुप हामी ख्रीष्टियन समुदायको अस्तित्व, पहिचान र अधिकारको सुनिश्चिताको लागि निरन्तर क्रियाशिल रहेको यहाँहरूलाई अवगत नै छ । २०७३ भदौ २३ र २४ गते सम्पन्न भएको दोश्रो राष्ट्रिय महाधिवेशनले सी.वी. गहतराजको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रिय कार्यसमितिले नेतृत्वको जिम्मेवारी सम्हाल्दै १५ बुँदे “काठमाडौं घोषण पत्र – २०७३” जारी गरेका थियांै । सो घोषणापत्रमा उल्लेखित कार्यहरू सम्पन्न गर्ने क्रममा आएका विभिन्न आरोह अवरोहको बाबजुद् पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकेका थियौं । दशौं राष्ट्रिय भेलाका घोषणाहरूः
१. नेपाल सरकार र महासंघवीच भएको ६ बुँदे सहमतिको कार्यान्वयन गरी देशभरका मण्डलीहरूलाई पवित्र धार्मिक स्थलको रूपमा स्वतन्त्र गुठीको मान्यता प्रदान गराई सञ्चालन र व्यवस्थापनका लागि नीतिगत व्यवस्था मिलाई चर्च (मण्डली) विकास समिति गठन गरी संरक्षण तथा संवद्र्धनका कार्यहरू गर्ने ।
२. राष्ट्रिय ख्रीष्टियन आयोग गठन गराउन देशभर प्रार्थना अभियान सञ्चालन गर्ने र सरकारको ध्यानाकर्षणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरी नेपाली मण्डलीहरूको हित, उन्नति, अस्तित्व, पहिचान र अधिकारको सुनिश्चितता गर्दै राष्ट्रिय सरोकारका विषयहरूमा आवश्यक नीतिगत व्यवस्था गराउँदै निरन्तर क्रियाशिल रहने ।
३. नेपाल सरकार र ख्रीष्टियन समुदायवीच भएको ३ बुँदे सहमति कार्यान्वयन गरी समाधिस्थलको अस्थायी एवं स्थायी समाधानका लागि नीतिगत व्यवस्था गराउने ।
४. ख्रीष्टमसका लागि २ दिन, गुड फ्राइडे १ दिन र येशू ख्रीष्टको पुनरुत्थानको दिन (इष्टर) १ दिन गरी ख्रीष्टियन समुदायका लागि जम्मा ४ दिनको सार्वजनिक विदा कायम गराउन निरन्तर लागि रहने ।
५. ख्रीष्टियन मण्डली (चर्च) समुहहरू, समाज, विभिन्न मण्डली सम्प्रदाय, पाष्टर तथा अगुवा समुह तथा धार्मिक समुदायसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई महासंघमा आवद्ध गराई समन्वय, सहकार्य र संरक्षण गर्ने ।
६. प्रस्तावित राष्ट्रिय सदाचार नीतिको अध्ययन गरी सम्बन्धित निकायलाई सुझाव दिई आवश्यक संसोधनको लागि पहल गर्ने ।
७. नयाँ संविधानमा धर्मनिरपेक्षतालाई गलत रुपमा परिभाषा गरिएको हुँदा त्यसलाई सच्याउन लगाई धर्मनिरपेक्षताको लागि नेपाली मौलिकता अनुसार सबै धार्मिक समुदायलाई सम्मान हुने नयाँ मोडल तयार गरी देशव्यापी रूपमा धर्मनिरपेक्षता सम्बन्धी प्रशिक्षण अभियानहरू सञ्चालन गर्ने र धार्मिक समुदायसँग समन्वय र सहकार्य गर्ने ।
८. ख्रीष्टियन समुदायको योगदान स्वरूप स्थापना भएका मिसन अस्पतालहरू, शैक्षिक संस्थाहरू लगायतका सार्वजनिक महत्वका निकायहरूको अध्ययन गरी त्यसको कदर गर्ने, जसको दर्शन अनुसार सो सेवा सञ्चालन भएको हो, उसलाई नै निरन्तर सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने एवं समन्वय गरी संरक्षणको लागि भूमिका निर्वाह गर्ने ।
९. नेपालमा लामो समयदेखि मण्डली स्थापना तथा सुसमाचार प्रचार गर्नुका साथै विभिन्न क्षेत्रमार्फत सामाजिक सेवाका साथै अन्य योगदान गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, पाष्टर तथा संस्था प्रमुखहरूको अध्ययन, अनुसन्धान र पहिचान गरी सम्मान सहित ऐतिहासिक दस्तावेजीकरण गर्ने ।
१०. ख्रीष्टियन समुदायभित्र रहेका विभिन्न प्रतिभाहरू जस्तै: कलाकारिता, पत्रकारिता, साहित्य, संगीत, गायन, नृत्य आदि विधाका व्यक्तित्वहरूको खोजी गर्नुका साथै हौसला प्रदान गरी संरक्षण र सम्बर्धनका लागि भूमिका खेल्ने ।
उल्लेखित मागहरू यथासिघ्र सम्बोधन गर्न नेपाल सरकार, प्रतिनिधि सभा, प्रदेश सभा, प्रमुख राजनीतिक दलहरू, मानव अधिकारकर्मीहरू, अधिकारकर्मीहरू, कुटनीतिक नियोग, पत्रकार मित्रहरू र धार्मिक तथा साँस्कृतिक मानव अधिकारका पक्षधर सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा सहयोगको अपेक्षा गर्दै उल्लेखित मागहरूलाई यथासिघ्र कार्यान्वयन गर्न संबन्धित निकायसँग माग गर्दै यो घोषणा पत्र प्रस्तुत गर्दछौं ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४