२०७५ वैशाख १७, सुर्खेत । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको दशौ राष्ट्रिय भेला कर्णाली प्रदेशको प्रादेशिक राजधानी सुर्खेतमा शुरु भएको छ ।
महासंघका केन्द्रिय अध्यक्ष सि.बि. गहतराजको सभापतित्वमा शुरु भएको राष्ट्रिय भेलामा ७ वटै प्रदेशका प्रमुखहरू, विभिन्न संघसंस्था र विभिन्न जिल्लाका ख्रीष्टियन समाजका साथसाथै देशभरका विभिन्न मण्डली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। सो राष्ट्रिय भेलाको उद्घाटन महासंघका केन्द्रिय अध्यक्ष सि.बि. गहतराज, विशिष्ठ अतिथि सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्री र कर्णाली प्रदेश प्रमुख पा. पदम गैरेले संयुक्त रुपमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो ।
विशिष्ठ अतिथि सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीले परमेश्वरको आशिषमय वचन बाँडनुभएको थियो भने आराधनाको अगुवाई तिमोथी नेपाली नेतृत्वको क्वाएर झुण्डले गरेको थियो । साथै विभिन्न झुण्डहरूले आ-आफ्ना प्रस्तुति प्रस्तुत गर्नुभएको त्यो भेलाको उद्घाटन सत्रमा महासंघका अध्यक्ष सि.बि. गहतराजले महासंघको वार्षिक प्रतिवेदन पेश गर्दै नेपाली ख्रीष्टियन समुदायको वर्तमान अवस्था, ख्रीष्टियन समुदायका विद्यमान समस्याहरू र महासंघको भावी योजनाको विषयमा अवगत गराउनुभयो । सो प्रतिवेदनका बारेमा चर्चा गर्दै उहाँले सबै मण्डली, ख्रीष्टियन संघसंस्थालाई सँगै लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै सरकारले ल्याउन लागेको राष्ट्रिय सदाचार नीतिले ख्रीष्टियन समुदायमाथि विभेद गरेको र प्रधानमन्त्री, गृहमन्त्री लगायतले दिएका पछिल्ला अभिव्यक्तिले ख्रीष्टियन समुदायको गम्भिर ध्यानाकर्षण भएको भन्दै सदाचार नीतिको विरोध गर्दै संसोधनको माग गर्नुभयो । भेलालाई सम्वोधन गर्दै उहाँले ७ वटै प्रदेशमा महासंघको कार्यालय स्थापना गरेर सक्रियतापूर्वक काम कारवाही अघि बढाउने तयारी भईरहेको समेत जानकारी गराउनुभयो ।
यस्तै उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुले नेपालको संवैधानिक व्यवस्था र अन्तरराष्ट्रिय मानवअधिकार सम्बन्धी कानुनले प्रत्याभूत गरेका नागरिकका आधारभूत मौलिक हक अधिकार र ख्रीष्टियन समुदायले अपनाउनु पर्ने सर्तकताको विषयमा सभालाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रतिवेदनमाथि चर्चा गर्दै ७ वटै प्रदेशका प्रमुखहरूले आ–आफ्ना प्रदेशगत प्रतिवेदन पेश गर्नुका साथै आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यस भेलाका संयोजक तथा कर्णाली प्रदेश प्रमुख पा. पदम गैरेले महासंघले सरकार र विभिन्न राजनीतिक पार्टीहरूसँग ख्रीष्टियन समुदायको हक हित र अधिकार पहिचान स्थापित गराउने सवालमा पटक–पटक आवाज उठाउँदै आएकोले देशभरका मण्डलीहरूले यति बेला महासंघलाई साथ र सहयोग गर्दै हातेमालो गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । सो उद्घाटन सभालाई केन्द्रिय समितिका सचिव पा. किरण दासले संचालन गर्नुभएको थियो भने महासंघका विभिन्न विभागका प्रमुखहरूले पनि मन्तव्य राख्नुभएको थियो । स्मरण रहोस्, महासंघको यस भेला भोलि पनि चालू रहने छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४