२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कथा – स्लिम मोबाइल र स्लिम केटी

सुमित नेपाली – अफिस जान हतार भएको थियो । खाली माइक्रो कुर्दाकुर्दै धेरै बेरको पर्खाइपछि युद्ध जिते जसरी सिटमा बसें । मेरो सँगैको सिट खाली थियो । एकछिन पछि एक जना केटी आएर बसी । पुरानो किशोर कुमारको गीत बजिरहेको थियो । “पल पल दिल के पास तुम रेहेते हो…..”, घाम र पुरानो गीतको संयोगले होला, मेरो कुममा कसैको टाउकोको बोझ थपिएको हो कि जस्तो लाग्यो । एउटी केटी मेरो कुममा आफ्नो मुन्टोको भारलाई थेग्न नसकी निदाईरहेकी मैले चाल पाएँ । मैले अति असहज मानेर उनको टाउकोलाई उतापट्टि पल्टाई दिएँ । उनको निन्द्रा सजिलै खुल्ने किसिमको थिएन । एकछिन पछि फेरि उनको मुन्टो मेरो काँधमा आइपुग्यो । मैले यो समय भने कुनै प्रतिक्रिया दिइन । एक्कासी माइक्रोले आपत्कालिन ब्रेक लगायो । ब्रेकले उनको निन्द्रालाई डिस्टर्ब गरिदियो । उ अति असहज भएजस्तो र थोरै लजाए जस्तो गरी आफ्नो स्थानमा सिधा भएर बसी र केही समय पछि उनी माइक्रोबाट झरेर गइन् । मैले … लामो सास फेरें र बजिरहेको गीतलाई गुनगुनाएँ । मिठो गीत बज्दै थियो । “प्यार हम को भि है, प्यार तुम को भि है…..”

केही क्षणमा नै मोबाइल भ्यार भ्यार बज्यो । मैले मोबाइल हेरें । सोनीको एकदम पातलो मोबाइल रहेछ, त्यहि मेरो काँधमा टाउको राखेर निदाएकी बेहोसीमा बिचरीले आफ्नो महँगो मोबाइल छोडेर गैछे । मैले फोन उठाएँ, उसले अत्तालिँदै भनि, “मैले अघि खाजा खाँदा मोबाइल त्यही छोडेछु । प्लिज मलाई मेरो मोबाइल दिनुहोस् । म कहाँ आउँ मोबाइल लिन । प्लिज मलाई त्यसको सिम र मेमोरी कार्ड धेरै नै इम्पोट्यान्ट छ । बरु मोबाइल तपाईं राख्नुुस् ।” सास नै नफेरी उसले आफ्नो भनाई सिध्याई, मैले उनलाई भनें, “तपाईले खाजा खाको ठाउँमा होइन, माइक्रोमा आफ्नो मोबाइल छोड्नु भको हो । मैले चोरेको होइन भेट्टाको हो ।” उसले भनि, “ओहो ! मलाई थाहा छ, तपाईंले चोर्नु भएको होइन । म तपाईंलाई कहाँ भेटौं ? प्लिज मोबाइल अफ नगर्नुस् है ।” मैले थपें, “सहि आइडिया बताउनुभयो । म अफ गर्न पनि सक्छु ।” उसले दुखित हुँदै भनि मलाई प्लिज प्लिज सिम कार्ड र मेमोरी कार्ड मात्र दिए पुग्छ । मैले जाउलाखेलको एक क्याफेमा आउन उनलाई भनें र म जाउलाखेल नै झरें । क्याफेमा कफी पिउन छिरें र उसका फोनलाई हेर्न थालें । अगाडि उनका सुन्दर अनुहार भएको फोटो थियो तर स्क्रीन लक थियो । मैले केही कोशिस गरें खोल्न तर खोलिएन र म त्यसै बसें । एकछिनमा एउटा कल आयो । मैले त्यो हेरिरहें तर फोन उठाइन । एक छिनमा एउटा म्यासेज आयो । तर त्यो भने स्क्रीन लक भएकोले खुलेन । म उनलाई पर्खिरहें ।

मेरो कफी सकिएसँगै उनको आगमन भयो । मैले अघि माइक्रोमा नदेखेको उनको सुन्दरता देखें । उनको अनुहार र मलाई देख्ने बित्तिकैको उनको मुस्कान धेरै राम्रो थियो । मैले उनलाई उनको मोबाइल दिएँ । उनले धन्यवाद भन्दै सिम र मेमोरी कार्ड निकाल्न लागिन् । मैले हाँस्दै सोधें, के गर्न लागेको ? उनले भनिन्, सिम र मेमोरी कार्ड निकाल्न खोजेको । स्टुडेण्ड भिसा लागि सक्यो, सो बाहिर जाँदैछु । मोबाइल तपाईं राख्नुस् । मैले मुस्कान साथ उनलाई भनें, तपाईंको फोन तपाईंसँगै राख्नुुस् । मलाई स्लिम केटी र स्लिम मोबाइल दुबै मन पर्दैन । मेरो कुराले क्याफे नै थर्किने गरी उ हासी र भनी, अहिले स्लिमको नै जमाना छ । म पनि हाँस्दै भनें, साँच्चै हो, मलाई चाहिँ स्लिम मोबाइल र स्लिम केटी दुबै मन पर्दैन । उसँग बसेर फेरि कफी खाएँ र कफीको पैसा तिर्छु भनेर जिद्दी गरिन् र पैसा तिरेपछि हामी सँगै निस्कियौं । छुट्ने बेलामा फेरि उनले भनि स्लिम मोबाइल र स्लिम केटी दुबै मन नपर्ने मान्छेको मलाई स्माइल चाहिँ मन प¥यो ।

…………………………………………

आज धेरै कुरा सम्झना आए र धेरै समय पछि आफ्नो ल्यापटपमा भएको फोल्डर खोलें । त्यसभित्र उसका कयौं सम्झनाका फोटोहरू थिए । साँच्चै उ धेरै राम्री थिई, फोटोमा भन्दा पनि राम्री कुनै नायिका भन्दा पनि कम थिइन । फोटो हेर्दै गर्दा त्यो दिनको याद आयो । साँच्चै त्यो दिन अझै नि झलझली याद आउँछ ।

जाउलाखेलमा कन्सर्ट भएको थियो, त्यसको प्रत्यक्ष प्रसारण हिमालय टि.भी.बाट हुने भएकोले म त्यसमा बिजी थिएँ । भिडियो गर्दागर्दै थाकेर अब आफ्नै क्यामेराबाट फोटोहरू खिच्दै थिएँ । पछाडिबाट कोमल हातले मेरा आँखा छोपिदिएर एउटा आवाज आयो । ल मलाई चिन त म को हुँ ? आँखा खोलिदिनुस्, म हेरेर भन्छु । मेरो जवाफ र उसका प्रश्नहरू फेरि दोहोरिए ।

उनको कोमल हातहरूलाई हटाउँदै मैले फर्केर हेरें । त्यही स्लिम मोबाइलवाला स्लिम केटी । मैले उनलाई मुस्कुराउँदै एकछिन हेरिरहें । त्यो पलको सम्झना आयो । के छ तिम्रो खवर ? एउटै प्रश्न ओठबाट खसे । उनले धेरै कुरा गर्दै थिई तर म अन्तै सोच्दै थिएँ । म अच्चमित पर्दै थिएँ, यो स्लिम केटी कहाँबाट यहाँ आईपुगी ।

यत्तिकैमा एकजना परिचित बहिनीले जयमसिह भन्दै नजिक आइन्, जसलाई सुनेर पातली अच्चमित परिन् र भनिन्, हाउ स्विट, तिमी पनि विश्वासी हौ ? जीवनमा कहिलेकाहिँ नसोचेको र नचिताएका कुराहरू हुन्छन् । उ पनि ख्रिस्टियन रहिछे, जुन कुरा थाहा पाउँदा एक प्रकारको छुट्टै आत्मियता जागेर आयो । हामी निकैबेर कुरा ग¥यौं । क्याफेमा मोबाइल दिएर छुटेपछि उनले धेरैचोटी मेरो खोजीमा क्याफेमा गएको कुरा सुनाइन् । मलाई एक प्रकारले खुशी लाग्यो । उनले कफीको लागि गरेको आाग्रहलाई मैले नकार्न सकिन । कफी खान पहिलेकै ठाउँमा गयौं । फर्किने बेला उनको स्कुटरमा पछाडि बसें तर राम्रोसँग चलाउन नजान्ने रहेछ । मलाई कता कता अप्ठेरो लाग्यो । अनि उनलाई पछाडि बस्न आग्रह गरेर आफैले स्कुटी चलाएँ । अप्ठेरो मान्दै उनले मेरो काँधमा पछाडिबाट आफ्नो हात राखी र मधुरो स्वरमा उनले मलाई तिमी फोटोग्राफर रैछौ, मेरो पनि फोटो खिच्देउ न ल । उनले अझै थपेर भनिन्, प्लिज है । रिल सकिन्न क्यारे मैले पनि हाँस्दै भनें, रिलको जमाना गइसक्यो नि । अहिले रिल र दिलको दुबै भ्यालु नै छैन यहाँ । फेरि गज्जबको हाँसोमा हासी उही क्याफेमा हाम्रो पहिलो भेटमा मैले स्लिम मोबाइल र स्लिम केटी मन पर्दैन भन्दा हासेकी जसरी । मैले उसलाई भनें, ठिकै छ नि त मेरो भोलि छुट्टी छ । भेट न त, म खिचिदिउला तिम्रो फोटो । मलाई तिम्रो नम्बर देऊ, म तिमीलाई भोलि कल गरौंला । उसले धेरै नै उत्साहित हुँदै आफ्नो नम्बर दिई । मैले उसका नम्बरहरू आफ्नो मोबाइलमा राखें । उसले मेरो मोबाइल हेर्दै हासी । मैले किन हासेको ? भनेर सोधें तर उ आफ्नो हासोको कारण नबताई गई । मैले याद गरें सायद उसलाई पनि त्यही सम्झना आयो होला, स्लिम मोबाइल र स्लिम केटी !

मौसम बिहानदेखि नै अलि फरक भइरहेको थियो, कतै पानी पर्ला जस्तो । यस्तोमा फोटो कस्तो आउला र ! भन्ने एक प्रकारको खिन्नता बोकेर म माइक्रो चढें र रत्नपार्क झरें । म एक जना त्यही अनुहार पर्खिरहेको थिएँ । उनका लवाई आज बिल्कुल फरक थियो । मैले उनलाई यी भेटहरूमा यतिको राम्री कहिले देखेकी थिइन । हामी धरहरामा गयौं र मैले उसका धेरै फोटोहरू खिचिदिएँ । लो एङ्गलबाट धरहराभन्दा उनलाई अग्लो बनाएर खिचिदिएको फोटोले उसको अनुहारमा ल्याएको मुस्कान अझै पनि याद आउँछ ।

स्कुटर पञ्चट भको रैछ । मैले जिस्काउँदै भनें, नयाँ स्कुटर पनि पञ्चड हुन्छ र ? उसले हाँस्दै भनी, मैले चढ्दा पो नयाँ स्कुटी त पुरानो हो नि । सेकेण्ड ह्याण्ड ! यति नि थाहा पाउँदैनौं र ? अब म डोर्याउन थालें उ मलाई जिस्काउँदै थिई । मलाई एक प्रकारको अप्ठेरो लागिरहेको थियो तर त्यो पल खैं कसरी भनौं दिमागबाट हट्दै हट्दैन । किन मानौं, हामी प्रेमी प्रेमिका हौं तर होइन त्यो हाम्रो तेश्रो भेट मात्र थियो । साँझ पर्दै गयो अचानक पानी प¥यो, उ खुशी हुन थालिन्, हाउ स्विट, आइ लभ रेनिङ भन्दै बाटो नै आफ्नो गरेर नाच्न थालिन् । सिमसिमे पानी सँगै हामी भिज्दै थियौं । उसले सोधी, तिमीलाई पानी परेको मन पर्छ ? उसले मेरो सकारात्मक जवाफको लागि यो प्रश्न गर्दै थिई । मलाई कुनै प्रतिक्रिया दिन मन लागेन । उसले फेरि सोधी, ओ हेल्लो ! तिमीलाई किन पानी परेको मन पर्दैन भन्या ? मैले उत्तर दिएँ, नाइ मन पर्दैन, म यो सानो वाक्यांशसँगै मौन भएँ । उसले अझै सोध्दै गई, किन ? मैले उत्तर दिएँ, “म सानो छँदा पानी पर्दा घरको छाना चुहिएर रातभरि पानी थापेर अनिदो बसेको याद आउँछ, त्यसैले …. । जसको घरको छानो पक्की छ, उसलाई पानी परेको मन पर्छ ।” उ भावुक भई । उसले मेरो हात समाउँदै भनी, “विगतमा के भए, त्यो त्यसले आजको वर्तमानलाई चोट पु¥याउन हुन्न । म तिमीलाई एउटा कुरा भन्न चाहन्छु । म पनि धेरै कुराले एक्ली छु । कसैको साथ खोजिरहेको छु । म तिम्रो नजिकको साथी बन्न चाहन्छु । साथी मात्र होइन, जीवनका हरेक पल तिमीसँग हुन चाहन्छु ।”

मैले कुनै जवाफ दिइन तर मनमनै एक प्रकारको खुशी लागिरहेको थियो । उसले छुट्ने बेला मलाई एउटा हात समाउँदै अर्को हातमा आफ्नो मोबाइल थमाउँदै भनी, मलाई थाहा छ, तिमीलाई स्लिम मोबाइल र स्लिम केटी दुबै मन पर्दैन तर यो मोबाइल म तिमीलाई दिन चाहन्छु । र आजबाट सकेछु भने तिम्रो निम्ति मोटाउने प्रयास गर्नेछु । तिमी पनि यो मोबाइल हेर्दै स्लिम मन पराउने प्रयास गर ।

म उबाट छुटिएर घर आएँ । मेरो मनमा एक प्रकारको शितयुद्ध चल्यो । मैले आफूले आफूलाई खुशी भएको हो या दुःखी भएको छुट्याउनै सकिन । मलाई गोरी मन पर्छ, उ काली छे । मलाई मोटी मन पर्छ, उ स्लिम छे । मैले उसले दिएको स्लिम मोबाइल हेरें । एक प्रकारको मुस्कान मेरो ओठमा आयो ।

केहि दिनपछि उसँग भेट्ने मनसाय बनाउन लागें । मैले उसलाई शुक्रबार भेट्नका लागि अफलाइन म्यासेज गरें । सोमबारको क्यालेन्डरलाई हेर्दै मैले शुक्रबारका दिनलाई गन्दै थिएँ । बुधबार बिहान अनायास उसले दिएकी मोबाइल हातबाट खस्यो र स्क्रिन फुट्यो । मलाई कता कता नराम्रो लाग्यो । मोबाइल फुटेको कुरा उसलाई सुनाउँ कि नसुनाउँ । म दोधारमा परें । उसलाई पठाएको अफलाइन म्यासेजको प्रतिक्रिया आयो कि नाइ भन्ने कौतुहलताका साथ मैले आफ्नो फेसबुक खोलें । कुनै प्रतिक्रिया आएको थिएन । एक प्रकारको खिन्नता भयो । मैले फेसबुकको वाल सरर हेर्दै थिएँ । मैले खिचेको उसको फोटोलाई कसैले ट्याग गरेर केही लेखेको थियो । जसलाई देखेर म छाँगाबाट खसे झैं भएँ । मैले केही अनलाइनका केही न्युजहरू पनि देखें । आज बिहानी एउटा टिपरको ठक्करले एउटा स्कुटर चालकको मृत्य भनि लेखिएको उसका ती वालहरू मैले हेर्न सकिन । म एकछिनमै बेहोसिएँ । भन्न खोज्दै थिएँ । मलाई स्लिम मोबाइल र स्लिम केटी अब दुबै मन पर्ने भयो तर ……………

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...