गत पुस १० गते, २०७४ का दिन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा ख्रीष्टमस महोत्सव–२०७४ समारोहको आयोजना गरी ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । महासंघका सह–अध्यक्ष रेभ. शामूएल सोदेम्बाले सुरुको प्रार्थना र सचिव तथा ख्रीष्टमस महोत्सव–२०७४ का संयोजक पा.तेज बहादुर रोक्काले कार्यक्रमको सञ्चालन गर्नुभएको सो समारोहमा अध्यक्ष सी.वी. गहतराजले सभापतित्व गर्नुभएको थियो भने पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रमुख आतिथ्यता ग्रहण गर्दै पानसमा दीप प्रज्वलन गरेर समारोहको समुद्घाटन गर्नुभएको थियो । राष्ट्रिय गान प्रस्तुत गरी समारोहको शुभारम्भ भएको सो कार्यक्रममा विशेष अतिथिहरूमा रक्षामन्त्री भिमसेन दास प्रधान, पूर्व शिक्षा तथा संस्कृति मन्त्री एवं नेकपा एमालेका नेता गंगालाल तुलाधर, पूर्व महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा माओवादी केन्द्रका प्रवक्ता नेतृ पम्फा भुसाल, नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक, वरिष्ठ मानवअधिकारवादी नेता दमननाथ ढुंगाना, विभिन्न धर्मका धार्मिक गुरुहरू, अन्तर धार्मिकका अभियान्ताहरू, मानव अधिकारकर्मीहरू, पत्रकारहरू, महासंघका पदाधिकारीहरू लगायत विभिन्न मण्डली तथा संघसंस्थाबाट व्यापक उपस्थिति रहेको थियो । समारोहमा आमन्त्रित प्रमुख अतिथि लगायत अतिथिहरूलाई महिला विभागको समुहले व्याच तथा फूलगुच्छाले स्वागत गरेको थियो भने महासचिव पा. पदमनाथ पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ख्रीष्टमस महोत्सव–२०७४ समारोहमा ख्रीष्टमस सम्बन्धि स्वागत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो साथै ख्रीष्टमसको आशिषमय प्रवचन तथा सन्देश महासंघका सह–अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीले दिनुभएको थियो । सो समारोहमा पत्रकार प्रकाश विशुन्के र लामो समयदेखि ख्रीष्टियन मिडियामा क्रियाशिल र नेपाली ख्रीष्टियन समुदायको हक अस्तित्व र पहिचानको पक्षमा कलम चलाएवापत मिडिया प्रकाशनकातर्फबाट युवा दर्शन पत्रिकाका दिनेश श्रेष्ठ तथा वचन मिडिया गु्रपका रामहरि थापा (विश्वास) लाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको बाहुलीबाट कदर पत्र वितरण र रक्षामन्त्री भिमसेनदास प्रधानले दोसल्ला ओढाई कदर गर्नुभएको थियो । साथै रक्षा मन्त्री भिमसेनदास प्रधानलाई समेत समारोहमा प्रमुख अथितिबाट सम्मान पत्र हस्तान्तरण गरिएको थियो । समारोहमा महासंघका तर्फबाट उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुले प्रधानमन्त्रीबाट ख्रीष्टमसको शुभअवसरमा पठाउनुभएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । समारोहमा आमन्त्रित प्रमुख अतिथि र विशेष अतिथिहरूले ख्रीष्टमस २०७४ को शुभअवसरमा सम्पूर्ण ख्रीष्टियन समुदायलाई बधाई तथा शुभकामना दिनुभएको थियो । सो समारोहमा बिभिन्न समूहबाट ख्रिष्टमस गीत तथा अन्य प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो । समारोहको अन्तमा कार्यक्रमका सभापति महासंघका अध्यक्ष सी.वी. गहतराजबाट उपस्थित सम्पूर्णलाई धन्यवाद तथा ख्रीष्टमसको अवसरमा शुभकामना दिर्दै समारोहको समापन भएको थियो ।
साथै ख्रीष्टमसको अघिल्लो दिन राजधानीमा महासंघले मोटरसाइकल ¥यालीको आयोजना गरेको थियो भने पुस ८ गतेका दिन महासंघको अन्तरधार्मिक बिभागबाट ख्रिष्टमस शुभकामना आदान प्रदानको आयोजना पनि गरिएको थियो । सो कार्यक्रममा विभिन्न धार्मिक समुदायको प्रतिनिधित्व रहेको थियो । महासंघको महिला बिभागबाट पनि पुस ५ गतेका दिन ख्रिष्टमस शुभकामना आदान प्रदानको कार्यक्रम बेथशालोम पुतलीसडक चर्चमा सम्पन्न गरेको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४