मकवानपुरको भिमफेदी गाउँपालिका –३ निबुअटारस्थित ईक्चुगं मण्डलीले आफ्नो स्थापनाको ५० औं वर्ष पुगेको अवसरमा गत कार्तिक २ गतेका दिन एक भब्य कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाएको छ । सो अवसरमा बिभिन्न पास्टर तथा अगुवाहरूलाई सम्मान पनि गरिएको थियो । ३०० जना विश्वासी रहेको सो मण्डलीको हाल फुर बहादुर तितुङले पास्टरीय सेवकाई गर्दै हुनुहुन्छ । सो कार्यक्रमका प्रमुख अतिथि ऋषिराम आचार्यले मण्डलीको इतिहासका बारेमा बताउनुभएको थियो । विशिष्ट अतिथि एनसिएफ नेपालका नव निर्वाचित केन्द्रीय अध्यक्ष हनोक तामाङले शुभकामना मन्तब्य दिनुभएको थियो । सो सभाका अन्य अतिथि महानुभावहरूले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । क्वाइनोनिया चर्चका सहपास्टर रेभ. प्रकाश सुब्बाले परमेश्वरको वचनद्वारा उत्साहित तुल्याउनुभएको थियो भने उहाँले परमेश्वरको चोखो बेदीमा गीतलाई धुनमा बजाएर मण्डलीप्रति समर्पित गर्नुभएको थियो । सो कार्यक्रममा अन्य अतिथिहरूमा रेभ. बाबु भर्गिस, रेभ. मान बहादुर थिंग, भिमफेदी गाउँपालिकाका प्रतिनिधि हिदम लामा लगायतका हुनुहुन्थ्यो । कार्यक्रम समापन पछि प्रितिभोजको आयोजना गरिएको थियो ।
नेपाली ख्रीष्टियन इतिहास हेर्दा नेपाली मण्डलीमाथि सतावट, खेदो, धडपकड हुँदै यहाँसम्म आइपुगेको पाउँदछौं । राज्य, समाज र शैतानमाथि विजय हुँदै आउँदा बिभिन्न समय कालखण्डमा परमेश्वरले बिभिन्न व्यक्तिहरूलाई आफ्नो महिमाको लागि चलाउनु भयो र चलाई रहनुहुन्छ । यस्तै सकसपूर्ण परिस्थितिलाई पार गरेर आएको मण्डली मध्ये यो ईक्चुगं मण्डली पनि एक हो । वि.सं. २०२१ सालमा स्थापना भएको यो मण्डलीले अनेकौं परिस्थिति पार गर्दै आफ्नो स्थापनाको ५० औं वर्ष पार गरेको छ । ऋषिराम आचार्य धनकुटामा जन्मनु भएतापनि सानैमा रक्सौलमा गएर काम गर्नुभयो । येशुलाई ग्रहण गरेपछि उहाँले बिहारस्थित रक्सौल ख्रीष्टियन चर्चमा मिसनेरी भएर काम गर्नुभयो । डंकन हस्पिटलको मसिही साहित्य केन्द्रमा बसेर प्रचार गर्ने, ट्रयाक्स बाँड्ने गर्नुहुन्थ्यो, त्यस्तै समयमा सोहि मण्डलीका पास्टर तितुगं विरामी लिएर त्यहाँ पुग्नुभयो । त्यहि समयमा ऋषिराम आचार्यले सुसमाचार सुनाउनुभयो र ग्रहण गरेपश्चात पानीको बप्तिस्मा पनि लिनुभयो । हाल ऋषिराम हेटौंडा सोलिड्यारिटी इन्टरनेशन एकेडेमी स्कुलको संस्थापक अध्यक्ष हुनुहुन्छ । स्मरण रहोस् सो स्कुल मोफसलकै एक अब्बल दर्जाको स्कूलमा गनिन्छ ।
पास्टर फुर बहादुर तितुगं, कुमार सिंह स्यागंतन, गज बहादुर स्यागंतन, सञ्च बहादुर सिंतान, धन बहादुर थिंग, रण बहादुर थिंग, पञ्च बहादुर सिंगतान र कृष्ण माया ख्रीष्टियन भएकै कारणले जेल परेको इतिहास यस मण्डलीसँग छ । उहाँहरू ६ महिनादेखि एक वर्षसम्म जेलमा रहेर नून र ज्योतिको कार्य गरिरहनुभयो । एउटै मण्डलीको आठ जना लामो समयसम्म जेल परेको नेपाली ख्रीष्टियन इतिहासकै यो पहिलो होला ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४