– अरूणा छन्त्याल
खोलासरी जिन्दगी,बग्दाबग्दै प्रवाहमा,
पत्थरमा बज्रिदै, ढुंगा-मुढासित ठोक्किदै,
अन्तमा त्यो विशाल, शान्त समुद्र बनी रहिदिने प्रण गरें मैंले |
क्याक्टससरि जिन्दगी, प्रचण्ड मरुभूमिमा,
प्यासले आकुल-व्याकुल हुँदै, माइरेजमा झुक्क्किदै,
सुन्दर सिउँडी फूल बनी फूलिदिने प्रण गरें मैले |
परमेश्वर, छन् मेरो साथमा,
मेरो विरुद्धमा को खडा होला र ?
निडर साहसी बनी डर त्यागिदिने प्रण गरें मैले |
जसले मलाई दिनुहुन्छ शक्ति,
म जे पनि गर्न सक्छु उहाँमा,
‘सक्दिनँ’ भन्ने कायरता अब तोडिदिने प्रण गरें मैले |
उहाँको वचन, मेरा गोडाको निम्ति बत्ती, मेरो बाटोको निम्ति उज्यालो,
उहाँकै औंला समाती, ताती गर्दै,
दौडमा एकदिन विजयी बन्ने प्रण गरें मैले |
हिमालजस्तो जिन्दगी, चुलिदा-चुलिदै उचाइमा,
हिउँमा क्याम्प्रोंसको डोब राख्दै, बरफलाई फोड्दै,
खुड्किला उक्ली, त्यो शिखर चुम्ने प्रण गरें मैले |
शिखर चुम्ने प्रण गरें मैंले |